८२ प्रतिशत सम्पत्ति १ प्रतिशत धनाढइ्को हातमा



जेनेभा, (एजेन्सी)
विश्वका १ प्रतिशत धनाढइ्को हातमा सबै सम्पत्तिको ८२ प्रतिशत हिस्सा रहेको र विश्वका गरिब ३ अर्ब ७० करोड नागरिकको सम्पत्तिमा गतवर्ष रत्तिभर वृद्धि नभएको अक्सफामले जारी गरेको एक प्रतिवेदनमा उल्लेख गरेको छ।

उक्त प्रतिवेदन अनुसार सन् २०१० देखि विश्वका अर्बपतिहरूको सम्पत्तिमा हरेक वर्ष १३ प्रतिशतले वृद्धि भएको देखिएको। यो सामान्य श्रमिकको आयभन्दा ६ गुणा बढी हो। उनीहरूको आयमा वार्षिक २ प्रतिशतले वृद्धि भएको अक्सफामले जनाएको छ।

गतवर्ष अर्बपतिहरूको संख्यामा पनि उल्लेख्य वृद्धि भएको बताइएको छ। सन् २०१६ मार्चदेखि सन् २०१७ मार्चको बीचमा हरेक दुई दिनमा एक नयाँ व्यक्ति उक्त अर्बपतिको पगडी दाबी गर्न सक्षम भएका छन्।
‘अर्बपतिको उल्लेख्य वृद्धि सम्पन्न अर्थतन्त्रको संकेट होइन, बरू आर्थिक प्रणालीको खस्कँदो अवस्थाको संकेट हो’ –अक्सफाम इन्टरनेसनलका कार्यकारी निर्देशक विनी ब्यानिमाले बताए। ‘हाम्रो लुगा तयार गर्ने, फोन बनाउने र हाम्रा लागि खाना उब्जाउनेहरू जो शोषित छन्, उनीहरूलाई निरन्तर सस्तोमा सामान आपूर्ति गर्न बाध्य पारिएको छ। यसबाट कर्पोरेसन र अर्बपति लगानी कर्ताको नाफा आकाशिएको छ।उक्त प्रतिवेदनले विश्वका धनाढ्य र गरिबबीचको असमानतालाई पनि इंगित गरेको छ।

‘बंगलादेशका कुनै एक गार्मेन्ट मजदुरले जीवनभरिको कमाउने सम्पत्ति पहिलो पाँचमा पर्ने विश्व फेसन ब्रान्डका एक सीईओले मात्र ४ दिनमा कमाउँछ’ –प्रतिवेदनमा उल्लेख गरिएको छ। ‘अमेरिकामा यो अलि बढी छ, यहाँ एक सामान्य श्रमिकको एक वर्षको कमाइ एक सीईओले १ दिनमा कमाउँछ’ –स्वीजरल्यान्डको डावोसमा विश्व आर्थिक मञ्चको सम्मेलन हुन लागेको अवसरमा अक्सफामले उक्त प्रतिवेदन सार्वजनिक गरेको हो। सम्मेलनमा विश्वका राजनीतिक तथा प्रबुद्ध व्यवसायिक नेताहरू भेला भएका छन्।
फोरमको बैठक आज मंगलबारबाट शुरू हुँदैछ।

प्रतिक्रिया दिनुहोस्