लक्स कामना फिल्म अवार्डस् २०७४, शर्मा दम्पती र श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड



रश्मी थापा, काठमाडौं

याँदेखि पुरानो पुस्ताका कलाकार तथा गायकगायिकाको मनोरञ्जनात्मक प्रस्तुतिका साथ मंगलबार राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा भव्यताका साथ सम्पन्न तेस्रो संस्करणको कामना फिल्म अवार्डस् २०७४ मा कलातर्पm अभिनेता तथा रंगकर्मी दम्पती हरिहर शर्मा र शकुन्तला शर्मा तथा प्रविधितर्फ छायांकार तथा निर्देशक मञ्जुकुमार श्रेष्ठ कीर्तिमय दीर्घ योगदान (लाइफ टाइम एचिभमेन्ट) सम्मानबाट सम्मानित भएका छन्।

सिजी इन्टरटेनमेन्टको सहकार्यमा कामना न्यूज पब्लिकेसन्सद्वारा चमकदमकका साथ आयोजित समारोहमा शर्मा दम्पती र श्रेष्ठलाई प्रधान सेनापति राजेन्द्र क्षत्री, पब्लिकेसन्स्का प्रधान सम्पादक पुष्करलाल श्रेष्ठ र सिजी इन्टरटेनमेन्टका अध्यक्ष वसन्त चौधरीले सम्मान अर्पण गर्नुभएको थियो। उहाँहरूलाई नगद १ लाख रुपियाँका साथ सम्मान अर्पण गरिँदा भरिभराउ सभाभवनका कलाकर्मी तथा दर्शकले उठेर सम्मान प्रकट गरेका थिए।


शर्मा दम्पतीलाई सो सम्मान संयुक्तरूपमा प्रदान गरिएको हो। अवार्डमा सर्वाधिक १७ विधाको मनोनयनमा परेको चलचित्र छक्का पञ्जाले सर्वोत्कृष्ट चलचित्रसँगै नवनिर्देशक, खलपात्र, गायक, हास्य कलाकार, सहअभिनेता, संवाद र नृत्य निर्देशक गरी सर्वाधिक ७ विधाको अवार्ड चुमेको थियो। छक्का पञ्जाबाट दीपाश्री निरौलाले नवनिर्देशक, दीपकराज गिरीले खलपात्र, केदार घिमिरेले हास्य कलाकार, जितु नेपालले सहअभिनेता, कविराज गहतराजले नृत्य निर्देशक तथा दीपकराज गिरी, जितु नेपाल र केदार घिमिरेले संवाद विधाको अवार्डलाई आफ्नो बनाएको कामना अवार्डमा कविराज गहतराले ह्याट्रिक गरे।
सञ्चाकर्मी नरेश भट्टराई, मिस नेपाल २००५ सुगरिका केसी, हास्य कलाकार जितु नेपाल र अभिनेता सुनील थापाले रोमाञ्चकरूपमा सञ्चालन गरेको समारोहमा ९ विधाको मनोनयनमा परेको चलचित्र डाइङ क्यान्डलले जुरी अवार्डका साथ सर्वोत्कृष्ट अभिनेत्री, छायांकार, बाल कलाकार र शृंगार दोस्रो सर्वाधिक ५ विधाको अवार्डलाई आफ्नो बनाएको छ। अभिनेताको अवार्ड जात्राबाट विपीन कार्कीले चुमे भने अभिनेत्रीको अवार्डलाई डाइङ क्यान्डलबाट सिर्जना सुब्बाले आफ्नो बनाइन्।

त्यसै गरी १४ विधाको मनोनयनमा परेका गाजलुले सर्वोत्कृष्ट निर्देशक, नवअभिनेत्री, कथा र निर्माण नियन्त्रक गरी ४ विधाको अवार्ड चुमेको छ। यो चलचित्रबाट हेमराज बिसीले सर्वोत्कृष्ट निर्देशकको अवार्ड उचाले भने मिस नेपाल सृष्टि श्रेष्ठ नवअभिनेत्री विधाको अवार्ड विजेता बन्न पुगिन्।

स्वरसम्राट् नारायण गोपालप्रति श्रद्धासुमनस्वरूप उनकै पथ पछ्याएर लोकप्रियता कमाएका गायक रामकृष्ण ढकालले स्वरसम्राट्कै भेषमा उनका कालजयी फिल्मी गीतहरू गाएर सरप्राइजरूपमा आरम्भ गरेको समारोहमा १० विधाको मनोनयनमा परेको चलचित्र के म तिम्रो होइन र सर्वोत्कृष्ट नवनायक, द्वन्द्व र पाश्र्व संगीत गरी ३ विधाको अवार्ड जित्न सफल भयो। यो चलचित्रबाट आर्यन अधिकारी नवअभिनेता भए भने यसै चलचित्रबाट द्वन्द्व निर्देशनमा हिमाल केसीले ह्याट्रिक गर्न सफल भए र एलिस कार्कीले पहिलोपटक कामना अवार्ड जित्न सफल भए। एलिस लगातार तेस्रोपटक यो अवार्डको मनोनयनमा परेका थिए।

एसएमएसका आधारमा विजेता घोषणा गरिने लक्स पपुलर च्वाइस अवार्ड भने नायिका केकी अधिकारीले चुमिन्। यो विधामा उनीसँगै वर्षा राउत, प्रियंका कार्की, ऋचा शर्मा र सृष्टि श्रेष्ठ प्रतिस्पर्धामा थिए। त्यसै गरी संगीततर्पm गायिका इन्दिरा जोशी, फेसनतर्पm रचना गुरुङ शर्मा र रंगकर्मतर्पm राज शाहले सिजी क्रिटिक्स अवार्ड चुमे।

सम्मानको शृंखलाबाट शुरू भएको समारोह मनोरञ्जनका हिसाबले सरप्राइज बन्न पुगेको थियो। नयाँ पुस्तका गायकगायकासँगै पालैपालो मदनकृष्ण श्रेष्ठ, प्रेमध्वज प्रधान, तारा थापा, शम्भुजित बास्कोटा, आनन्द कार्कीजस्ता गायकगायिकाहरू गायन प्रस्तुतिका साथ प्रस्तुत हुँदा सभा भवनमा आश्चर्य र रोमाञ्चकता छरिएको थियो। त्यसै गरी प्रियंका कार्की, दीपाश्री निरौला, राजाराम पौडेल, केकी अधिकारी, पल शाह, आँचल शर्माजस्ता कलाकारहरू विभिन्न नृत्यका साथ प्रस्तुत हुँदासमेत उस्तै रोमाञ्कता छरिन पुग्यो।

प्रतिक्रिया दिनुहोस्