सुख–समृद्धिका लागि अध्यात्म तत्त्व



अध्यात्म तत्व नितान्त अपेक्षित तत्व हो। अध्यात्म तत्वलाई नजानी त्यसको महिमालाई ग्रहण गर्न सकिँदैन। अध्यात्म तत्व नै एउटा यस्तो पदार्थ हो जसले मनुष्यलाई सर्वांगीण समुन्नतिको दिशातर्फ अभिमुख गर्न सक्दछ परन्तु दुःखको कुरा के छ भने, आजको युग प्रभावले महत्वपूर्ण आध्यात्मिक स्वरूपलाई ओझेलमा पारेर जन–समाजको ठूलो अहित सम्पादन गरेको प्रतीत हुन्छ जसको परिणामस्वरूप असख्यौं मानवहरू आफ्नो जीवनको क्षण पूरा नगरी अकालमैं कालको ग्रास बन्दै गइरहेका छन्।

मानवजीवनको साथमा अध्यात्म तत्वको कति महत्वपूर्ण अनि अविभाज्य सम्बन्ध छ, यस कुरालाई हाम्रा पूर्वज अध्यात्म तत्वदर्शी, सत्यान्वेषी महर्षिहरूले साक्षातकार गरेर त्यसलाई आफ्नो जीवनमा आत्मासात् गरेका थिए। यति मात्र होइन उनीहरूले त्यसको गौरवपूर्ण लाभलाई अपरोक्ष सिद्ध पनि गरेका थिए।

मानव समाजको अन्तर्गत सुख अनि शान्तिको एउटै मात्र उपादान–आध्यात्मिक तत्वको जहाँसम्म विकास भयो त्यहाँसम्म हाम्रो अतीतकाल सुसमृद्ध अनि सुखमयी बनी रह्यो। जनसमाजका लागि आध्यात्मिक तत्वको जति उत्कर्ष अनि विकास सापेक्ष हुन्छ त्यो त्यति नै सुरक्षित रहन्छ र समाज तबसम्म सुसमृद्ध एवं सुखी दृष्टिगोचर हुन्छ अनि लौकिक तथा अलौकिक जीवनका फूलहरू विकसित हुन्छन् यो प्रकृतिसिद्ध अनि पूर्णरूपले सुनिश्चित छ।

आजको मानवजीवन भौतिकवादको चमत्कारको कल्पना, विषय वासना, उपभोगहरूको लिप्सा, कृत्रिम चमक–दमक, कल्पित सौन्दर्यको लालसा अनि महत्वकांक्षाको मोह–पासमा नियन्त्रित भइसकेको छ। कलुषित कामना अनि दूषित विचारहरूका शृङ्खलाको कारण अध्यात्म तत्वको विश्वासलाई गुमाएर निश्चितरूपमा विनाशको तर्फ स्वतः आकर्षित हुँदै गइरहेको छ। भौतिकवादकै कारण विश्वमा भयंकर युद्ध, पदलोलुपता, राजविप्लव, आतंकवाद, सामन्तवाद, असत भावना, समाज विद्रोह, असत्य कर्म अनि विविध प्रकारका शोषणहरू पल्लवित भइरहेको देखिन्छ।

भौतिकवाद शुभ परिणाम शून्य हुन्छ, तथापि त्यो आकर्षण एवं मनमोहकताले भरिपूर्ण हुन्छ। यसर्थ यथार्थ शाश्वत सत्य ज्ञानदेखि अनविज्ञ साधारण मनुष्य त्यसको पछि पागल भई लागिपर्दछ। आजको युग प्रभावले असत्य कर्म, असद्भावना अनि शोषण नीतिलाई प्रोत्साहन दिएर जन–समाजलाई निकृष्ट कोटिको बनाइदिएको छ। मानव संस्कृति तथा आध्यात्मिक भावनलाई नगण्य सम्झिनाले अधिकांश मानवहरू शाश्वत सुखको मार्गदेखि कोसौं टाढा भइरहेका छन्। यति मात्र होइन उनीहरू बाहिरी चमक–दमकको मोहमा फँसेर भौतिकवादलाई नै सर्वस्व मानेका छन्।

