संग्रहालयद्वारा ह्वाइट हाउसलाई भान गगको पेन्टिङ दिन अस्वीकार



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई न्युयोर्क गुगेनहाइम म्युजियमले भान गगको पेन्टिङ दिन अस्वीकार गरेको छ।

ट्रम्पले म्युजियमसँग ह्वाइट हाउसमा राख्नका लागि भान गगको पेन्टिङ ‘ल्यान्डस्केप विद स्नो’को माग गरेका थिए। तर म्युजियमले पेन्टिङ दिन अस्वीकार गरेर त्यसको बदलामा सुनको कमोथ दिने प्रस्ताव गरेको हो।

म्युजियमले ह्वाइट हाउसलाई भान गगको पेन्टिङ दिन नसकेकोमा माफी मागेको छ। तर गुगेनहाइम म्युजियमले यसको बदलामा १८ क्यारेट सुनले बनेको ठोस ट्वाइलेट दिने विकल्प दिएको वासिङ्टन पोस्टले जनाएको छ। ह्वाइट हाउसले अहिलेसम्म संग्रहालयको प्रस्तावलाई लिएर कुनै टिप्पणी गरेको छैन।

संग्रहालयका अध्यक्ष नेन्सी स्पेकटरले गत सेप्टेम्बरमा ह्वाइट हाउसका तर्फबाट आएको अनुरोधमा उक्त जवाफ दिएको वासिङ्टन पोस्टले जनाएको छ।

उनले मेलमा लेखेकी थिइन्– ‘मलाई यो सूचित गर्नुपरेकामा दुःख लागेको छ कि म्युजियमको थन्नहजर कलेक्सनको हिस्सा हो र हामी यसलाई उधारोमा दिन सक्दैनौं। विशेष अवसरमा बाहेक पेन्टिङबाहिर पठाउने गरेको छैन।’

उनले इमेलमा सन् १८८८ मा बनाइएको भान गगको पेन्टिङ सहयोगी संस्थामा मालिकको अनुमतिमा मात्र प्रदर्शन गरिने उल्लेख गरेकी थिइन्।

संग्रहालयकी अध्यक्षले इटलीका कलाकार मोरिट्जियो क्याटालानले बनाएको सुनका ट्वाइलेट ह्वाइट हाउसलाई लामो समयका लागि दिन सकिने जानकारी दिएकी थिइन्– ‘यो अत्यन्त मूल्यवान् र नाजुक छ। तर हामी यसलाई राख्न र यसको रेखदेखका लागि सबै जानकारी दिन सक्छौं।’

उक्त स्वर्ण ट्वाइलेटको नाम अमेरिका राखिएको छ। अमेरिकामा यसलाई धनाढ्यले प्रयोग गर्नेहरूका लागि एक व्यंग्यका रूपमा लिने गरिएको छ।

अमेरिकामा राष्ट्रपति र उनकी पत्नीले ह्वाइट हाउसमा विभिन्न कोठा सजाउनका लागि प्रमुख कलाकृति मगाउनु सामान्य हो।

प्रतिक्रिया दिनुहोस्