नेपाली साहित्यका अथक साधक



मोहन दुवाल
रतपुर, चितवनमा वि.सं. २०२० देखि बसोबास गर्दै आएका हरिहर खनाल चितवनकै माटोमा रमेर शिक्षणसेवा र साहित्यिक सिर्जनामा आफूसक्दो सेवा र साधना गरिसकेका त्यस क्षेत्रका शिक्षासेवी तथा साहित्यकारका रुपमा परिचित छन्। पश्चिम ३ नम्बर, कास्की फल्याङ्कोटमा वि.सं. २००३ भाद्र १२ गते पिता कृष्णप्रसाद र माता राधा खनालका छोरा भई जन्मेका खनालले आफ्नै परिवेशमा व्याप्त रहेको घटनाक्रमबाट सिकेर साहित्य लेखनमा जम्न जानेका र सफलतामा रम्न जानेका साहित्यकार हुन्।

साहित्य हृदयको आवाज सम्झेर साहित्यिक सिर्जनामा लागेका यिनी एउटा राम्रो लेखक बनेर आफूलाई चिनाउन सफल छन्। २१ वर्षको छँदा नै बिदा हुँदा कवितासङ्ग्रह प्रकाशित गराएर साहित्यिक यात्रामा आफूलाई देखाउन सफल साहित्यकार खनाल मानिसको जीवन प्रकृतिको सुन्दर उपहार भएको कारणले असल काम गरेर जीवन सार्थक तुल्याउने अभियानमा प्रतिबद्ध छन्।

जीवनका उकाली–ओरालीहरूमा धेरै खालका दुःख–कष्टसँग संघर्ष गरिसकेका यिनले २०औं वर्ष शिक्षक भई सेवा पुर्याइसकेका छन्। अङ्ग्रेजी विषयमा स्नातकोत्तर गरिसकेका यिनी अङ्ग्रेजी भाषा शिक्षणमा ख्यातिप्राप्त शिक्षकका रूपमा परिचित छन्। विद्यालयदेखि क्याम्पससम्म सुशील र सबल शिक्षकका रूपमा आफूलाई परिचित तुल्याउन सफल शिक्षासेवी हरिहर खनाल हाल साझा प्रकाशनबाट प्रकाशित गरिमा मासिकका प्रधानसम्पादकका रुपमा कार्यरत छन्।

प्राज्ञिकतामा आफ्नै खालका परिचय बनाइसकेका यिनी नेपाली कथा साहित्यमा सबल कथाकारका रूपमा आफूलाई उभ्याउन सफल छन्। हुन त यिनले साहित्यका धेरै विधामा कलम चलाए। कविता, समालोचना, निबन्धलगायत अनुवाद कलामा पनि आफ्नै पन देखाउन सफल साहित्यकार खनाल मूलतः प्रगतिशील कथाकारका रूपमा सुपरिचित छन्। यिनका कथाहरू समसामयिक, प्रगतिशील चेतले व्याप्त छन्। कथामा युग–बोध, जनताको कुण्ठा, व्यथा व्यक्त गर्न यिनी सफल छन्।

चितवन छँदा नै कलमको सशक्तताले वरिष्ठ कथाकारको एउटा नाम बनाउन सफल यिनी आफ्नो लेखनलाई उत्कृष्टताको शिखरमा पुर्याउन सफल छन्। वर्तमान सामाजिक यथार्थलाई आफ्नो तीक्ष्ण दृष्टिले हेरी सामाजिक अन्तरद्वन्द्व र अन्तरविरोधलाई आफ्ना कथाहरूमा लिपिबद्ध गर्न यिनी सफल छन्। यिनी सधैँ आफ्नो लेख–रचनामा बहुसंख्यक जनताको हक र हितप्रति सचेत हुनाका साथै देश र समाजलाई प्रगतिका बाटोमा डोर्याउन प्रतिबद्धता जाहेर गर्छन्। तर पनि यिनी आफ्नो लेखनमा कला–शील्प, सौन्दर्य, भाषा मिलाउन सचेत छन्। त्यसैले त यिनका कथाहरू प्रभावकारी देखिएका हुन्।

