ऊनीका कपडा बेचेर मनग्गे आम्दानी



राम धामी, डडेल्धुरा

चिसो बढेसँगै डडेल्धुरामा ऊनीका न्यानो कपडा बुनेर स्थानीय महिलाले मनग्गे आम्दानी गरिरहेका छन्। डडेल्धुरा जिल्लामा ऊनीका कपडा बुनेर बिक्री गर्दै आम्दानी लिने महिलाको संख्या बढदै गएको छ। युवापुस्ताले ऊनीबाट बुनेर बनाइएका न्यानो कपडामा रुची राख्न थालेपछि सदरमुकाम क्षेत्रका महिला ऊनीका कपडा बुन्न क्रियाशील हुन थालेका छन्।

जाडोयाममा हातले बुनेर बनाइएका न्यानो लुगा निकै लोकप्रिय हुन थालेपछि ऊनीका कपडा तयार गर्ने क्रेज स्थानीय महिलामा बढन थालेको हो। डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिका–५ विद्युतरोडमा बस्दै आएकी लक्ष्मी साउद ऊनीका स्वीटर, गलबन्दी, मोजा, टोपी र स्काप बुन्न थालेपछि स्वरोजगार बन्न थालेको बताउनुभयो।

विगतका वर्षदेखि स्वीटर बुन्दै आएकी साउदले स्वीटर र अन्य न्यानो कपडा बुनाईबाट मनग्गे आम्दानी हुन थालेको जानकारी दिनुभयो। शुरूमा हेर्दा बुन्ने काम गाह्रो लागे पनि हात बस्दै जाँदा सहज हुने उहाँले बताउनुभयो।

ऊनीको धागोबाट बुनेर एउटा स्वीटर तयार पार्न ६ दिन लाग्ने र महिनाभरिमा ५ स्वीटर बुन्न सकिने उहाँले जानकारी दिनुभयो। ऊनीका कपडा बुन्न थालेपछि आफ्नो पकेट खर्चसँगै घर खर्च चलाउन सहज भएको ऊनीका कपडा बुन्ने कार्यमा संलग्न स्थानीय महिला बताउँछन्।
डडेल्धुरा सदरमुकाममा बस्दै आएका महिला ऊनीका न्यानो लुगा बुन्नमा व्यस्त देखिन्छन्। उनीहरूले काटीको साहरामा धागोबाट चौबन्दी चोलो, टोपी, स्वीटर, मोजालगायतका कपडा तयार गर्ने गर्दछन्।

ऊनीबाट बुनेर तयार गरिएका कपडा जिल्लाका ग्रामीण क्षेत्रसम्म बिक्री हुने गरेको उनीहरू बताउँछन्। हातले ऊनीका कपडा बुन्दा बढी समय लाग्ने भएकाले चर्खा र आवश्यक तालिमको व्यवस्था गर्न सकिएमा ऊनीका कपडा बुन्ने व्यवसाय फस्टाउँदै जाने ऊनीका कपडा तयार गर्ने कार्यमा संलग्न स्थानीय महिलाको धारणा छ।

प्रतिक्रिया दिनुहोस्