९ सय १० क्यारेटको विशाल हीरा फेला पर्यो



मासेरु, (एजेन्सी)
दक्षिणी अफ्रिकी पहाडी अधिराज्य लेसोथोमा इतिहासकै सबैभन्दा ठूलामध्येको हीरा फेला परेको छ। ९ सय १० क्यारेटको उक्त हीरा जेम डायमन्ड जीएमडीएमएफले फेला पारेको हो।

देशको लेट्सेंग खानीमा फेला परेको सो हीराको आकार दुई गल्फ बल बराबरको छ। यो डि रङ टाइप ११ए हीरा हो। यसको अर्थ यसमा नाइट्रोजनका परमाणु अत्यन्त कम वा नभएको अवस्था हो र यो सबैभन्दा महँगो पत्थरमध्येको एक हो। यो पत्थर अहिलेसम्म फेला परेकामध्ये पाँचौं ठूलो हो।

लेट्सेंग खानीबाट प्राप्त हीरा आकार र गुणस्तरका कारण चर्चित हुने गरेका छन् र विश्वमा यसको औसत विक्री मूल्य सबैभन्दा उच्च रहेको छ। सन् २०१५ मा जेमले ३ सय ७५ क्यारेटको एक पत्थर १ करोड ९३ लाखमा बिक्री गरेको थियो र सन् २००६ मा ६ सय ३ क्यारेटको हीरा लेसोथो प्रोमिसमा फेला पारेको थियो। जेमले उक्त हीरा कसरी बेच्ने र यसको मूल्य कति हो भन्ने कुरा खुलाएको छैन। यसको मूल्य कटान र पोलिसपछिको आकार र गुणस्तरले निक्र्योल गर्छ। गतवर्ष लुकारा डायमोन्ड कर्पोरेसनले १ हजार १ सय ९ क्यारेटको एक हीरा ५ करोड ३० लाख डलरमा बिक्री गरेको थियो। तर सन् २०१५ सँगै फेला परेको त्योभन्दा सानो ८ सय १३ क्यारेटको हीरा ६ करोड ३० लाखमा बिक्री भएर कीर्तिमान कायम गरेको थियो।

हीराको मूल्यमा धेरै कुराले प्रभाव पार्ने बताउँदै लिबरम क्यापिटल मार्केटका विश्लेषक बेन डेविसले उक्त हीराको मूल्य ४ करोडसम्ममा बिक्री हुन सक्ने अनुमान गरेका छन्।

अहिलेसम्मकै सबैभन्दा ठूलो हीरा भनेको सन् १९०५मा दक्षिण अफ्रिकाको प्रिटोरियानजिकै फेला परेको कुलिनान हीरा ३ हजार १ सय ६ क्यारेटको छ। यसलाई बेलायतको क्राउन जेवेल्सको शोभा बढाउन अफ्रिकाका लेजर स्टार र ग्रेट स्टारले काटेका थिए। १ हजार १ सय ९ क्यारेटको लेसडी ला रोना हीरा दोस्रो ठूलो हो भने ९ सय ९५ क्यारेटको एक्सेल्सिओर र ९ सय ६९ क्यारेटको स्टार अफ सियरा लियोन तेस्रो र चौथो ठूला हीरा हुन्।

प्रतिक्रिया दिनुहोस्