अफगानी होटेलमा आक्रमणकारी विरुद्ध कमान्डो परिचालित नौजनाको ज्यान गयो



काबुल, (एजेन्सी)
अफगानिस्तानको राजधानी काबुलस्थित एउटा भव्य होटलमाथि बन्दुकधारीको नियन्त्रण समाप्त भएको सुरक्षा फौजले आइतबार बताएका छन्। शनिबार राति इन्टरकन्टिनेन्टल होटलमा अचानक कब्जामा लिने ती आक्रमणकारी र सुरक्षा फौजबीचको भिडन्तको क्रममा एकजना विदेशी महिलालगायत ६ जना सर्वसाधारण र ३ जना आक्रमणकारीको ज्यान गएको प्रहरीले जनाएको छ।

रातिदेखि सो होटेललाई बन्दुकधारीहरूबाट मुक्त गारउने प्रयासको क्रममा अफगान फौजले करिब १ सय ६० जना व्यक्तिलाई सकुशल उद्धार गर्न सफल भएको गृह मन्त्रालयले जनाएको छ। केही सूत्रले सरकारी पक्षले होटेल खतरा मुक्त भइसकेको घोषणा गरेको केही समयसम्म पनि गोली चलेको आवाज सुनिएको जनाएको छ।

अफगान समाचार निकाय टोलोले भने बाहिर आएको औपचारिक तथ्यांकभन्दा बढी मानिसको ज्यान गएको हुनसक्ने जनाएको छ। एकजना पत्रकारले होटेलभित्र आफूले दर्जनौं लाश देखेको दाबी गरेका छन्।

अफगान एयरलाइन काम एयरले स्थानीय पत्रकार बिलाल सारवारीलाई आफ्ना ४२ जना कर्मचारी त्यस होटेलमा रहेको, तीमध्ये केही विदेशी नागरिक रहेको, १८ जना अझै हराइरहेको र ५ जना मरिसकेको आशंका गरिएको बताएका छन्। सन् २०११ मा पनि यही होटेलमा आक्रमण गरिसकेको लडाकू समूह तालिवानले यस आक्रमणको जिम्मेवारी लिएको छ।

तालिवानका एकजना प्रवक्ताले यस भिडन्तको दौरान आफ्ना लडाकूले दशौंजना विदेशी आक्रमणकारी र तिनका कठपुतलीलाई मार्न सफल भएको दाबी गरेका छन्। स्थानीय समयअनुसार शनिबार बेलुकी करिब ९ बजेतिर पाहुनाहरू रात्रि भोजमा रमाइरहेको बेला ती बन्दुकधारीहरू अचानक होटेलको छैठौं तल्लामा प्रवेश गरेको बताइएको छ।
सोही होटेलमा आइतबार हुन लागेको सूचना प्रविधि सम्मेलनमा भाग लिन पुगेका अफगान तेलेकोमका क्षेत्रीय निर्देशक अजिज तायवले आफू होटलबाट बाहिरिँदै गएका आक्रमणकारीहरूलाई त्यहँँ छिरेको देखेको बताएका छन्। उनले एएफपी समाचार निकायलाई बताएका छन्,‘एकै छिनमा त्यहाँको माहोल भयावह बन्यो।

म हत्तपत एउटा खम्बाको पछाडि लुक्न भ्याएँ। मैले एक सेकेन्डअघि मात्र हाँसखेल गर्दै खाना खाइरहेकाहरू भागभाग गरेको र गोली लागेर ढल्दै गरेको देखेँ। तिनीहरूले ग्रिनेड प्रहार गर्ने रकेटदेखि थुप्रै ठूलासाना हतियार बोकेका थिए ।’ उक्त घटनामा बच्न सफल सोही सम्मेलनमा भाग लिन आएका अर्का अतिथी अब्दुल रहमानले भनेका छन्,–‘तिनीहरू कसैलाई पनि जिउँदो नछाड, सबैलाई गोली ठोक, भन्दै चिच्याउँदै थिए।’

आक्रमण चलिरहँदा तन्नाहरू प्रयोग गर्दै माथिल्लो तल्लाको बार्दलीबाट तल ओर्लिंदै गरेका अतिथिहरूका तस्वीरहरू पनि सार्वजनिक भएका छन्। आक्रमणकारीहरूलाई नियन्त्रणमा लिन विशेष अफगान कमान्डो र पश्चिमी फौजलाई हेलिकोप्टरबाट सो होटेलको कौसीमा झारिएको गृहमन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्