रानीपोखरीको अस्तित्व सङ्कटमा



डिल्लीराम मिश्र

वि.सं. २०७२ को विनाशकारी भूकम्पले देशमा मानवीय र भौतिक सम्पदाको अपार क्षति हुन पुग्यो। यस भूकम्पबाट नेपालीको ऐतिहासिक आभूषणको रूपमा रहेका धेरै कला–सम्पदाहरू नष्ट भए। तीमध्येको एउटा जीवन्त धरोहर रानीपोखरी पनि हो, जहाँ केही क्षति भएको छ। तर रानीपोखरीको बारेमा प्रचारवादी र नकारात्मक दृष्टिकोण बढी हाबी छ। मल्लकालीन धेरै आभूषणहरूमध्ये रानीपोखरीको सिर्जना एक हो, जुन सिर्जनाले आज राष्ट्रको अपार सम्पत्तिका रूपमा मल्लकालीन कला कौशलको जीवन्त पहिचान बनाएको छ। मल्लकाल कला–कौशल र सृंस्कृतिमा प्रचूर धनी थियो, जसले लामो समयसम्म आफ्नो पहिचान बनाइरह्यो, जुन पहिचानलाई आज हामी गौरव गरिरहेका छौं। राष्ट्रको कला–कौशलमा स्वर्णयुग नै मानिने मल्लकाल वि.सं. ९३६ देखि १८२५ अर्थात् झन्डै ८८९ वर्ष चलेको देखिन्छ। यस लामो समयावधिमा यो राष्ट्रको राजधानी उपत्यकाभित्र हजारौं कलाकृति र सम्पदाहरूको निर्माण भए, जुन आजसम्म पनि जीवन्त धरोहरका रूपमा रहेका छन्।

वि.सं. १६९८ मा नेपालको कान्तिपुर राजसिंहासनमा बसेका प्रतापी र विद्वान् नरेश प्रताप मल्लमा साहित्य, सङ्गीत र कलाप्रति गहिरो अभिरुचि थियो। उनले आपूmलाई कवीन्द्र घोषित गरेका थिए भने १५ भाषामा लेखिएको शिलालेख हनुमान ढोकामा रहेकाले पनि उनी प्रखर विद्वान् र विद्याप्रेमी भएको तथ्य सहजै अनुमान गर्न सकिन्छ। प्रताप मल्ल आफैंमा धार्मिक स्वभावका राजा थिए। उनी बौद्ध र हिन्दू धर्मका तान्त्रिकलाई विशेष सम्मान गर्थे। उनले आफ्नो दरबारमा शैव, हिन्दू र बौद्ध धर्मका तान्त्रिकहरूलाई स–सम्मानका साथ राखेका थिए। उनले ग्रीक शैलीमा हनुमान ढोकाको निर्माण गरेका थिए। आफ्नो शासनकालमा अनगिन्ती कला–कौशल, मठ–मन्दिर, गुम्बा, विहार, शिवालय र धार्मिक स्थलहरूको निर्माण र जीर्णोद्धार गराएका थिए।

कान्तिपुरका प्रतापी राजा यिनै प्रताप मल्लले आजभन्दा ३ सय ५० वर्षअघि पुत्रशोकमा परेकी आफ्नी पीडित रानी रूपमतीलाई सान्त्वना दिन रानीपोखरीको निर्माण वि.सं. १७२७ मा गरेका थिए। उनले कालभैरव र गुह्येश्वरीको स्थापना गर्नुका साथै सेतो मछिन्द्रनाथको रथयात्राको परम्परासमेत चलाएका थिए। आजको यति सुन्दर रानीपोखरीको निर्माण गर्न झन्डै १९ महिना समय लागेको थियो। यसको निर्माणमा हजारौं कला सर्जकहरूको श्रम–पसिना भिजेको छ, तर काठमाडौं महानगरपालिकाको कुदृष्टिका कारण आज रानीपोखरी महानगरको कठपुतली बन्दै छ। यसलाई अति हल्काफुल्का र खेलाँचीको रूपमा लिइएको छ। राष्ट्रको यो अमूल्य सम्पदामाथिको दुःखद विडम्बना हो यो। महाभूकम्पले रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरलाई मात्र सामान्य क्षति पुर्याएको थियो र मन्दिर ढल्ने अवस्थामा थिएन। त्यसैलाई पुनर्निर्माण गर्ने बहाना बनाएर महानगरपालिकाद्वारा अन्त कहीँ–कतै क्षति नभएको रानीपोखरीको पानी सुकाउने र पोखरीमा रहेका माछालाई चैत्र–वैशाखको खडेरीमा प्याक–प्याक हुने गरी मार्नेजस्तो अमानवीय काम गरियो। नागरिकलाई देखाउनका लागि नाटकीयरूपमा रानीपोखरीका माछा अरु पोखरीमा सार्ने काम भइरहेको छ भन्ने प्रचार पनि हदैसम्म गरियो, जहाँ लाखौं रुपियाँका माछालाई नष्ट गरियो अनि काग र गिद्धको प्रवेश रानीपोखरीभित्र हुन पुग्यो। यदि यथास्थितिमा रहेको सुन्दर रानीपोखरी बनाउन सकिँदैन भने हाम्रा पुर्खाले दिएको नासोलाई भताभुङ्ग पारेर बिगार्ने अधिकार महानगरपालिकालाई कसले दियो ? जनता प्रश्न गरिरहेका छन्। आज महामहाभूकम्प गएको पनि झन्डै तीन वर्ष बित्न लागिसक्यो, तर रानीपोखरी पुनर्निर्माण गर्ने कुरा मेयरको कमिसनको खेलको भूमरीमा परेको छ।

