यूएईले मलाई हिरासतमा राखेको छः शेख अब्दुल्ला



अबुधावी, (एजेन्सी)
कतारका शासक परिवारका शेख अब्दुल्ला बिन अली अल थानीलाई संयुक्त अरब इमिरेट्समा उनको इच्छा विपरीत हिरासतमा राखिएको जनाइएको छ।

गत वर्ष शेख अब्दुल्ला बिन अली अल थानीले कतार संकटको समयमा साउदी अरेबियासँगको वार्तामा प्रमुख भूमिका निभाएका थिए। आइतबार शेख अब्दुल्ला बिन अली अल थानीले युट्युबमा एक भिडियो सन्देश जारी गरेका थिए। त्यसमा उनले संयुक्त अरब इमिरेट्समा उनलाई आफ्नो इच्छा विपरीत राखिएको बताएका छन्।

उनले आफूलाई अबु धावीका युवराजले नै कैदमा राखेको दाबी गरेका छन्। यदि आफूलाई केही भएमा त्यसका लागि युवराज जिम्मेवार हुने बताएका छन्। संयुक्त अरब इमिरेट्सका एक अधिकारीले ती आरोपलाई अस्वीकार गरेका छन्। भिडियो सन्देशमा कतारमा रहेका अमिरका नातेदार शेख अब्दुल्ला एउटा कुर्सीमा बसेको क्यामरा देखिएको उनले बताए।शेख अब्दुल्लाले भिडियो सन्देशमा भने– ‘म अहिले अबुधावीमा छु।

शेख मोहम्मदले मेरो आतिथ्य गरिरहेका छन्। तर म कुनै अतिथि होइन, एउटा बन्दी हुँ। उनले मलाई कहीं आउन जान रोकेका छन्। म तपाईंहरुलाई बताउन चाहन्छु कि, यदि मलाई केही भयो भने कतार यसका जिम्मेवार हुनेछैन।

उनको आरोपको जवाफ दिँदै अबुधावीका शिक्षा विभाग तथा कट्टरपन्थी केन्द्रका प्रमुख अली रासिद अल नआइमीले शैख अब्दुल्ला जहिले जान चाहन्छन्, त्यसका लागि उनी स्वतन्त्र रहेको बताएका छन्।
शेख अब्दुलाको प्रयासपछि साउदी अरेबियाले कतारका तीर्थयात्रीलाई हज गर्न अनुमति दिएको थियो। सन् २०१७ जुनमा खाडी तथा अरब देशले कतारसँगको राजनीतिक सम्बन्ध तोडेका थिए।

कतार संकटको समयमा शेख अब्दुल्ला बिन अली अल थानी चर्चामा देखिएका थिए। अहिले परिस्थिति बदलिएको छ। शेख अब्दुल्लाले साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका शासकहरुका लागि काम गरिरहेका थिए। त्यतिबेला उनलाई नै कतारका विद्यमान अमिरको विकल्पका रूपमा हेरिएको हल्ला फैलिएको थियो।

उनका हजुरबुबा कतारमा शासन गर्ने तेस्रो अमिर शेख अब्दुल्ला बिन जासिम अल थानी थिए। उनका पिता शेख अली बिन अब्दुल्ला अल थानी चौथो अमिर बने र दाजु शेख अहमद बिन अली अल थानी कतारका पाँचौं अमिर थिए।

साउदी अरेबियाका सञ्चारमाध्यमहरुमा कतार संकट सल्टाउन शेख अब्दुल्लाले अहम् भूमिका खेलिरहेको चर्चा भएको थियो। गत सेप्टेम्बर १८ मा साउदी अखबार अल हयातमा शेख अब्दुल्लाका विषयमा लामो लेख छापिएको थियो। लेखमा उनको भनाइ र अल थानी खानदानको यस मुद्दामा वार्ताको अपिललाई विशेष जोड दिइएको थियो।

शेख अब्दुल्लाका पिता शेख अली बिन अब्दुल्ला अल थानीको शासनकालमा कतार र दुबईले साझा मुद्रा घोषणा गरेका थिए र पछि दुबई संयुक्त अरब इमिरेट्सको हिस्सा बन्यो। सोही क्रममा १९७१ मा कतारले बेलायतबाट स्वतन्त्रता हासिल गरेको थियो।

उनका दाजुको शासनकालमा कतार आर्थिक प्रगतिको साक्षी बन्यो र खाडीमा पहिलो सागर तटीय इलाकामा तेल खानी पत्ता लाग्यो। उनले हालुल द्विपमा एक तेल उत्खनन प्लान्ट बनाएका थिए र शेख खलिफाको शासनमा १९७७ मा अबु हनिनमा तेल उत्पादन शुरू गरेका थिए।

गत वर्ष सेप्टेम्बरमा शेख अब्दुल्ला विवादको समयमा चुप बस्नु आफ्नो जिम्मेवारी भएको बयान दिएर चर्चामा आएका थिए। त्यतिबेला कतार संकटमा वार्ताका लागि शेख अब्दुल्लाले अल थानी खानदानको बैठक बोलाउन भनेका थिए।

उनको उक्त अपिलको उद्देश्य अरब देशबाट बहिष्कारका कारण उत्पन्न संकटबाट कतारलाई माथि उकास्न खानदानका पुरुषहरूबीच बृहत् छलफल गराउनु थियो। उनले ट्विटमा भनेका थिए– ‘स्थिति खराब भइरहेको छ भन्ने मलाई लागेको छ। हामी त्यस्तो स्थानमा पुग्न सक्छौं, जहाँ हामी पुग्न चाहँदैनौं।’

प्रतिक्रिया दिनुहोस्