ओलम्पियन निशालाई स्वर्ण



काठमाडौं, (नेस)
ओलम्पियन खेलाडी निशा रावलले राखेप च्याम्पियनसिपअन्तर्गत १४औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको महिला ७३ केजीमाथिको तौल समूहमा बिहीबार स्वर्ण जितेकी छन्। सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा भएको फाइनलमा नेपाल आर्मीकी निशाले फाइनलमा मध्यमाञ्चलकी सुष्मा गुरुङलाई पराजित गरिन्। त्यस्तै ७३ केजीमुनिमा एपीएफकी अप्सरा कार्की तथा ६७ केजीमुनिमा नेपाल प्रहरीकी सीता तामाङले पहिलो स्थान हात पारे।

पुरुष ८७ केजीमाथि प्रहरीका अनोज पुजारी पहिलो भए। फाइनलमा उनले आर्मीका मोहम्मद वेशको चुनौती समाप्त पारे। ८७ केजीमुनि मध्यमाञ्चलका भुपेन पुनले फाइनलमा प्रहरीका दुर्गा थापालाई पाखा लगाउँदै शीर्षस्थान हात पारे। ८० केजीमुनि प्रहरीका जेम्स प्रधानले स्वर्ण जिते। उनले फाइनलमा आर्मीका उज्ज्वल गुरागाईंलाई पन्छाए।

प्रतिक्रिया दिनुहोस्