२०३६ सालमा नै साहित्यिक पत्रिका जाँगर चलाएर आफूलाई सम्पादकका रूपमा देखाइसकेका यिनी जनसाहित्य साहित्यिक पत्रिकाका २०४८ सम्म सम्पादकका रूपमा रहे। यिनका प्रकाशित कृतिहरूमा कवितासङ्ग्रहतर्फ बिदा हुँदा (२०२४) र आस्थाको गोरेटो (२०५१) छन् भने कथासङ्ग्रहतर्फ अजम्मरी गाउँ (२०३७), आकाश छुने डाँडोमुनि (२०३८), देश परदेश (२०४६), बमको छिर्का (२०४७), विगत–आगत (२०५५), दी भ्वाइस अफ माउन्टेन (सन् २०००), देशभित्र देश खोज्दै (२०६०), विघटन (२०६३), हरिहर खनालका छोटा कथाहरू (२०६४), अस्तित्वको खोजी (२०६५), युद्धको पीडा (२०७२) प्रकाशित भएका छन्। त्यस्तै निबन्ध, टिप्पणी, संस्मरण र भूमिकाहरूको सङ्ग्रहमा युगका पदचापहरू (२०५९), चीनको डायरी (२०६६), बेलाइती दैनिकी (२०६७), ब्राइटनमा सूर्यस्नान (२०६९), भूकम्पकालीन दैनिकी (२०७२) छन्।

यसै गरी उपन्यासमा उज्यालोको खोजीमा (२०६५) र समयको रेखाचित्र (२०६५) प्रकाशित छन्। म्याक्सिम गोर्कीको जीवनीलाई अङ्ग्रेजीबाट नेपालीमा उल्था गरेर दक्ष अनुवादकका रूपमा समेत आफूलाई प्रतिस्थापित गर्न सक्षम खनालले अल्बर्ट कामूको सुप्रसिद्ध उपन्यास दी आउटसाइडरको नेपाली अनुवाद प्रकाशित गराएका छन्। यसै गरी सुप्रसिद्ध रसियाली सौन्दर्यशास्त्री अभनर जीसका फाउन्डेसन अफ मार्कसिस्ट एस्थेलिसको नेपाली अनुवाद २०६२ मा छपाएका छन्। गण्डकी साहित्य परिषद्, पोखरा, चितवन साहित्य परिषद्, चितवन, साहित्य सन्ध्या नेपाल, काठमाडौं, यथार्थ कुरा, झापा, भरतपुर नगरपालिका, जिविस चितवन आदि संस्थाद्वारा सम्मानित भइसकेका यिनले पछिल्लोपल्ट प्रगतिशील लेखक संघ (२०६६), मैनाली कथा पुरस्कार (२०६८), गोकुल वाङ्मय पुरस्कार (२०७३) र नेपाली साहित्य विश्व संसद् सम्मान (२०७३) लगायत थुप्रै सम्मान, पुरस्कार प्राप्त गरेका छन्।

कलात्मक किसिमले साहित्य–सिर्जना गर्न सिपालु साहित्यकार हरिहर खनाल आफूलाई सिर्जना, साधना, प्राध्यापन, गोष्ठी, समाजसेवामा राखेर सधैँ व्यस्ततामा हराउने गर्छन्। मृदुभाषी, सौम्य व्यक्तित्वका धनी स्रष्टाका रूपमा परिचय गराउँदा अप्ठ्यारो नहुने यिनी विजया खनाललाई माया दिएर सुमन, सुशील, शील र सुनिललाई बाटो देखाउन र बाटोमा पुर्याउन सफल छन्। जनता, राष्ट्र र जनसाहित्यका मर्मशील लेखक हरिहर खनाल सामाजिक अन्तर्दृष्टिलाई कलात्मक भावधारामा कथामा पोख्न सिपालु भएको कारणले यिनी कथावृत्तको शिखरमा पुग्न प्रयासरत छन्। यसर्थ भन्न सकिन्छ, उनी साहित्यिक साधनाका दृष्टिले उदाहरणीय व्यक्तित्व हुन्।

साहित्य संगम चितवन, नारायण कला मन्दिरमा रहेर साहित्य, कला, संस्कृतिमा आफूलाई समाहित तुल्याएर साहित्य र शिक्षण सेवामा लागेका यिनी प्रलेसमा पनि आफूलाई समर्पित तुल्याउँदै हाल काठमाडौंमा साहित्य सेवा र सिर्जनामा सक्रिय छन्। धेरै भयो यिनले शिक्षणसेवा पुर्याएको, धेरै भयो यिनले साहित्य–साधनामा मन लगाएको, आज पनि यिनी शिक्षण सेवा पुर्याउँदै छन्। आज पनि साहित्य सिर्जनामा जुट्दै छन्।

