बलेवा बिमानस्थल संचालनका लागि पूर्वाधार तयार हुँदै



दुर्गाप्रसाद शर्मा, पर्वत । पर्वतको कुश्माबजार सँगै जोडिएको बलेवा विमानस्थल सञ्चालनका लागि पूर्वाधार तयार गर्न थालिएको छ ।

विगत साढे दुई दशकदेखि बन्द रहेको उक्त विमानस्थलमा आगामि चैतबाट उडान भर्न नागरिक उड्डयन प्राधिरण तयार भएसँगै आवश्यक पूर्वाधार तयार गर्न थालिएको हो । नागरिक उड्डयन प्राधिकरण र विभिन्न विमान कम्पनी र बागलुङ नगरपालिका बीच गत साता बिमानस्थल संचालनमा ल्याउने सहमति भएको थियो ।

गौरचरणमा परिणत भएको बिमानस्थल संचालनका लागि उक्त सहमति सँगै बिहीवार भएको प्राविधिकहरुको अबलोकनपछि पूर्वाधार निर्माणको काम तत्काल शुरु हुने भएको छ । अब बिमानस्थलमा रन वे मर्मत, पुरानो टावरको चेकजाँच तथा मर्मत र बिमानस्थल वरपरका अग्ला संरचना हटाउने र रुखहरु तत्काल हटाउने कार्य केहि दिनमै शुरु हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख इन्द्रराज शर्माले शुरुमा पूर्वाधार तयार हुनुपर्ने बताए । बिमानस्थलमा सरोकारवालाहरु बीचको छलफलमा शर्माले दैनिक पोखरा, काठमाण्डौ जाने यात्रुको संख्या पुगेपछि बिमान संचालन गर्न समस्या नरहेको बताउँदै पूर्वाधार निर्माणका लागि प्राविधिकहरुको सल्लाहा अनुसार अघि बढने प्रतिवद्धता जनाए ।

उनले जिल्लाका सवै संयन्त्रवाट बिमानस्थल संचालनका लागि आवश्यक सहयोग गर्नुपर्ने बताए । उनले बिमानस्थल सुरक्षा समिति बनाउन आग्रह गरे । उनले अब फर्के लगत्तै बजेट इष्टिमेट गरेर मन्त्रालयसँग माग गर्ने समेत बताए ।

पूर्वाधार निर्माणको काम अब तत्काल शुरु गर्न हामी पहल गर्छौ शर्माले भने । उनले प्रमुख जिल्ला अधिकारी, नगरपालिका, स्थानिय राजनीतिक दल र सांसदहरुलाई पनि आवश्यक सहयोग गर्न आग्रह गरे ।

एक साता अघि वायुसेवा निगम र तारा एयरले हप्ताको एक पटक नियमित उडान भर्ने प्रतिवद्धता जनाएका थिए । यता बागलुङ नगरपालिकाले यात्रुहरुको ग्यारेण्टी र विमानस्थल नियमित संचालनका लागि जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको जनाएको छ । नगरपालिकाका प्रमुख जनक पौडेलले दैनिक उड्ने जहाजमा अपुग यात्रुको भाडा नगरपालिकाले भुक्तानी गर्ने बताए ।

वि.स.२०४८सालमा पोखरा –बाग्लुङ सडकमा सवारी साधन गुड्न थालेपछि उक्त विमानस्थल बन्द रहेको थियो । सो स्थानमा पुग्ने बाटो कच्ची भएको कारण बीचमा परिक्षण उडान भए पनि विमानस्थल नियमित संचालनमा आउन सकेको थिएन ।

करिब तीन वर्ष अघि विमानस्थल संचालन ल्याउने तयारीका साथ तत्कालिन शिक्षामन्त्री तथा माओवादी नेता दिननाथ शर्माको पहलमा नेपाल एयरलाईन्सको ट्वीनेटर जहाजले टेस्टिङ् उडान गरेको थियो ।

अहिले मालढुंगादेखि—नारायणस्थान हुँदै सरंगीसम्मको कालीगण्डकी करिडोरको सडक नेपाली सेनाले करिब पाँच करोडको लागतमा स्तरोन्नती गरिसकेको र कुश्मादेखि बागलुङ जान एउटा झोलुङ्गे पुल र एकवटा यान्त्रिक पुल समेत संचालनमा आएकाले यात्रुका लागि बिमानस्थल सम्म पुग्न समस्या नरहेको नगरपालिकाका प्रमुख पौडेलले जानकारी दिए ।

विमानस्थल संचालन गर्न धौलागिरीबासीले पटक पटक यस अघि पनि माग गर्दै आएको थिए । सो विमानस्थलमा हवाई उडान भए धौलागिरीका पर्वत, बागलुङ र म्याग्दीका जनतालाई ठूलो सहयोग पुग्ने पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले बताए । उनले साताको एक दिन भनेपनि नियमति हुन थालेपछि दैनिकजसोनै यात्रुको संख्या पुग्ने दावी गरे ।

मालढुंगाबाट बिमानस्थल हुँदै जाने सडकको लागि आवश्यक बजेट विनियोजन भई काम अघि बढेकोले कालो पत्रे गर्ने तयारी समेत भैरहेको छ । यो विमानस्थल बाग्लुङका नारायणस्थान,पैयुँपाटा, अमलाचौर, कुश्मिशेरा, भकुण्डे, रायडाँडा लगायत करिव १४ गाविसका जनताले श्रमदानमा २०१८ सालमा निर्माण भएको हो ।

बिमानस्थल संचालन गरेर नियमित उडान भरेमा बैदेशिक रोजगारबाट आउने व्यक्ति, व्यापारी, सरकारी तथा गैर सरकारी क्षेत्रका कर्मचारी लगायत पर्यटक भित्राउन समेत सकिने हुने स्थानीय बताउँछन् ।

बिमान स्थल बन्द हुनु पूर्व बलेवाबाट टुइनटर बिमानले काठमाण्डौ, पोखरा र भैरहवा उडान भर्ने गरेको थियो । बिमानस्थल अहिले गौचरनमा परिणत भएको छ । सो बिमानस्थलबाट घाँस बेचेर प्राप्त आम्दानी स्थानीय क्याम्पस संचालनको लागि प्रयोग हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्