जबसम्म प्रत्येक मनुष्यले आफ्नो वास्तविक आत्मिक स्वरूपलाई चिन्दैन तबसम्म शाश्वत सुख र शान्तिलाई प्राप्त गर्न सक्दैन। आज यस विश्वका जति पनि देशहरूले भौतिकवादको दासत्वलाई स्वीकारेका छन् ती सबै देशहरू विनाशको तटमा उभिएका छन्। वर्तमान समयको सभ्यताको सिद्धान्त स्वछन्द जीवनशैलीलाई मन पराउँछन् जसको भित्र लुछाचुँडी, असन्तोष अनि दलबन्दीको नीति लुकेको हुन्छ। जर्मनी र जापानले त त्यो विनाशकारी स्थितिलाई झेलिसकेका छन्। युरोपको दूरदशादेखि आज विश्व परिचित नै छ। जर्मनी र जापानलाई भौतिकवादले नै विनाशोन्मुख गराएको हो। रुसमा त सुख अनि स्वतन्त्रताको नाममा बन्धन अनि नियन्त्रण मात्रै बाँकी छ। सन्तान जन्मनेबित्तिकै राष्ट्रको हुन्छ। माता–पिताको काखबाट छिनिन्छ। आफ्नो बच्चालाई प्यार प्रेम पनि गर्न सक्दैनन्। वस्तुतः जति पनि वादहरू छन् जस्तै– नाजीवाद, जातिवाद, साम्यवाद, प्रगतिवाद, जनतन्त्र, लोकतन्त्र, गणतन्त्र यी सबै पुँजीवादीहरूको स्वार्थपूर्ण चाल मात्र हो अनि यी सबै शोषण, नियन्त्रण र परपीडनदेखि मुक्त छैनन् एवं स्वतन्त्रताको नाममा बन्धन र शोषणमै अभ्यस्त देखिन्छन्। साम्यवादमा सैद्धान्तिकरूपमा केही सत्यको अंश अवश्य प्रतीत हुन्छ, परन्तु वर्तमान समयमा त साम्यवाद पनि हिन्दू, मुस्लिम, इसाई आदि सबै धर्म, मत–पन्थहरूको धार्मिक, सांस्कृतिक एवं आध्यात्मिक मार्गको शत्रु नै प्रमाणित भएको देखिन्छ। परमात्मा, धर्म, अध्यात्म तत्व, जप–तप, योग, दया, उदारता, आदर्श, देशभक्ति, परोपकार आदिको यसमा छाया पनि देखिन्न। हिंसा, क्रुरता, नियन्त्रण आदि नै यसका अस्त्र–शस्त्रहरू हुन्।

भौतिकवादका साधनहरू मनमोहक, आकर्षक र सुखमय प्रतीत अवश्य हुन्छन् परन्तु त्यसको अधिक संग्रहले हामीलाई पतन गराएर अध्यात्म तत्वदेखि वञ्चित गराइदिन्छ। अतएव त्यसको अधिक संग्रह पनि महापाप नै हो। भौतिक सुख अनि साधनहरूको उपयोग कसैलाई हानि नगर्ने भएर केवल जीवनोपयोगी उध्योगास्रित भएदेखि त्यो अध्यात्मवादमा नै सहायक हुन्छ।

तत्काल रमणीय लाग्ने विषयवस्तुहरू परिणामतः दुःखद प्रतीत हुन्छन्। प्रलोभन तथा भोग–वासनाको दुष्प्रभावको बारेमा प्रायः सबै मनुष्यहरूले यस कुरालाई बुझ्न सक्दैनन्। जसरी अग्निमा आहुति लगाउनाले अग्नि अझ धेरै सुदीप्त हुँदै जान्छ, ठीक त्यसरी नै मनुष्यको भोगेच्छा अनि विषय वासनाको उपभोगले तृप्त नभएर अझै बढ्दै जान्छ। भौतिकवादको यस तथ्यलाई अन्तिम समय सम्झेर दुःखी दशामा कालको ग्रास बन्न पुग्दछ। कहिलेकाहीँ त अचानक नै हृदयगति अवरोध हुनाले मृत्यु पनि हुन्छ अनि यो सोच्न पनि पाउँदैन कि एकत्रित ऐश्वर्य राशिको परिणाम के भयो। अन्ततः सबै थोक छोडेर खाली हात जान्छ।

