गाउँपालिका अध्यक्ष कृषिमा आफै नमुना



आफ्नो बारीमा लगाएका फलफुल देखाउदै गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकाया । तस्विर: ललित सिंह ।

लित सिंह, बझाङ । सिंहदरवारले प्रयोग गर्दै आएका कतिपय अधिकार समेत पाएको भनिएको स्थानिय तहका अध्यक्षको दैनिकी कस्तो होला ? धेरै जसो को उत्तर हुन्छ, ‘विहानै देखी सांझ सम्म भेटघाट, गोष्ठी बैठकमा दौडधुप, योजना निमार्ण अनुगमन आदी ।’ सम्भवत यो दैनिकी धेरै जसो स्थानिय तहका प्रमुखहरुको दैनिकी संग मेल खान्छ । तर बझाङ जिल्लाको खप्तडछान्ना गांउँपालिकाका अध्यक्ष बर्कबहादुर रोकायाको दैनिकी यतिमा मात्र सिमित छैन ।

उनि विहान सबेरै उठ्छन । हरेक दिन ९ वजे सम्म आफ्नो बारीमा काम गर्छन । त्यसपछि खाना खाएर दिन भर जसो गाउँपालिकाको काममा व्यस्त हुन्छन । खनजोत गर्ने, मल बोक्ने, विरुवा गोडमेल गर्ने, कांटछाट गर्ने जस्ता खेतिपातीका काम उनको नियमित दैनिकी भित्र पर्दछन । हुन त उनको गाउँपालिकाका अधिकांस मानिसहरु कृषि पेशामा नै आश्रीत छन । तर अध्यक्ष रोकाया र अरु कृषकहरुको खेतीपाती गर्ने तरिका फरक छ । उनि कृषिका माध्यमबाट गाउँपालिकाको समृद्धी हुन्छ भन्ने कुरामा विश्वास गर्छन । यसकालागी कृषिमा आधुनिकिकरण गर्ने उनको धोको छ । जुन आफै गरेर देखाउन चाहान्छन ।

नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा विजयी हुनु भन्दा पहिले देखि नै आधुनिक कृषिमा लागेका रोकाया भन्छन ‘हामीले बाजे बराजुका पाला देखि नै खेतिपाती गर्दै आएका हौ । तर पनि हाम्रो प्रगती हुन सकेन । हामीले रातदिन खेतमा घोटिएर काम गर्दा पनि आफैलाई पाल्न नसक्ने अवस्थामा पुग्यौ । किनकी हामीले खेतीपाती नै गर्न जानेनौ’

‘धान र गहुं खेती नगर्ने हो भने के खाएर बांञ्नु ? भन्ने यहांका कृषकहरुको बुझाई छ । अझै पनि व्यवसायिक खेती गरे आर्थिक रुपमा सबल भइन्छ भन्ने कुरामा यहांका मानिसलाई विश्वास छैन’ अध्यक्ष रोकायाले भने ‘कुन माटोमा कस्तो खेती फस्टाउछ ?, व्यवसायीक खेतीले कसरी आर्थिक समृद्धी सम्भव छ? भन्ने कुरा गरेरै देखाउनका लागी मैले यसो गरेको हुं’

उनको बारीमा अहिले ५ सय भन्दा बढी ओखरका बोट छन । केही नफल्ने खरबारीमा २ हजारबोट कागती लगाएका छन । खोला किनारको जग्गामा २ सयबोट केरा छन । खोलाको प्रवाह पनि रोक्ने र गाइबस्तुलाई पोषिलो घांस पनि हुने नेपियर लहरै लगाएका छन । अनार सुन्तला, अमिलो जस्ता फलफुलहरु मौसम अनुसार बारी भरी लटरम्म फल्छन । फलफुल खेतीको तल अदुवा, वेसार जस्ता मसलाबाली लगाएका छन । घर वरीपरि लगाएको मौसम अनुसारको तरकारीले उनलाई खान पुगेर राम्रै आम्दानी पनि दिएको छ ।

‘लेक तिर २ हजार जति स्याउ पनि लगाएको छु । ’ रोकायाले भने ‘चुनावमा भएको खर्च सबै यही खेतीपातीबाट जुटाएको हुं । बर्षमा ५÷६ लाख सजिलै आम्दानी हुने गरेको छ ।’ उनले आधुनिक प्रविधीमा आधारित पलाष्टीक घरमा पनि विभिन्न जातका तरकारीहरु फलाउने गरेका छन ।

व्यवसायिक खेतीमा उनको सफलता देखेर अहिले गांउपालिकाका अरु धेरै मानिसहरु पनि यस तर्फ आर्कषित भएको उनका छिमेकी राजेन्द्र रोकायाले बताए । उनले भने ‘पहिला धान गहूं नरोपे के खाने भन्नेहरु पनि अहिले तरकारी र फलफुल खेती गर्न थालेका छौ । राम्रो मेहनेत गर्ने हो भने धान गहुं भन्दा दशौ गुणा बढी फाइदा पनि लिन सकिदो रहेछ भन्ने कुरा विस्तारै बुझ्न थालेका छौ’

गाउँपालिकाले आफ्नो कार्यक्रम तथा बजेटमा पनि कृषिलाई प्रमुख प्राथमिकतामा राखेर १ करोड भन्दा बढी रकम यसमा छुट्याएको छ । ‘कृषिमा राम्रो मिहनेत गर्ने किसानलाई छानेर आधुनिक प्रविधी, उन्नत विउ विजन र सिप विकासमा यो रकम खर्च गरिने छ।’ अध्यक्ष रोकायाले भने ‘५ वर्षको अवधीमा तरकारी र फलफुल खेतीमा गाउँपालिका लाई नै नमुना बनाउने सोच लिएका छौ’ गर्न चाहाने तर व्यवसायिक कृषिमा विश्वास नभएकाहरुलाई आफ्नो बारीमा घुमाएर उत्प्रेरित गर्ने गरेको उनले सुनाए ।

 

प्रतिक्रिया दिनुहोस्