लेखनमा आफ्नै पहिचान देखाउन सफल हरिहर खनालले आफ्नो साहित्यिक जीवन र यात्रासम्बन्धमा वि.सं. २०५२ मा साहित्यकार परिचय र अभिव्यक्तिमा यसरी लेखेका छन्– जुन दिनदेखि साहित्य सिर्जन निम्ति कलम समातें त्यै देखिनबाट मैले वैयक्तिक सुखभोगको बाटोलाई परित्याग गरेको रहेछु, यो यथार्थ अहिले आएर मुखरित भएको छ। मैले २०२० सालमा चितवन प्रवेश गरेदेखि नै आफ्नो अन्तर्मनको वेदनालाई कविताका माध्यमबाट पोख्न शुरू गरें। म आफ्नो साहित्यिक विकासलाई चितवनको साहित्यिक इतिहासको विकाससँगै गाँसेर हेर्न रुचाउँछु।

२०२४ सालमा दोभानको संयुक्त सम्पादनसँगै मेरो साहित्यिक व्यक्तित्वले सार्वजनिक फाँटमा पाइला हालेको हो। मेरा अधिकांश साथीहरू अहिले यहाँका अर्बपति बनेका छन्, मचाहिँ आमलेखकहरूसरह सिसाको गिलासजस्तो जीवन घचेट्दै छु। उपरोक्त कथनले बताउँछ– उनी लेखन क्षेत्रका कष्टसाध्य बाटो पछ्याएर यात्रामा अनवरत हिँडिरहेछन्। १५ वर्षको छँदा ‘हिमाल’का नाममा कविता लेख्न शुरू गरेका यिनको आस्था, श्रम, साधना र सीप प्राध्यापनपछिको समय साहित्य सिर्जना–कार्यमा केन्द्रित गरेर आफूलाई अथक् साहित्यकारका रुपमा चिनाउन सफल छन्।

एक निश्चित उद्देश्य प्राप्त गर्नका लागि मानिसहरूलाई मानसिक रूपले तयार गराउने एउटा माध्यमका रूपमा कला, साहित्य र संस्कृतिको प्रयोग हुनुपर्ने मान्यता आफ्नो मत÷अभिमतमा मन्तव्य राखिसकेका खनालले आफ्नो अभिमतमा लेखेका छन्– त्यस्तो माध्यम जति आकर्षक र बोधगम्य र प्रभावशाली भयो त्यति नै त्यसले आँकेको लक्ष्य प्राप्त गर्न सफल हुने हुनाले लेखकले उसको रचनालाई सकेसम्म बढी संवेदनशील बनाएर त्यहाँ व्यक्त गरिएका अवधारणाहरू पाठकको आफ्नै हृदयले अटल गहिराइबाट निस्किएको आवाज हो भन्ने प्रभाव दिन सक्नु एउटा सफल लेखकको खूबी हो। यसै सन्दर्भमा उनी अगाडि लेख्छन्– ‘के कुरा प्रस्ट छ भने पाठकमा एउटा असल वस्तुको चिरस्थायी प्रभाव दिन आकर्षक कलाले मात्र सक्दछ।

त्यो त आकर्षक कला पाठकको स्तरअनुसार सरस, सरल र बोधगम्य हुनु हो। यही कुरालाई केन्द्रविन्दु मानेर लेखकले आफ्नो रचनालाई कलात्मक सौन्दर्यका साथ प्रस्तुत गर्दछ।’ उनको विचारमा साहित्य विचारलाई कलात्मक तरिकाले उद्घाटन गर्ने माध्यम मात्र हो।

निश्चय नै हरिहर खनाल भौतिकवादी विश्व दृष्टिकोणको आधारमा आफूलाई सबल बनाउँदै साहित्य सिर्जना गरिरहेका एकजना सशक्त स्रष्टा हुन्। कथामा प्रगतिशील कथाकारका रूपमा विख्यात बनिसकेका यिनी कुशल अनुवादक, दक्ष लेखक हुनाका साथै समसामयिकतालाई कवितामा पोख्न सिपालु चर्चायोग्य कवि पनि हुन्। भाषाशैलीका दृष्टिले यिनका सबैजसो लेख–रचनाहरू सरल, सहज र सम्प्रेष्य छन्। देशको समसामयिक स्थितिबारे २०६० असार पूर्णाङ्क ९१ को जनमतमा युद्धविराम कवितामा कवि हरिहर खनालले लेखेका छन् ः
सैनिकहरू,
चाहे ती शहरतिरबाट
ओरालो झरेका होऊन्
चाहे ती जङ्गलतिरबाट
शहर पसेका होऊन्
तिनीहरू अबदेखि
एक–आपसमा पटक्कै लड्नु हुन्न।
नेपाली साहित्यका अथक् साधक हरिहर खनालले खोजेझैँ देशमा युद्धविराम भएको छ। गणतन्त्रका हिमायती साहित्यकार हरिहर खनालका साहित्यिक यात्रा र सिर्जनामा अझ ऊर्जा थपिँदै जाओस्, शुभकामना छ।

प्रतिक्रिया दिनुहोस्