वर्तमान युगका नेताहरू अनि सत्तासीन पुरुषहरूको मस्तिष्कमा एउटा अर्कै हावा सवार भएको देखिन्छ जसको वेगमा उनीहरू वास्तविक उन्नतिका साधनहरूलाई कोशौं टाढा छोड्दै विनाशको दिशातर्फ अग्रसर भइरहेका छन्। यसरी नै आज हामी युग प्रभावका कारण कम्पित भइरहेका छौं परन्तु विश्वास गर्नुपर्दछ कि सुख र शान्ति प्राप्तिका आधार भौतिक साधनहरू होइनन् अपितु अध्यात्म मार्गको साथमा केवल स्वार्थ त्याग, आदर्श जीवन, दया, दान, तप, तितिक्षा, अहिंसा आदि सद्गुणहरूको उत्कर्षमा निर्भर हुन्छ। यो सनातन सत्य हो कि असत्य कर्म, असदभावना अनि शोषण– यी सबै समष्टि व्यस्टिगतरूपले दैवी प्रकोपका कारण हुन् र हाम्रो लाखौं उपायद्वारा पनि कलह, क्लेश, उपाधि, व्याधि, मान–अपमान आदि अनेकौं विकारहरूले हामीलाई सताइरहन्छ्न्। तसर्थ भौतिक साधनहरूको उपलब्धिले पनि हामीलाई स्थायी सुख–शान्तिको प्राप्ति हुँदैन।

अध्यात्म जगत्को मान्यतानुसार विश्वको अस्तित्व नै संकल्प अनि ध्यानमा निर्भर हुन्छ। सबै विषयहरू संकल्प र ध्यान जनित नै हुन्छन्। जस्तो हाम्रो संकल्प तथा ध्यान हुन्छ, त्यस्तै हामी चिन्तन गर्दछौं। परिणामस्वरूप हाम्रो समक्ष त्यही उपस्थित हुन्छ। जसरी हामी स्वप्नामा आफ्नो ध्यान र संकल्पको शक्तिद्वारा अनन्त पदार्थहरूलाई साम्ने देख्दछौं, ठीक त्यसरी नै जागृतिमा पनि हामीले आफ्नो ध्यान अनि संकल्पकै शक्तिद्वारा विभिन्न विषयहरूलाई ग्रहण गर्न सक्दछौं। भिन्नता केवल यति मात्र छ कि स्वप्न क्षणिक हुन्छ, अतः क्षण मात्रमा नै सबै कुरा उपस्थित हुन्छ अनि जागृत अवस्था क्षणिक नभएर काल कृत्य साध्य हुन्छ। तसर्थ जसरी भ्रमरले कीटलाई चिन्तनद्वारा आफ्नो रूप प्रदान गरिदिन्छ भने मनुष्यले पनि ध्यान अनि सत्य धारणाको शक्तिद्वारा आफ्नो अध्यात्म स्वरूपलाई अवश्य प्राप्त गर्न सक्दछ। यसमा विलम्ब केवल निश्चयपूर्वक पथावलम्बनको हो। अनन्य प्रेम र परब्रह्म परमात्माद्वारा प्रदत्त तारतम ब्रह्मज्ञानलाई हृदयंगम गरेर मात्रै मानवजीवनको परम लक्ष्यलाई प्राप्त गर्न सकिन्छ।
– राजदिल सुन्दरसाथ, काठमाडौं

प्रतिक्रिया दिनुहोस्