भेनेजुयलामाथि कडा प्रतिबन्धको आह्वान स्पेनी राजदूत निष्कासित



पेरिस, (एजेन्सी)
फ्रान्सका राष्ट्रपति इमान्युयल म्याक्रोनले शनिबार भेनेजुयलालाई प्रजातन्त्र र मानवअधिकारको उल्लंघन गर्दै त्यसमाथि कडा प्रतिबन्ध लगाउन आह्वान गरेका छन्। उनले लामो समयदेखि भेनेजुयलामा प्रजातन्त्रको अस्तित्व नरहेको प्रतिक्रिया जनाएका छन्।

भेनेजुयलाको राजधानी काराकासस्थित सर्वोच्च अदालतले आगामी अप्रिलमा हुने राष्ट्रपतीय चुनावमा मुख्य विपक्षी पार्टीलाई प्रतिबन्ध लगाउने घोषणा गरेपछि म्याक्रोनले त्यहाँ प्रजातन्त्रको पुनस्र्थापनाका लागि आह्वान गर्दै यसरी कडा प्रतिक्रिया जनाएका हुन्।

यसैबीच भेनेजुयलाले आफ्नो आन्तरिक मामिलामा अनावश्यक दखल दिएको आरोप लगाउँदै काराकासका लागि स्पेनी राजदूत जिसस सिल्भा फर्नान्डेजलाई निष्कासन गरेको छ। स्पेनले ती आरोपहरू अस्वीकार गर्दै यसको सही जवाफ फर्काउने चेतावनी दिएको छ। युरोपेली संघ (ईयू)ले सात जना वरिष्ठ भेनेजुयलियन अधिकारीको सम्पत्ति रोक्का गर्दै तिनीहरूको भ्रमणमा प्रतिबन्ध लगाएपछि भेनेजुयलाले यो कारबाहीको घोषणा गरेको हो।

राष्ट्रपति निकोलस मादुरोले स्पेनले ईयूलाई कारबाही गर्न दबाब दिएको तथा आफूलाई अपदस्थ गर्ने षड्यन्त्र रचेको बताएका छन्। ईयूले गत वर्ष सरकारविरुद्धको विरोध प्रदर्शन दबाउन भेनेजुयलाले मानव अधिकार उल्लंघन गर्दै हिंसात्मक दमन गरेको आरोप लगाएको छ। सो प्रदर्शनको दौरान १ सय २० व्यक्तिको ज्यान गएको थियो।

यसैबीच मंगलबार भेनेजुयलाको संविधानसभाले पूर्वनिर्धारित समयअगावै राष्ट्रपतीय चुनावको घोषणा गर्न लागेको जनाएको थियो। रम्परागतरूपमा डिसेम्बरमा हुँदै आएको सो चुनाव आगामी अप्रिलको उत्तरार्धमा हुन लागेको बताइएको छ। भेनेजुयलाका विदेशमन्त्री जोर्गे एर्रिजाले ईयूको कारबाहीको जवाफमा राजदूतमाथि कारबाही गरिएको जानकारी दिएका छन्। फेरि अर्को छ वर्षीय कार्यकालका लागि चुनावमा उठ्न लागेका मादुरोले अब साम्राज्यवादीहरूको धम्की समाप्त पार्ने समय आइसकेको बताएका छन्।

विश्वकै सबैभन्दा मुद्रा अवमूल्यन हुने राष्ट्रका रूपमा चिनिने भेनेजुयलामा औषधिलगायत अन्य आधारभूत वस्तुहरूको वर्षौंदेखि अभाव हुँदै आएको छ। मादुरोले अन्तर्राष्ट्रिय आर्थिक संकटका लागि स्पेन र अमेरिका जिम्मेवार रहेको आरोप लगाएका छन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वा स्पेनका प्रधानमन्त्री मारियानो राजेयले भेनेजुयलाको आन्तरिक मामिलामा निर्णय दिन नसक्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्