आर्मी चौथो उपाधि नजिक



काठमाडौं, (नेस)
डिफेन्डिङ च्याम्पियन लक्ष्मी हुन्डाइ मनाङ–मस्र्याङ्दी क्लबलाई ३–१ गोलअन्तरले पन्छाएर त्रिभुवन आर्मी क्लब दोस्रो सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल’ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शनिबार भएको सेमिफाइनल खेलमा विभागीय टोलीको जितका लागि कप्तान भरत खवास, नवयुग श्रेष्ठ र सन्तोष तामाङले एक–एक गोलको योगदान दिएका हुन्। जब कि मनाङका लागि हेमन गुरुङले नवौं मिनेटमा गोल गरेर आर्मीमाथि १–० को अग्रता दिलाएका थिए।

भरतले २३औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएपछि आर्मी खेलमा हाबी भएको थियो। यसपछि म्यान अफ द म्याच नवयुगले ४५औं मिनेटमा र ८८औं मिनेटमा सन्तोषले गोल गरेका थिए। नवयुगले १० हजार रुपियाँ प्राप्त गरे। यससँगै आर्मीले यस वर्ष चौथो उपाधि जित्ने छनक देखाएको छ। यसअघि आर्मीले विकास रनिङ सिल्ड, सताक्षी गोल्डकप र मेची नेत्रालय काकरभिट्टा गोल्डकप जितेको थियो। आर्मीले उपाधिका लागि सोमबार आयोजक सुदूरपश्चिम र एपीएफबीचको विजेतासँग खेल्नेछ। यी २ बीचको खेल आइतबार धनगढी रंगशालामा हुनेछ।

प्रतिक्रिया दिनुहोस्