महोत्तरीमा कम्बल र दाउरा वितरण



लक्ष्मी कुमार साह, महोत्तरी । महोत्तरीमा विगत दुई सातादेखि चिसो तथा शितलहर बढेसंगै महोत्तरी जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाका विपन्न वस्तीहरुमा राहतस्वरुप कम्बल तथा दाउरा वितरण गरिएको छ । शितलहर र जाडोबाट जनजीवन प्रभावित भएपछि विभिन्न संघसंस्थाहरुले एकद्धार नीति अभावमा आ–आफ्नो ठाउँ तथा क्षेत्रहरुमा कम्बल वितरण गरी शितलहरबाट बचाउ अभियान गरेको छ ।

महोत्तरी जिल्लामा धुर्मुस सुन्तली फाउण्डेशन, नेपाल ग्रामिण पुनर्निमाण संस्था (आरआरएन), प्लान ईन्टरनेशनल, सामी परियोजना, नेपाल रेडक्रस सोसाईटी, सेभ द चिल्ड्रेन, आसमान नेपाल, एन्टा संस्था, रतौली युवा क्लवसहित विभिन्न स्थानीय तहका नगरपालिका र गाउँपालिकालगायतहरुले शितलहरबाट बचाउन कम्बल वितरण गरेको हो ।

धुर्मुस सुन्तली फाउण्डेशनका संयोजक कलाकार सिताराम कट्टेल धुर्मुसले मनरा सिस्वा नगरपालिकाको वडानं. ९ मुसहरवस्तीमा पुगेर ३ सय घरधुरी परिवारलाई कम्बल वितरण गरेको हो ।

आरआरएनले एकडारा गाउँपालिका ३ मा १ सय ६५ घरधुरी परिवारलाई, लोहारपट्टी ४ मा ९५ घरधुरी परिवारलाई र बलवा नगरपालिका ८ मा ७० घरधुरीपरिवारलाई दुई दुईवटाको दरले ६ सय ६० कम्बल र राडी वितरण गरेको सो संस्थाको संयोजक विशाल तिमिल्सेनाले जानकारी गराए ।

प्लान ईन्टरनेशनल र नेपाल रेडक्रसले बलवा नगरपालिका, एकडारा गाउपालिका र जलेश्वर नगरपालिकाका वडा नं. १ र २ मा १ हजार २ सय घरधुरीलाई त्रिपाल तथा कम्बल वितरण गरिएको छ । त्यस्तै सेभ द चिल्ड्रेन र रतौली युवा क्लवले ५ सय थान कम्बल वितरण गरेको छ । यस्तै आसमान नेपालले औरही नगरपालिकाका वडा नं.७, ८ र ९ मा ३ सय ५० घरपरिवारमा कम्बल र खाएटो वितरण गरेको छ । यस्तै एन्टा संस्थाले एकडारा ४ हलखोरीमा ६३ कम्बल र ज.न.पा. ५ विसनपुर चौरियामा ६७ कम्बल वितरण गरेको छ ।

यस्तै बर्दिबास नगरपालिका र गौशाला नगरपालिकाले पनि विभिन्न वस्तीहरुमा पुगेर शितलहरबाट बचाउन कम्बल वितरण गरेका छन् । त्यसैगरी नेपाल रेडक्रसको सहयोगमा मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले मटिहानीस्थित संस्कृत उमाविका छात्रहरुलाई समेत कम्बल वितरण गरेको छ । त्यस्तै सामी परियोजनाले जलेश्वर नगरपालिका वडा नं. ९ परिकौलीमा प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठबाट ४ सय परिवारलाई ४ सय २० थान कम्बल वितरण गरिएको जनाइएको छ ।

शितलहरीबाट जोगाउन स्थानीयहरुले ठाउँ ठाउँमा दाउरा वितरण समेत कार्य जारी राखेका छन् भने महोत्तरीको परिकौलीस्थित फस्ट राइफल गणले समेत न्यानो बाडौं कार्यक्रम अन्तर्गत चिया वितरण र दाउरा बाल्ने कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले शितलहरबाट बचाउन वितरण गरिने सामग्रीहरुबारे जानकारी दिन सबैलाई भनिसकेको बताउदै आपसी समन्वय र सहयोगमा शितलहरबाट बचाउ र राहतको कार्य अगाडी बढाइएको समेत जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्