व्यस्त चोकमा दोहोरो आत्मघाती विस्फोट



बग्दाद, (एजेन्सी)
इराकको राजधानी बग्दादमा सोमबार भएको दोहोरो आत्मघाती बम विस्फोटमा कम्तीमा ३५ जनाको ज्यान गएको अस्पताल सूत्रले जनाएको छ। तीन दिनभित्र यो दोस्रो आक्रमण भएको सेनाले जनाएको छ। राजधानीको मध्यभागमा अवस्थित तायारान चोकमा भएको यस आक्रमणमा ९० भन्दा बढी व्यक्ति घाइते भएको बताइएको छ।

सन् २०१४ मा इराकको ठूलो भू–भागमा इस्लामिक स्ेटट (आईएस)ले कब्जा गरेयता बग्दादमा बारम्बार आत्मघाती बम आक्रमण हुँदै आएको छ। तर गत महिना इराकी सरकारले आईएसबाट आफूले सम्पूर्ण भू–भाग फिर्ता लिइसकेको घोषणा गरेपछि भने यस्ता आक्रमणमा केही कमी आएको थियो।

गृह मन्त्रालयले विस्फोटक पदार्थले भरिएको ज्याकेट लगाएका दुई अज्ञात पुरुषले सो विस्फोट गराएको पुष्टि गरेको छ। विस्फोट गराइएको चोकमा हरेक बिहान कामको खोजीमा ठूलो संख्यामा निर्माणसम्बन्धी मजदुरहरुको घुइँचो लाग्ने गर्दछ। यस ठाउँमा लडाकूहरुले विगतमा पनि आक्रमण गरिसकेका छन्।

सोमबार अपराह्न इराकको उत्तर–पूर्वी जिल्ला जामिलामा भएको अर्को बम विस्फोटनमा दुई जना सर्वसाधारणको ज्यान जानुका साथै अन्य ६ जना घाइते भएको पनि सुरक्षाकर्मीले जनाएको छ।

बीबीसी अरब मामिलाका सम्पादक सेवासियन उसरले तायारान चोकको आक्रमणको उद्देश्य ठूलो परिमाणमा जनधनलाई क्षति पुर्याउनुरहेको बताएका छन्। केही समयको अन्तरालमा दुईवटा विस्फोट गराइएको थियो। केही समयअघि इराकी फौज बग्दादको पश्चिम भागमा रहेका आईएसको बम बनाउने कारखानाहरु ध्वस्त पार्न सफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्