हिउँदे वर्षा कमजोर



टीका बन्धन, काठमाडौं

भू–मध्य सागरको वायु नेपाल भित्रिएपछि यसपटक ढिलो गरी मात्र हिउँदे वर्षा भएको छ। हिउँदयामको यो अवधिमा कम्तीमा ५÷६ पटक दोहोरिने वर्षा यो वर्ष २ पटक मात्रै दोहोरिएको छ।

मुलुकको सुदूरपश्चिमी भेगमा गत डिसेम्बर दोस्रो साता न्यून चापीय प्रणाली (वर्षा गराउने वायु) भित्रिएर सामान्य वर्षा गराए पनि मध्य र पूर्वीभेगतर्फ फैलन नपाउँदै निस्क्रिय बनेको थियो। मंगलबार राति नेपाल भित्रिएको वायुले मंगलबार र बुधबार बिहान सबेरैदेखि मुलुकका अधिकांश भेगमा हिउँदे वर्षा र हिमपात गराएको छ।

मुलुकभरका अधिकांश उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको हो। तर यो वायु बुधबार साँझदेखि निस्क्रिय भएकाले बिहीबार उच्च भेगमा हिमपात दोहोरिए पनि अहिलेलाई हिउँदे वर्षा टरेको र मौसम क्रमशः सुधार हुने मौसमविद् वरुण पौडेलले बताउनुभयो। ‘अब हप्ता÷१० दिनयता हिउँदे वर्षा दोहोरिने सम्भावना छैन, काठमाडौंसहितका पहाडी भेगमा बिहानपख केही दिन बाक्लो हुस्सु लाग्छ तर दिउँसोको मौसम खुला रहन्छ।’ –उहाँले भन्नुभयो।

पश्चिमी वायुले बादलमा जलवाष्पको अंश छोडेकाले धेरैजसो पहाडी भेगको मौसम पूर्णरूपमा खुला नखुल्ने प्रष्ट्याउँदै बिहान बेलुका चिसो बढ्ने पौडेलले जानकारी दिनुभयो। विगत केही वर्षयता हिउँदे वर्षा हिउँदयामको शुरुआत भन्दा पनि मध्ये हिउँदतर्फ धकेलिन थालेको मौसमविद्हरू बताउँछन्। गत वर्ष पुस १० गते मात्र पहिलो हिउँदे वर्षा भएको स्मरण गर्दै वरिष्ठ मौसमविद् मणिरत्न शाक्यले नेपालसहित दक्षिण एसियामा नै हिउँदे वर्षाको अवधि धकेलिन थालेको बताउनुहुन्छ।

प्रशान्त महासागरको पूर्वी भेगको पानी औषतभन्दा बढी तात्ने प्रणाली (एलनीनो) विकास भएकाले मनसुन र हिउँदे वर्षा कमजोर बनेको शाक्यले जानकारी दिनुभयो। हिउँद याममा भू–मध्य सागरको वायु अफगानिस्तान, पाकिस्तान, भारतको जम्मु कास्मिर हुँदै मुलुकको सुदूरपश्चिम हुँदै नेपाल प्रवेश गर्छ, सोही प्रभावले हिउँदे वर्षा हुने गर्छ। अहिले त्यही प्रभाव भित्रिँदा हिउँदे वर्षा भएको हो।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अंग्रेजी महिनाको जनवरी सम्ममा काठमाडौंमा औसतमा १४ मिलिमिटर हिउँदे वर्षा हुने गर्छ। तर बुधबार ज्यादै थोरै २ मिलिमिटर मात्र वर्षा भएको महाशाखाले जनाएको छ। माघ पहिलो सातासम्ममा मुलुकका अन्य भेगमा पनि १० देखि १८ मिलिमिटरका हाराहारीमा वर्षा हुनुपर्ने मौसमविद्हरू स्मरण गर्छन्। बुधबार सबैभन्दा धेरै डडेलधुरामा १२ मिलिमिटर वर्षा भएको छ।
त्यसैगरी धनगढीमा ७, विरेन्द्रनगरमा ६ दशमलव ५, नेपालगन्ज र भैरहवामा ६, जुम्लामा ५, दाङमा ३, दिपायलमा २, सिमरामा १ मिललिमिटरसहित अन्यत्र पनि छिटफुट वर्षा भएको महाशाखाको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्