उपाधि भिडन्तमा आर्मी र एपीएफ



हेमन्त पौडेल, कैलाली

दोस्रो संस्करण अन्तर्राष्ट्रिय आमन्त्रित नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधिका लागि २ विभागीय टिम त्रिभुवन आर्मी र एपीएफ भिड्ने भएका छन्।

सोमबार दिउँसो धनगढी रंगशालामा दुवै टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका हुन्। बलियो टोली मनाङ मस्र्याङ्दीलाई ३–१ ले किनारा लगाएको आर्मीसँग अर्को विभागीय टोली एपीएफले उपाधिका लागि भिड्न लागेको हो। क्वाटरफाइनलमा आर्मीले थ्री स्टारलाई थ्री २–१ हराएको थियो।

धनगढी रंगशालामा आइतबार भएको दोस्रो सेमिफाइनलमा घरेलु टोली सुदूरपश्चिम ११ लाई स्तब्ध पार्दै एपीएफ फाइनलमा पुगेको हो। दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेपछि सुदूरपश्चिम ११ लाई २–० ले स्तब्ध पार्दै एपीएफ फाइनलमा पुगेको हो। आइतबार धनगढी रंगशालामा भएको खेलको पहिलो हाफमा घरेलु टोली सुदूरपश्चिम ११ ले विभागीय टोली एपीएफलाई निकै दबाबमा राखेको थियो। पहिलो हाफमा गोल गर्ने थुप्रै मौका पाए पनि सुदूरपश्चिमले गोल गर्ने आधा दर्जन मौका गुमाएको थियो। तर दोस्रो हाफमा २ गोल गरेपछि एपीएफ १० हजार घरेलु दर्शकहरूलाई निराश पार्दै उपाधि उन्मुख भएको हो। एपीएफका लागि पहिलो गोल अन्जन विष्टले ५७औं मिनेटमा गर्दै आफ्नो टिमलाई अग्रता दिलाए।

खेलको ५७औं मिनेटमा मैदानको दायाँतर्फ सुदूरपश्चिमका खेलाडीले बल आउट भएको मान्दै छोडेको बललाई एपीएफका युवराज खड्काले गरेको क्रसलाई सदुपयोग गरेका अन्जनले कुल फिनिस गर्दै एपीएफलाई अग्रता दिलाएपछि आक्रोशित दर्शकहरूले मैदानमा पानीको बोतल प्रहार गरेपछि खेल केहीबेर रोकिएको थियो। त्यसको १९औं मिनेटमा एपीएफकै नविन लामाले गोल गर्दै अग्रता दोब्बर बनाए। सुदूरपश्चिमका खेलाडीको थ्रोलाई खोसेर लामाले काउन्टर अट्याक गर्दै आफ्नो टीमका लागि गोल गरेका हुन्। त्यसको ९ मिनेटपछि नवीनको बक्सभित्रबाटको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो। खेलमा थपिएको इन्जुरी समयमा घरेलु टोलीले गोल गर्ने प्रयास गरे पनि सफल भएन। गोलरहित पहिलो हाफमा भने दुवै टोलीले सशक्त प्रयास गर्न सकेका थिएनन्। एपीएफका नवीन लामा खप्तड मेडिकल स्टडिज एन्ड हेल्थ साइन्स म्यान अफ द म्याच भए। उनले नगद १० हजार हात पारे।

यो सिजन भएको ५ वटा नकआउट फुटबल प्रतियोगिताको उपाधिमध्ये आर्मीले ३ वटा उपाधि रक्षा गरेको छ। सेमिफाइनलबाट घर फर्किएको मनाङले २ वटा उपाधि जित्दा विभागीय टिम एपीएफ भने उपाधिविहीन रहेको छ। आर्मी आज चौथो उपाधिका लागि मैदान उत्रिनेछ।आर्मीले गत महिना सताक्षी गोल्डकप र मेची नेत्रालय काकरभिट्टा र वीरगन्जमा विशाल स्मृति गोल्डकप जितेको थियो। तर विभागीय टीम ३ पटक फाइनल पुगेर पनि उपाधि जित्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्