पेरुमा शक्तिशाली भूकम्प



लिमा, (एजेन्सी)
पेरुको दक्षिण–पश्चिमी भागमा आइतबार आएको ७ दशमलव १ रेक्टर स्केलबराबरको शक्तिशाली भूकम्पका कारण २ जना मानिसको ज्यान जानुका साथै अन्य पैंसठ्ठीजना घाइते भएको पेरु सरकारले जनाएको छ। स्थानीय समयअनुसार बिहान ४ बजेर १८ मिनेट जाँदा सो भूकम्प आएको बताइएको छ। त्यसको केन्द्रविन्दू प्रशान्त महासागरमा भएको र केन्द्रविन्दूभन्दा ३६ किलोमिटर टाढासम्म कम्पन महशुस भएको अमेरिकी भौगर्भिक सर्भेक्षणले जनाएको छ। शुरूमा पेरुका सरकारी अधिकारीहरूले १७ जना खानी मजदुर हराइरहेको अपुष्ट समाचार सार्वजनिक गरेका थिए।

पेरुका स्वास्थ्यमन्त्री अवेल सालिनासले उद्धार टोली तत्काल क्षतिग्रस्त खानीमा पुगेको जानकारी दिएका छन्। सरकारी सूत्रले केन्द्रविन्दूदेखि करिव २६ किमि टाढाको लोमास शहरमा कम्पन महशुस गरिएको बताएको छ। आरेक्विपाका क्षेत्रीय गभर्नर यामिला ओसोरियाले ट्विट गर्दै भूकम्प आउँदा चटानले किचिएर याउका शहरमा एकजना व्यक्तिको ज्यान गएको बताएका छन्।

त्यसैगरी पेरुको जन सुरक्षा राष्ट्रिय प्रतिष्ठानका प्रमुखले अर्को १ जनाको बेल्ला युनियन शहरमा ढलेको भवनको भग्नावशेषमा पुरिएर मृत्यु भएको बताएका छन्। सोही प्रतिष्ठानले आरेक्विपा, इका र आयाकुचो क्षेत्रमा अन्य ६५ जना घाइते भएको पुष्टि गरेको छ। क्षेत्रीय प्रशासनले यस भूकम्पमा थुप्रै घरहरू भत्केको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्