नेपालको ऐतिहासिक पुरातात्विक सम्पदा रानीपोखरी पुनर्निर्माणका विषयमा महानगरपालिकाका मेयर र उपमेयरबीच नौटङ्कीरूपमै चरम विमति देखिएको छ। रानीपोखरीको पुनर्निर्माण पुरातात्विक मापदण्डविपरीत रहेको भन्दै सार्वजनिकरूपमा चौतर्फी आलोचना भएपछि यसको पुनर्निर्माण कार्य अहिले रोकिएको छ। विशेष गरी महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य प्रताप मल्लकालीन शैलीलाई विस्थापित गरेर आधुनिक कङ्क्रिट मिसाएर पुनर्निर्माण गर्ने पक्षमा उभिनुको पछाडि कमिशनको खेल हुनसक्छ। उनको योजनाअनुरूप रानीपोखरीको पुनर्निर्माणमा कङ्क्रिटको पर्खाल लगाउने हो भने पोखरीको क्षेत्रफल २० प्रतिशत घट्ने अवस्था छ। त्यसैले यसलाई कदापि स्वीकार गर्न सकिँदैन। स्थानीयवासीहरू भन्छन्– पुर्खाको नासो यसरी मास्न दिनुलाई अपराध मानिन्छ। पोखरीको आकार जति ठूलो भयो उति नै पर्यावरणीय चक्र राम्रो हुन्छ। पोखरीको आकार घटाउँदा त्यहाँबाट जलभण्डारमा जाने पानीको मात्रा घट्छ, जसले गर्दा प्रदूषण न्यूनीकरणमा असर पर्छ। यसबारेमा पनि तमाम विज्ञहरूले विरोध गरिरहेका छन्। पुरातत्व विभाग मल्लकालीन शैलीमै रानीपोखरीको पुनर्निर्माण गर्ने पक्षमा उभिएको छ। त्यसैले संवत् २०१३ मा बनेको प्राचीन स्मारक संरक्षण ऐनले आधुनिक निर्माण सामग्री प्रयोग गर्नसमेत निषेध गरेको अवस्थामा विगतमा रानीपोखरीमा पानीले ढाकेको जमिनलाई तल–माथि गर्न खोज्नु हाम्रा कला–सम्पदाप्रति नै घोर अपमान गर्नु हो। अहिले पदमा पुगेर जिम्मेवार सम्हाली रहेका पदाधिकारीहरूमा एउटा चरित्रको विकास के भएको छ भने, देश र भावी पुस्ताप्रति अलिकति पनि चिन्ता छैन, इतिहासप्रतिको सम्मान हराएको छ। वर्तमानमा कति लुट्न सकिन्छ र कति कमाउन सकिन्छ, त्यताप्रति मात्र ध्यान छ। कतै हाम्रा पुर्खाले इतिहासको विरासतका रूपमा सुम्पेर गएको राष्ट्रको आभूषण रानीपोखरी यसकै सिकार बन्दै त छैन ? जनता प्रतिप्रश्न गरिरहेका छन्।

