काबुल ‘एम्बुलेन्स बम’ हमलामा मर्नेको संख्या ९५ पुग्यो, १५८ घाइते



अफगानिस्तान । राजधानी काबुलमा शनिबार भएको भीषण एम्बुलेन्स बम विस्फोटमा ९५ को मृत्यु भएको छ । घटनामा १ सय ५८ घाइते भएका छन् ।

काबुलको मध्य भागमा अत्यधिक भीड भएको स्थान लक्ष्यित गरी विस्फोटक पदार्थ बोकेको एम्बुलेन्स विस्फोट गराइँदा ९५ जनाको मृत्यु भएको हो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने प्रहरीको अनुमान छ ।

विद्रोही र इस्लामिक स्टेट (आइएस) लडाकू समूहले बेलाबेलामा आक्रमण गरिरहने भएकाले काबुलका आमनागरिकका लागि अत्यन्त प्राणघातक भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिद माजरोहले एएफपीलाई जनाए अनुसार, मृत्यु हुनेहरुको संख्या ९५ पुगेको छ, १५८ घाइते छन् । यसअघि गृह मन्त्रालयले ६३ जनाको मृत्यु भएको पुष्टि गरेको थियो ।

काबुलको मध्य भागमा पर्ने सिदारात स्क्वायरमा स्थानीय समयानुसार दिउँसो करिब १२ः५० मा घटना भएको अधिकारीहरुले बताएका छन् । विस्फोट भएको क्षेत्रमा गृह मन्त्रालयको पुरानो कार्यालय, युरोपेली संघलगायतका विभिन्न उच्च महत्वका संघसंस्था र कार्यालय छन् । एम्बुलेन्स आक्रमणको तालिवान लडाकू समूहले जिम्मेवारी लिएको छ । काबुलमै रहेको एक होटलमा आइतबार तालिवान लडाकूले आक्रमण गर्दा ४० को मृत्यु भएको थियो । तस्बिरः बिबिसी

प्रतिक्रिया दिनुहोस्