वडा कार्यालयको अगुवाईमा तरुलको ब्यबसायिक खेती



पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ मा कृषकलाई कन्दमुलका विऊ बितरण गरिँदै ।

नेपाल समाचारपत्र, पर्वत । पर्वतको कुस्मा नगरपालिकामा पहिलो पटक तरुलको ब्यबसायिक खेती शुरु गरिएको छ ।

सुख्खा र भिरालो जमिन भएको वडा नं ७ लाई तरुल खेतीको पकेट क्षेत्रको रुपमा बिकास गराउन एक सय भन्दा बढी कृषकहरुले तरुल खेती शुरु गरेका हुन ।

स्थानिय निर्वाचनमा उमेदवार बन्दा धेरैले आफ्ना योजनाहरु मतदाता संग लगे । यसरी योजनाहरु लैजाने मध्ये कुस्मा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुबासचन्द्र पौडेलले बाचा अनुसार वडामा ब्यबसायिक रुपमा तरुल खेती शुरु गराएका छन ।

बजारमा तरुल, भ्याकुर, गिठा, बनतरुल जस्ता तरकारीहरुको माग धेरै देखिएकाले उनले चुनाबी घोषणापत्रमा तरुल खेतीको पकेट क्षेत्रको रुपमा बिकास गर्ने बाचा गरेका थिए । स्थानिय डल्लीराम शर्माले थोरै लागतमा तरुलबाट धेरै आम्दानी गरेको देखेपछि त्यसलाई बिस्तार गर्ने सोच पहिले देखि नै आएको पौडेलले बताए ।

चालु आर्थिक वर्षमा वडाको एक लाख रुपैया बिनीयोजन गरि कन्दमुल खेती विस्तारमा लागिएको वडा अध्यक्ष पौडेलले बताए । कन्दमुल खेती गर्न इच्छुक किशानहरुलाई संगठित गरी यस वर्ष ६ क्वीन्टल कन्दमुलको बिऊ बितवरण समेत गरिएको छ । प्रति कृषक ५ देखि १० किलोको दरले ८० जनाभन्दा बढि कृषकलाई तरुल, बनतरुल, भ्याकुर, गिठा जस्ता कन्दमुलको बिऊ वितरण गरिएको पौडेलले जानकारी दिए ।

धादिङ, काभ्रे, सिन्धुपाल्चोक जस्ता जिल्लामा कृषकहरुलाई भ्रमण लगिएको र त्यहाँ यस्ता बस्तुहरुबाट गरिएको आम्दानी देखेर यहाँका कृषकहरु प्रभावित भएपछि यो खेती थालिएको हो । सदरमुकाम कुश्माबजार सँगै जोडिएको वडा नं. ७ मा प्रसस्त पाखो बारी र खाली जमिन रहेको र त्यसलाई उपयोग गरी प्रसस्त आम्दानी गर्न सकिने देखिएपछि यो खेतीमा कृषकहरु आकर्षित बनेका छन् ।

विभिन्न जातका तरुल, भ्याकुर र बनतरुल गरी कृषकहरुलाई खेती गर्नका लागि वितरण गरिएको छ । यसको व्यावसायीक उत्पादनबाट एउटा कृषकले न्यूतम एक लाख रुपैयादेखि ४ लाख रु रुपैया सम्म आम्दानी गर्न सक्ने कुश्मा नगरपालिकाका कृषि अधिकृत सोनी रानाले जानकारी दिइन ।

उनले अहिले निकै महङ्गोमा बिऊका लागि मात्रै यो कन्दमुल ल्याईएको र यसको खेतीवाट घरायसी प्रयोजनका लागि पनि हुने र बिक्रि गरेर मनग्गे आम्दानी समेत लिन सकिने भएकाले यसलाई व्यावसायीक रुपमा अपनाउन आग्रह गरिन । रानाले गहिरो खाल्डो खनेर प्रसस्त मल राखेर एकपटक लगाएमा पटक पटक रेखदेख गर्नु नपर्ने भएकाले तरुल सजिलो खेती भएको बताइन ।

नजिकै रहेको कुश्माबजार, छिमेकी जिल्ला बागलुङ र बेनीमा समेत वर्षेनी करोडौ मुल्यको तरुल, गिठ्ठा जस्ता तरकारीहरु अन्यत्रबाट आयात हुँदै आएको बेला यहाँ उत्पादन हुने यी तरकारीलाई बजारको समस्या नुहुने कन्दमुल खेती समुहका अध्यक्ष बालकृष्ण शर्माले जानकारी दिए ।

उनले अहिले रोपिएको १० किलोबाट एउटा कृषकले पहिलो वर्षमै एक लाख भन्दा बढि आम्दानी गर्न सक्ने बताउनुभयो । कन्दमुल खेती नेपालमै पहिलोपटक व्यावसायिक रुपमा शुरु गरिएको हुनाले पनि कृषकहरुले निर्धक्क भएर अन्य वालीनाली जस्तै स्याहारसुसार गरेर आम्दानी गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्