कामना फिल्म अवार्डस्–२०७४, के भन्छन् मनोनयमा परेका कलाकार?



विधाः सहअभिनेता


छोरा नै कम्पिटिटर छ
टीका पहारी
फिल्मः बोटोमुनिको फूल
कामनाले कम्पिटिसनमा राम्रो राम्रो कलाकार छानेको छ। मेरो विचारमा हामीहरुले त अवार्ड पाई नै रहेका छौं, अहिलेका नयाँ कलाकारले पाउनुपर्छ। यसपटक कामनाले म र छोरो गौरवलाई सहअभिनेताको एउटै विधामा ल्याएको छ। यस्तो शौभाग्य कमैले पाउँछन्। आफूले हात समातेर हिँडाएको छोरा आफ्नै कम्पिटिटर भएर आएकोमा खुसी लागेको छ। अवार्ड जसले पाए पनि बुढाहरुले भन्दा अहिलेका तन्नेरीले पाए उनीहरुका लागि प्रोत्साहन हुन्छ।

बुबाले जित्नुहुन्छ कि?
गौरव पहारी
फिल्मः गाजलु
मलाई त आफैंले जित्छु जस्तो लाग्छ। हा..हा..हा। हुन त नोमिनेसनमा निकै राम्रो कलाकारहरु पर्नुभएको छ, म यस वर्ष पहिलोपटक नोमिनेसनमा परेको कलाकार हो। यसपटक म र वुवा एकै विधाको नोमिनेसनमा छौं। मलाई खुसी लागेको छ। म बुबासँग भन्दा पनि टीका पहारीसँग नोमिनेसनमा परेको छु। तर, बुबाले बाटोमुनिको फूल–२ मा गरेको पर्फमेन्स हेर्दा मलाई अआर्डचाहि बुबाले जित्नुहुन्छ जस्तो लाग्छ।

कामनामा टप ५ मा आउनु नै जित
जितु नेपाल
मनोनयनः सहअभिनेता र पटकथा
मेरो विचारमा त कुनै पनि कलाकारले मैले नै अवार्ड पाउनुपर्छ भन्छ। म पनि सहअभिनेताको अवार्ड मैले नै पाउनुपर्छ भन्छु। तर, कामना जस्तो प्रतिष्ठित अवार्डको टप फाइभमा आउनुभनेको नै जितेसरह हो। जित जसको भए पनि राम्रोले जित्छ। संवादको कुरामा भने छक्का पञ्जाले आशा राख्ने ठाउँ छ। किनभने हामी ३⁄४ जनाले छलफल गरेर यसको संवाद तयार पारेका हौं। हामीले दर्शकसँगै हलमा बसेर फिल्म हेर्दा पनि प्रत्येक डाइलगमा दर्शक हासेका छन्। यसरी हेर्दा दर्शकको नजरमा छक्का पञ्जाको डाइलग उत्कृष्ट हो। तर, जुरीहरुले नम्बरिङ गर्दा अगाडि नआउन पनि सक्छ। आशा गरौं भर नपरौं।

जितुले जित्छ
शिवहरि पौडेल
फिल्मः छक्का पञ्जा
मेरो विचारमा सहअभिनेताको अवार्ड जितुले जित्छ। किनभने उसले सहअभिनेताको रूपमा राम्रो अभिनय गरेको छ। छक्का पञ्जाको स्टोरी हेर्दा त म सहअभिनेता होइन अभिनेतामा पर्नुपर्ने हो। त्यस कारण यो मेरो विधा नै होइन जस्तो लाग्छ। मेरो विधा नभएका कारण यो अवार्ड मैले पाउनुहुँदैन जस्तो लाग्छ।

 

टीका पहारीलाई दिनुपर्छ
रवीन्द्रसिंह बानियाँ
फिल्मः जात्रा
मेरो विचारमा सहअभिनेताको अवार्ड टीका पहारीलाई दिनुपर्छ। उहाँ यो अवार्डका लागि डिजर्भिङ हुनुहुन्छ। म अवार्डविरोधी त होइन तर मलाई अवार्डमा सहभागी हुन लाज लाग्छ। त्यस कारण यदि मैले अवार्ड जितें भने पनि म अवार्डमा सहभागी हुन सक्दिनँ। किनभने मैले अवार्ड पाउनका लागि काम गरेको होइन। अवार्ड भनेको लिँदाखेरी आँखाभरि आँशु झार्ने व्यक्तिलाई दिनुपर्छ। मलाई नोमिनेसनमा राखेकामा भने कामनालाई धन्यवाद।

विधाः सहंअभिनेतृ


जसले पाए पनि खुसी
सुभद्रा अधिकारी
फिल्मः बाटोमुनिको फूल–२
म त कामनाबाट नोमिनेसनमा पर्नु नै जितेसरह मान्छु। मसँग नोमिनेसनमा पर्ने सबै राम्रा र योङ हिरोइन हुनुहुन्छ। गौरी, वर्षाजस्ता हिरोइनहरुले राम्रो अभिनय गरेका छन्। यस कारण पनि मलाई खुसी लागेको छ। जसले पाए पनि खुसी हुनेछु।

 

 

गौरी मल्लले जित्नुहुन्छ
मेनुका प्रधान
फिल्मः गाजलु
मलाई त गौरी मल्ल पहिलेदेखि नै मन पर्छ। म उहाँको सधैं प्रशंसा गर्छु। उहाँको एक्टिङ इफेक्टिभ लाग्छ। हुन त मैले उहाँको फिल्म होमवर्क हेरेको छैन, ट्रेलर मात्र हेरेको छु। यसै कारण पनि मलाई कामना फिल्म अवार्डमा उहाँले नै सहअभिनेतृको अवार्ड जित्नुहुन्छ जस्तो लाग्छ। छक्का पञ्जामा वर्षाले पनि राम्रो अभिनय गरेकी हुन्। मैले अन्य फिल्मचाहिँ हेरेको छैन, त्यसैले पनि सबैको बारेमा भन्न गाह्रो छ। मैले आफ्नो हकमा भन्नुपर्दा चाहिँ मैले आफूले गरेको काम जहिले पनि इन्कम्प्लिट नै जस्तो लाग्छ। आफूले गरेको कामको नतिजा सोचेजस्तो निस्किएन भन्ने फिल भई नै रहन्छ।

जजमेन्टमा भर पर्छ

 

गौरी मल्ल
अवार्ड भन्ने कुरा पर्सनल्ली हुने होइन। सामूहिकरूपमा हुने अवार्डमा जसले डिजर्भ गर्छ। उसैले पाउने हो। जर्जमेन्टमा पनि भर पर्छ।

 

 

डिजर्भिङले पाउनुपर्छ

सविना गोपाली
फिल्मः के म तिम्रो होइन र
मैले नोमिनेसनमा पर्ने अन्य कलाकारको फिल्म हेर्न पाएको छैन। मेरो विचारमा जो डिजर्भिङ हुनुहुन्छ, उहाँले नै अवार्ड पाउनुपर्छ।

प्रतिक्रिया दिनुहोस्