प्रशान्त महासागरमा सानो जहाज डुब्यो पचासीमध्ये सातको उद्धार



वेलिङ्टन, (एजेन्सी)
प्रशान्त महासागरको एक विकट क्षेत्रमा करिब ८० व्यक्ति सवार एउटा सानो जहाज डुबेको बुधबार किरिवाटीका एक वरिष्ठ विधायकले बताएका छन्। उनले सरकारसमक्ष यस दुर्घटनाको निष्पक्ष र स्वतन्त्र छानविनका लागि आह्वान गरेका छन्।

एउटा बहुराष्ट्रिय उद्धार टोली जीवित व्यक्तिको खोजीकार्यमा जुटेको छ। तर अहिलेसम्म ७ जना यात्रुको मात्र जीवित उद्धार हुन सकेको बताइएको छ। साथै उद्धारकर्ताहरूले अब बाँकी यात्रु जीवित फेला पर्ने आशा सेलाउँदै गएको स्थानीय सञ्चारमाध्यमलाई जानकारी गराएका छन्।

प्रारम्भिक अनुमानअनुसार एमभी बुटिरावोइ नामक सो जहाजमा ३५ देखि १ सय जनासम्म मानिस सवार रहेको फरक फरक जानकारी प्राप्त भएको सरकारी अधिकारीहरूले बताएका छन्।

तर पछिल्लो समय किरिवाटी सरकारी सूत्रले औपचारिकरूपमै त्यसमा करिब ८० यात्रु र ५ चालक दलका सदस्य रहेको पुष्टि गरेको उद्धार समन्वय केन्द्र एनजेडले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ। एनजेडले न्युजिल्यान्ड, अस्ट्रेलिया र संयुक्त राज्य अमेरिकाका चारवटा विमानले जहाज बेपत्ता भएको स्थानमा अझै खोजीकार्य जारी राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्