दक्षिण अफ्रिकालाई भारतविरुद्ध टेस्ट सिरिज



नयाँ दिल्ली, (एजेन्सी)
लुंगी नगिडी र कागिसो रबाडाको घातक बलिङ र उत्कृष्ट फिल्डिङको सहयोगमा दक्षिण अफ्रिकाले बुधबार दोस्रो टेस्ट जित्दै फ्रिडम ट्रफीमाथि पुनः कब्जा गरेको छ।

सेन्च्युरियनमा टेस्टको अन्तिम दिन दक्षिण अफ्रिकाले भारतलाई १ सय ३५ रनले हराएको हो। भारत १ सय ५१ रनमा अलआउट भएको थियो। योसँगै ३ टेस्टको सिरिजमा २–० ले अग्रता बनाउँदै दक्षिण अफ्रिकाले फ्रिडम ट्रफी फेरि हासिल गरेको हो। यसअघि केपटाउनमा भएको पहिलो टेस्टमा दक्षिण अफ्रिका ७२ रनले जितेको थियो।

दक्षिण अफ्रिकाले २ सय ८७ रनको लक्ष्य दिएकोमा भारतले पाँचौ दिन ३ विकेटको क्षतिमा ३५ रनबाट खेल शुरू गरेको थियो। तर नगिडी र रबाडाले भारतीय ब्याटसम्यानलाई अंकुश लगाएपछि टोलीले हिजो बाँकी ७ विकेट १ सय १६ रन खर्चेर हात पार्यो। डेब्यु गरेका नगिडीले ३९ रन दिएर भारतका शीर्ष ६ ब्याटसम्यानलाई पबेलियनको बाटो देखाए। त्यस्तै रबाडाले ३ विकेट हासिल गरेका थिए।

भारतको तर्फबाट रोहित शर्माले सर्वाधिक ४७ रन बनाएका थिए। ८७ रनमा सात विकेट आउट भएपछि रोहित र मोहम्मद सामीले आठौं विकेटका लागि ५४ रनको साझेदारी गरे। तर रोहित अर्धसतकको निकट पुग्दा आठौं विकेटको रूपमा रबाडाले लिए। चौकाका लागि बल पुल गर्दा बाउन्ड्रीमा एबी डिभिलियर्सले डाइभ गरेर उत्कृष्ट क्याच लिएका थिए।
यसै टेस्टमा भारतीय क्रिकेट टोलीका पर्खाल नामले उपनाम पाएका चेतेश्वर पुजाराले दुर्लभ कीर्तिमान दर्ता गरेका छन्। उनी एकै टेस्टमा पहिलो र दोस्रो इनिङमा रनआउट हुने पहिलो भारतीय क्रिकेटर बनेका छन्। तर यसरी रनआउट हुनेमा उनी पहिलो खेलाडी भने होइनन्। यसअघि सन् २००० मा न्युजिल्यान्डका पूर्वकप्तान स्टेफेन फ्लेमिङ जिम्बावेविरुद्ध दुवै इनिङमा रनआउट भएका थिए।

प्रतिक्रिया दिनुहोस्