बार्सिलोनाको अपराजित यात्रा कायमै



लन्डन, (एजेन्सी)
बार्सिलोनाले जारी सिजनको स्पेनिस ला लिगामा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। पहिलो हाफसम्म रियल सोसिडाडसँग २–१ ले पछि परेको स्थितिलाई उल्ट्याउँदै बार्सिलोनाले खेलको नतिजा ४–२ ले आफ्नो पक्षमा पारेको हो। योसँगै जारी सिजनको ला लिगामा १९औं चरणसम्म पनि बार्सिलोनाले हारको मुख देख्नुपरेको छैन। बार्सिलोनाले १९ खेलबाट ५१ अंकका साथ शीर्ष स्थानमा रहँदै दोस्रो स्थानको एथ्लेटिकोमाथि ९ अंकको अग्रतासमेत बनाएको छ।

सोसिडाडले घरेलु मैदानमा ११औं मिनेटमा विलियन जोसको गोलमार्फत अग्रता बनाएको थियो। यस्तै सोसिडाडका तर्फबाट ३४औं मिनेटमा जुवानमीले गोल गर्दै अग्रता दोब्बर पारेका थिए। यता दुई गोलले पछि परेको अवस्थालाई चिर्ने क्रममा खेलको ३९औं मिनेटमा पाउलिन्होले बार्सिलोनाका लागि पहिलो गोल फर्काए।

पहिलो हाफमा एक गोलले पछि परे पनि बार्सिलोनाले दोस्रो हाफमा तीन गोल फर्कायो। बार्सिलोनाको जितमा नायक बनेका लुइस सुवारेजले खेलको ५०औं मिनेटमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए। यस्तै खेलको ७१औं मिनेटमा सुवारेजले नै व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले खेलमा ३–२ को अग्रता बनायो। यसैगरी खेलको ८५औं मिनेटमा लियोनल मेसीले फ्रिकिकमार्फत गोल गरेपछि बार्सिलोनाले ४–२ को जित सुनिश्चित पार्यो।

मेसी बार्सिलोनाका तर्फबाट ला लिगामा सर्वाधिक गोलकर्ता बनेका छन्। सोसिडाडलाई हराउने क्रममा एक गोल गरेका मेसीले युरोपको उत्कृष्ट पाँच लिगमध्ये एउटै क्लबका लागि लिगमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका हुन्। उक्त खेलमा फ्रिकिकमार्फत शानदार गोल गरेका मेसीले बार्सिलोनाका लागि लिगमा आफ्नो गोलसंख्या ३ सय ६६ पुर्याएका छन्। योसँगै उनले बायर्न म्युनिखबाट खेल्दै ३ सय ६५ गोल गरेका जर्मनीका गर्ड मुलरका कीर्तिमानलाई पछि पारे। मुलरले ३९ वर्षअघि राखेको कीर्तिमानलाई मेसीले तोडेका हुन्। सबैखाले प्रतियोगिता गरी मेसीले अहिलेसम्म बार्सिलोनाका लागि ६ सय ११ खेलमा ५ सय ३० गोल गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्