हात्तीसँग सेल्फी खिच्न खोज्दा मर्नेको संख्या बढ्यो



नयाँदिल्ली, (एजेन्सी)
भारतको पूर्वी राज्य ओडिसामा जंगली हात्तीसँग सेल्फी खिच्ने क्रममा मर्ने व्यक्तिको संख्या बढिरहेको छ। बीबीसीका हिन्दी पत्रकार सुव्रतकुमार पाटीले स्थानीय अधिकारीहरुले यस मामिलामा चिन्ता व्यक्त गरेको बताउँछन्। गत डिसेम्बरमा जयक्रुष्णा नायक नामक व्यक्तिले गाउँको आफ्नो घरतर्फ फर्किंदै गर्दा स्थानीय बजारमा एउटा हात्ती देखे।

त्यहँँ जम्मा भएको ठूलो भिडले हात्तीलाई जिस्काउँदै तस्वीर खिचिरहेको थियो। रहरैले भिडमा मिसिन पुगेका नायकले पनि हात्तीसँग सेल्फी खिँच्न खोजे। त्यसैक्रममा अचानक आक्रोशित हुन पुगेका उनलाई हात्तीले सुँडले बेरेर भुइँमा पछाडेर किचिमिची गर्दै कुल्चेपछि उनले घटनास्थलमै प्राण त्यागे।

उनका पुत्र दिपक नायकले बीबीसीलाई भनेका छन्– ‘त्यहँँ थुप्रै प्रत्याक्षदर्शी थिए। तर कसैले पनि मेरो बुबालाई बचाएनन्। सबै भाग्न सफल भए। तर मेरो पिता आक्रमणबाट उम्किन सकेनन्। सेप्टेम्बरमा पनि यस्तै दुर्घटना भएको थियो। अशोक भारती नाम एकजना सुरक्षा गार्ड यसरी नै सेल्फी खिच्ने क्रममा हात्तीबाट कुल्चिएर मरेका थिए।
भाग्दै गर्दा उनलाई हात्तीले लखेटेरै कुल्चेर घाइते बनाएको थियो। उपचारका लागि अस्पतालमा लाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो। भारती भाग्दै गरेको भिडियो अनलाइनमा भाइरल हुन पुगेको थियो। त्यसबेला सेल्फी खिचिरहेका अन्य व्यक्तिहरु भाग्ने क्रममा गम्भीर घाइते हुन पुगेका थिए।

जंगली हात्ती विशेषज्ञ विश्वजित मोहान्तीले यस्ता थुप्रै अप्रिय घटना भए पनि थोरैको मात्र प्रहरीमा उजुरी हुने गरेको बीबीसीलाई बताएका छन्। यस्ता घटानको कारण ओडिसा सरकार निकै चिन्तित भएको छ। उक्त राज्यका प्रमुख वन्यजन्तु अधिकारी सन्दीप त्रिपाठीले संवेदनशील जिल्लाहरुमा यसबारे जन चेतना फैलाउने अभियानहरु सञ्चाल गरिने जानकारी दिएका छन्। ओडिसाको सरकारी तथ्यांकमा अहिलेसम्म यस्ता घटनामा ६० जना मानिसको मृत्यु भइसकेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्