आत्मघाती एम्बुलेन्स बम विस्फोट ९५ को मृत्यु



काबुल, (एजेन्सी)
अफगानिस्तानको राजधानी काबुलको मध्यभागमा स्थानीय समयअनुसार शनिबार अपराह्न करिब १२ बजेर १५ मिनेट जाँदा भएको एक शक्तिशाली आत्मघाती बम विस्फोटको कारण कम्तीमा ९५ जनाको ज्यान जानुका साथै अन्य १ सय ५८ जना घाइते भएको सरकारी अधिकारीहरूले बताएका छन्।

आक्रमणकारीहरूले विस्फोटक पदार्थले टन्न भरिएको एउटो एम्बुलेन्स सर्वसाधारणको बढी चहलपहल हुने काबुलको व्यस्त सडकनजिकको एउटा प्रहरी चौकीसामु विस्फोट गराएको सुरक्षा सूत्रले जनाएको छ। गृहमन्त्रालयको पुरानो भवन, युरोपेली संघ र उच्च शान्ति परिषद्को कार्यालयनजिक यो आक्रमण गरिएको बताइएको छ।

लडाकू समूह तालिवानले यस आक्रमणको औपचारिक रूपमा जिम्मेवारी लिएको छ। एक साताअघि मात्र काबुलमै रहेको एक भव्य होटलमा तालिवान लडाकूहरूले नै गरेको आक्रमणमा २२ जनाको ज्यान गएको थियो। प्रत्यक्षदर्शीले सो विस्फोट हुँदा प्रहरी प्रधान कार्यालय र विदेशी दूतावासहरू रहेको सो क्षेत्रमा थुप्रै मानिस रहेको बताएका छन्।अस्पताल सूत्रले धेरैजस्तो घाइतेको स्थिति चिन्ताजनक रहेकाले मृतकको संख्या बढ्न सक्ने जनाएको छ। कट्टरपन्थी इस्लामिक मुभमेन्टको नेतृत्व गर्ने तालिवानले अफगानिस्तान र छिमेकी मुलुक पाकिस्तानको ठूलो भू–भागमा नियन्त्रण जमाएको छ।

विगत एक वर्षदेखि काबुललाई लक्षित गर्दै लडाकू समूह इस्लामिक स्टेट (आईएस) र तालिवानले शृंखलाबद्ध बम आक्रमण गर्दै आएका छन्।
अमेरिकामा सन् २००१ को ११ सेप्टेम्बरमा ओसामा विन लादेनको नेतृत्वमा रहेको लडाकू समूह अलकायदाले आतंककारी हमला गरेपछि तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसले प्रारम्भ गरेको आतंकवादविरुद्धको विश्वव्यापी अभियानको दौरान अमेरिकाले अफगानिस्तानमा सैनिक कारबाही अघि बढाएको थियो।

प्रतिक्रिया दिनुहोस्