वैदेशिक रोजगारीमा जानेको संख्या घट्दै



नेपाल समाचारपत्र
काठमाडौं
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम देखिएको छ। गत आवको पहिलो ६ महिनामा संस्थागत तथा व्यक्तिगत दुवै माध्यमबाट श्रम स्वीकृति लिइ विदेशिनेको संख्या घटेको हो।

वैदेशिक रोजगार विभागका अनुसार चालू आवको पहिलो ६ महिनामा रोजगारीका लागि विदेशिने नेपालीको १ लाख ६८ हजार ७ सय ८१ जना रहेको छ। गतवर्षको सोही अवधिको तुलनामा यो संख्या १ लाख ७४ हजारभन्दा बढी रहेको थियो। विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा व्यक्तिगततर्फ श्रम स्वीकृति लिनेको संख्या पनि निरन्तर घटेको देखाएको छ।

चालू आवको मंसिरमा २४ हजार ४ सय ९ जनाले व्यक्तिगत श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएकोमा पुसमा त्यो घटेर २२ हजार ४ सय ४९ पुगेको हो। कात्तिक महिनामा सो संख्या ३१ हजारभन्दा बढी रहेको थियो।

वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पुसमा संस्थागत रूपमा श्रम अन्तिम स्वीकृति लिई २७ हजार ९ सय २७ जना वैदेशिक रोजगारीका क्रममा विदेशिएका छन्। अघिल्लो महिनामा यो संख्या २७ हजार ९ सय ६५ रहेको थियो। चालू आवमा रोजगारीको क्रममा विदेशिनेमध्ये १ लाख ५८ हजार ३ सय ३३ जना पुरुष रहेका छन् भने ९ हजार ८ सय ५७ जना महिला छन्। पुसमा विदेशिने महिला कामदारको संख्या १ हजार ४ सय ६४ रहेको छ, जुन मंसिरको तुलनामा ५८ जनाले कम हो।

मलेसिया अगाडि
काठमाडौं, (नेस)
पछिल्लो समय मलेसिया जाने नेपाली कामदारको संख्यामा उच्च वृद्धि हुन थालेको भने साउदी र कतार जानेको संख्यामा उल्लेख्य कमी आउन थालेको छ।

पुसमा पनि चालू आवको अघिल्ला महिनामा जस्तै सबैभन्दा बढी नेपाली कामदार मलेसिया गएका छन्। चालू आवको पहिलो ५ महिनामा मलेसियापछि धेरै नेपाली कामका लागि जाने मुलुकमा कतार दोस्रो स्थानमा रहेको छ।

यस महिनामा पनि सबैभन्दा धेरै १० हजार १ सय ४४ जना नेपाली कामदार मलेसिया गएका छन्। चालू आवको पाँचौं महिना अगाडि रहेको कतार यस महिना दोस्रो स्थानमा झरेको छ। यस महिना कतार जाने नेपाली कामदारको संख्या ८ हजार ६ सय ४० रहेको छ। यद्यपि, यो संख्या अघिल्लो महिनाको तुलनामा ४५ जनाले बढी हो। अघिल्लो महिना मलेसिया जाने कामदारको संख्या ८ हजार ३ सय ६५ रहेको थियो। तेस्रो स्थानमा रहेको साउदी अरेवियामा पुसमा ३ हजार ६ सय ३२ जना रोजगारीका लागि गएका छन्।

आर्थिक मन्दिपछि आरोलो लागेको साउदी जाने क्रममा केही सुधार आउने क्रम जारी रहँदा मंसिरमा ३ हजार ३ सय ९० जना कामदार साउदी अरब गएका थिए। साउदी अरबमा विदेशी कामदारलाई नयाँ विभिन्न कानुन बनाउन थालेपछि साउदी जाने नेपालीको संख्यामा पनि कमी आउन थालेको हो। नेपाली कामदारको चौथो रोजाइ रहेको यूएर्यमा पुसमा ३ हजार १ सय ४ जना वैदेशिक रोजगारीका लागि गएका थिए। त्यसैगरी पुसमा कुवेत जाने नेपाली कामदारको संख्या १ हजार १ सय २४ जना रहँदा बहराइन जानेको संख्या २ सय ९६ रहेको छ।

हाल नेपालले विश्वका १ सय १३ देशमा रोजगारीका लागि श्रम स्वीकृति दिने गरे पनि करिब ९५ प्रतिशत कामदार खाडी मुलुक र मलेसिया नै जाने गरेका विभागको तथ्यांकमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्