सुरुङ खनेर पसल र घरमा चोरी गर्ने समुह पक्राउ



शिवहरी भट्टराई, राजविराज ।
सप्तरीमा सुरुङ्ग खनेर पसल र घरमा चोरी गर्ने समुह पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले समुहमै घर र पसलमा सुरुङ्ग खनेर चोरी गर्ने गिरोहलाई पक्राउ गरी बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पछिल्लो पटक सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित राजेश्वर साहको अंजनी सुन चाँदी पसलमा सुरुङ्ग खनेर चोरी गर्ने गिरोहका चार सदस्यलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका ४ बस्ने ३० बर्षिय मुरली कुमार साह, छिन्नमस्ता गाउँपालिका ५ बस्ने ३५ बर्षिय सन्तोष कुमार साह, ३६ बर्षिय सत्रुधन साह र ३४ बर्षिय महेश यादव छन ।

उनीहरुको साथबाट प्रहरीले उक्त ज्वेलरी पसलबाट चोरी गरिएका १२ किलो ६ सय ८०ग्राम चाँदीका गरगाहना र एक थान मोटरसाईकल समेत बरामद गरेको छ ।

उक्त पसलबाट चोरी गरिएका नगद १ लाख ८८ हजार बाट उक्त मोटरसाईकल खरिद गरेको पक्राउ परेकाहरुले स्वीकारेको पत्रकार सम्मेलनमा डिएसपी धु्रव कुमार श्रेष्ठले जानकारी दिए ।

उनीहरुले गत शनिबार अंजनी सुन चाँदी पसलमा सुरुड्ड खनेर चोरी गरेका थिए । प्रहरीले खोजी गर्ने क्रममा उनीहरु घरबाटै सामान सहित पक्राउ परेका हुन् ।

चोरीमा संलग्न चारै जनालाई चोरी मुद्दामा अदालतबाट म्याद थप गरी थप अनुसन्धान र कारवाही भई रहेको डिएपी श्रेष्ठले जानकारी दिए ।

यसैगरी गत पुस २ गते राजविराज जनकपुर उच्च अदालत परिषरमा राखिएको स ५ प ७२५७ नं. को मोटरसाईकल चोरी गर्ने सप्तरीको डाक्नेश्वरी नगरपालिका २ बस्ने १९ बर्षिय संन्तोष कुमार यादवलाई पनि पक्राउ गरी बुधबारै सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस्