थ्रीस्टार आहा राराको सेमिफाइनलमा



धन बस्नेत, पोखरा

आहा राराको १६औं संस्करणमा अर्को विभागीय टोली नेपाल एपीएफ क्लब पेनाल्टी सुटआउटमा पराजित हुँदै त्रिभुवन आर्मीकै नियति दोहोरिदाँ रुस्लान थ्रीस्टारले उपाधिको दावेदारीमा प्रस्तुत गरेको छ। निर्धारित र थपिएको समयमा समेत गोलरहित टुंगिएपछि निर्णायक बनेको पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित हुँदै बाहिरिने सशस्त्र दोस्रो विभागीय टोली बन्यो। धरान फुटबल क्लबसँग पेनाल्टी सुटमै पराजित हुँदै आर्मी अघिल्लो दिन बाहिरिएको थियो।

अफ्रिकन खेलाडीबिना पोखराको मैदानमा सोमबार उत्रिएको थ्रीस्टारले सशस्त्रको चुनौतीलाई १ सय १० मिनेटसम्म रोक्यो। पाएका अवसरलाई सदुपयोग नहँुदा निर्णयको सम्भावना पेनाल्टीमा पुग्ने बढ्दै गएको थियो। राजेन्द्र रावलको पेनाल्टी किकलाई थ्रीस्टारका गोलकिपरले बचाउ गरेपछि सशस्त्रको अन्तिम चारमा पुग्ने आशा समाप्त भइदियो। पेनाल्टी रोकेका थ्रीस्टार गोलकिपर एलन न्यौपाने म्यान अफ दि म्याचको हकदारसमेत बने। अन्जन विष्ट, रन्जन विष्ट र नविन लामाको पेनाल्टी गोल हुन पुग्यो। थ्रीस्टारका लागि रन्जित धिमाल, निराजन खड्का, सुनिल बल, विक्रम लामा र विजय धिमालले गोल गरे।

८६औं मिनेटमा बुद्ध चेम्जोङको प्रहार एपीएफको खेलाडीबाट रिफ्लेक्ट भएको अवसरलाई जीवन गुरुङले हानेको बल कर्भ हुँदै फस्टबारको बाहिरी भागमा लाग्दै बाहिरियो। १ सय ४ मिनेटपछि सशस्त्रको उस्तै अवसर खेर गयो। अन्जन विष्टको हेडबल थ्रीस्टार गोलकिपरसमेत विट भइसकेको अवस्थामा रन्जित धिमालले गोललाइनबाटै हेड गर्दै बचाए।

भरतलाई सम्मान
प्रतियोगिताबाट बाहिरिसकेको त्रिभुवन आर्मीका स्ट्राइकर भरत खवासलाई उत्कृष्ट वर्ष खेलाडी २०७३ बाट सम्मानित गरिएको छ। पश्चिमाञ्चल फुटबल संघका अध्यक्ष खेमबहादुर गुरुङले प्रायोजन गरेको उत्कृष्ट राष्ट्रिय खेलाडीबाट पहिलो संस्करणको पुरस्कार भरत खवासलाई प्रदान गरिएको हो। उनलाई दोसल्ला, सम्मानपत्र तथा नगद ३५ हजारबाट सम्मानित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्