राष्ट्रको जीवन्त धरोहर रानीपोखरी पुनर्निर्माण गर्न बनेको विज्ञ समितिले समेत पोखरीभित्र लगाएको कङ्क्रिटको पर्खाल भत्काउनुपर्ने सुझाव दिइसकेको छ। जीवन्त धरोहर रानीपाखरीमा यसका निर्माता राजा प्रताप मल्लको जीवन्त आत्मा छ, त्यो आत्मा मर्न नदिने गरी रानीपोखरीको संरक्षण र पुनर्निर्माण गर्नुपर्छ, सम्पदा सिद्धान्तले यही भन्छ। रानीपोखरीमा टम्म पानी हुनु नै यसको सुन्दरता हो। रानीपोखरीमा पानी भरिएपछि पोखरी त्यसै पनि सुन्दर र लोभलाग्दो रूपमा हेर्न र देख्न सकिन्छ। बेला–बेलामा सफा गर्नु, पोखरीको छेउछाउमा पूmल र रुखका बिरुवा रोप्नु, वरपरको वातावरण सधैँ सफा र सुन्दर राख्न सके, त्यत्तिकै सुन्दर देखिन्छ जीवन्त धरोहर त्रि–चन्द्र कलेज र दरबार हाइस्कुलको बीचमा रहेको रानीपोखरीलाई इतिहास अध्ययन र अनुसन्धान केन्द्र बनाउनुपर्छ।
अहिलेको कङ्क्रिट शैलीमा रानीपोखरीको पुनर्निर्माण गर्दा यसको प्राचीनता, इतिहास, संस्कृति र कला सम्पदा नष्ट हुने सम्भावना रहेको पुरातत्वविद्हरू बताउँछन्। आधुनिक निर्माण सामग्रीहरू बलिया हुन्छन् भन्ने बहानामा मेयर अझै पनि भ्रम सिर्जना गर्ने कार्यमा छन् भने उपमेयर हरिप्रभा खड्गी मल्लकालीन शैलीकै पक्षमा उभिएकी छन्। यसबारे भ्रम छर्न दिने काम कदापि गर्नुहुँदैन। यो हाम्रा पुर्खाहरूमाथिको अपराधजन्य कार्य हो। रानीपोखरीलाई सहज र सजिलोरूपमा बचाउन सकिन्छ, संरक्षण गर्न सकिन्छ। पोखरीमा इनारबाटै पानी रिचार्ज गर्न पोखरी सफा गर्नेलगायत पानी वितरण गर्ने प्रणालीसमेत थिए तर अहिले अन्धाधुन्ध डोजर प्रयोग गरेर रानीपोखरीलाई मास्ने काम भइरहेको छ। रानीपोखरीलाई सफा, सुन्दर र हराभरा राखेर एउटा बौद्धिक अध्ययनको केन्द्र बनाइनुपर्छ, तर मेयर भने मम पसल र कफी सप बनाउने चिन्तन राख्छन्, जुन सरासर गलत छ। किनभने पर्यटकहरू मम खान र कफी खान रानीपोखरी आउँदैनन्। उनीहरू रानीपोखरीको संस्कृति बुझ्न र इतिहास अध्ययन गर्न आउने हुन्। महाभूकम्पको कारण पोखरीको पानी सुकेको होइन, नियोजितरूपमा व्यापार चलाउन महानगरले रानीपोखरीलाई तहसनहस बनाइदिएको छ, स्थानीयवासीहरूको यही प्रतिक्रिया छ। रानीपोखरी वर्षमा एकपटक खुल्ने सम्पदा हो र यसको सुन्दरता अनि महत्व पनि यही हो।

अन्त्यमा, पुरातात्विक मापदण्डविपरीत पुनर्निर्माण प्रारम्भ गरेको महानगरले यसको चौतर्फी विरोध भएपछि रानीपोखरीको पुनर्निर्माण कार्य रोकेको छ। पुनर्निर्माणसम्बन्धमा राय दिने गरी पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्की विज्ञ संयोजक समिति रहेको ११ सदस्यीय विज्ञ समिति निर्माण भएको छ। उक्त समितिले राय प्रतिवेदन बुझाउने चरणमा छ। अब रानीपोखरी प्रताप मल्लकै शैलीमा बनाउने निर्णय महानगरले गरिसकेको छ। रानीपोखरी पूर्णतः वास्तुशास्त्रविधिअन्तर्गत निर्माण गरिएको हुँदा केही धार्मिक र सांस्कृतिक विधिअनुरूप उति बेला नै विभिन्न ५१ वटा तीर्थस्थलको पानी ल्याएर रानीपोखरी बनाएको हो। बनारसको वैद्यनाथ हुँदै गण्डकी, नीलकण्ठ, वागमती, वराहक्षेत्र, गोसाइँकुण्ड, मुक्तिनाथ, कौशिकी, त्रिशुलीलगायतका तीर्थस्थलबाट जल ल्याएर रानीपोखरी निर्माण गरिएको थियो। अब पनि ती सबै तीर्थस्थलहरूको जल रानीपोखरी पुनर्निर्माणकै क्रममा ल्याउनु अपरिहार्य छ। यसकारण नकारात्मक विवादहरूलाई पर राखेर रानीपोखरीको अस्तित्व स्थापित हुने गरी यसको पुनर्निर्माण मल्लकालीन शैलीमा चाँडोभन्दा चाडो गर्नुपर्छ। पोखरीमा पूर्णरूपमा पानी भर्ने काम आउँदो वर्षायामसम्म सम्पन्न गर्न सबै सरोकार पक्ष लाग्नु अपरिहार्य छ। महाभूकम्प दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा २०७२ माघ २ गते रानीपोखरी पुनर्निर्माणको शिलान्यास भएको थियो, तर राष्ट्रप्रमुखद्वारा शिलान्यास भएको दुई वर्ष बितिसक्दा पनि अनेक बखेडाका कारण पुनर्निर्माणले अलिकति पनि गति लिन सकेको छैन। सम्पदाप्रेमी नेपालीहरूका लागि यो दुःखद पक्ष हो।

प्रतिक्रिया दिनुहोस्