छमछमीबाट जीवनको बिदाइ



नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आइरहेको मेगा डान्स रियालिटी शो रियो छमछमी–३ बाट यो साता दाङका जीवन बुढाथोकी बिदा भएका छन्। जीवनले टप ७ सम्म पुग्दा आफ्ना विविध प्रस्तुतिबाट निर्णायक एवं दर्शकलाई मन्त्रमुग्ध पार्दै आए पनि एसएमएस भोट उनलाई अघिल्लो राउन्डसम्म पुर्याउन पर्याप्त भएन। विशेषतः अभिनयात्मक प्रस्तुतिमा अब्बल जीवनको प्रस्तुतिमा निर्णायकहरूले मुक्त कण्ठले प्रशंसा गर्दै आएका थिए। यो यात्रासम्म पुगेका जीवन टप ७ को प्रस्तुतिमा खासमा त्यति स्वस्थ थिएनन्। उनको प्रस्तुति मानसिकरूपमा अस्वस्थ व्यक्तिको जीवनकथामा आधारित रहेर बुनिएको थियो, गम्भीर विष्ट त्यसको कोरियोग्राफर थिए।

साथीसँग मिलेर युट्युब हेर्दै नृत्य सिकेका उनी भारतका थुप्रै स्थानीय प्रतियोगितामा भाग लिई प्रथमसमेत भएका छन्। नृत्यका लागि मरिमेट्ने, घर–परिवारले साथ नदिने, घरको जोहोका लागि छिमेकी देश भारतमा काम गरी फर्किएका उनका बाबु र आमाका समेत भित्री इच्छा थियो छोरालाई वैदेशिक रोजगारीमा पठाउने। उनलाई पासपोर्ट बनाउन काठमाडौं पठाइयो। उनले काठमाडौंका डान्स स्टुडियोहरू चहारे र पासपोर्ट पनि बनाएर फर्किए। तर, जब उनको उडानको मिति तय भयो, उनी शहर भागे। मोबाइल रिपेयरिङ सिके, काम गरे, पैसा जम्मा गरे र दाङमा लेट्स् डान्स स्टुडियो खोले। अहिले उनको स्टुडियोमा धेरै नृत्य प्रशिक्षार्थी नृत्य सिक्दै छन् र जीवन उनीहरूका गुरु हुन्। धेरैपटक उनीहरू लखनउ, दिल्ली र मुम्बईका ठूला रियालिटी शोहरूमा भाग लिई धेरै अघिल्लो राउन्डसम्म पुगिसकेका छन्। जीवनको धोको उनीहरू विजेता बनेको हेर्नेछ। जीवनमा लुकेको अर्को एउटा कला पनि छ, आफैं गीत रिमिक्स गर्ने र त्यसमा नृत्य गराउने। रियो छमछमी–३ मा रहँदासमेत आफ”सँगैका प्रतिस्पर्धीलाई उनले यसरी नै सघाइरहे।
वास्तवमा धेरै गुरुहरू आफ्ना चेलाहरूसँगै एउटै प्रतियोगितामा भिड्न हिच्किचाउँछन्। तर, जीवनले त्यो भावना आफूमा कहिल्यै पालेनन्।

त्यसैले जीवन यसपटक आफ्ना १५ चेलासँगै उत्रिएका थिए रियो छमछमी–३ को मेगा अडिसनमा। अरू त सफल भएनन्, तर सँगै अगाडि बढे उनी र उनैका होनाहार चेला एलेक्स विक। दाङका तीनै चेला एलेक्स यतिखेर जीवनलाई पछि पार्दै टप ६ राउन्डका लागि छानिइसकेका छन् र जीवन ३२ इन्चको एलजी स्मार्ट टिभी बोक्दै घर फर्किएका छन्। यति ठूलो फ्लोरमा सिक्ने र प्रस्तुति दिने मौका पाएकोमा जीवनले भित्री मनबाटै निर्णायक मण्डल, कोरियोग्राफर, प्राविधिक, छमछमी टिम र नेपाल टेलिभिजनलाई विशेष धन्यवाद दिन छुटाएनन्।

घर फर्किंदै गर्दा सम्पूर्ण दर्शक र भोट दातालाई समेत धन्यवाद दिँदै उनले वाचा गरे छमछमी–४ मा भेट्ने। रियो छमछमी–३ निर्माण कोर कमिटी सदस्य एवं मिडिया संयोजक रामबाबु अधिकारीका अनुसार सो राउन्डमा सुनसरीकी मनीता राईले सबभन्दा बढी भोट प्राप्त गर्ने प्रतिस्पर्धीका रूपमा चौधरी ग्रुपको तर्फबाट विशेष गिफ्ट ह्याम्पर प्राप्त गरिन्। प्रतियोगितामा अब दाङका एलेक्स विक, झापाकी केविका खत्री, सुनसरीकी मनीता राई, मकवानपुरका सरोज प्रजा, सुर्खेतका शेखर घर्ती मगर र रामेछापकी रविता मगर मैदानमा छन्। यस अघिका हप्ताहरूमा भोटका आधारमा टप १२ मा रहेका प्रतिस्पर्धीमध्ये सुनसरीका आतिश जैरु, बाँकेका रोशन विश्वकर्मा, रूपन्देहीका अविनाश हमाल र मोरङका मनीष कटुवाल शोबाट बाहिरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्