पुरुषलाई भन्दा महिलालाई हृदयाघात बढी खतरनाक



लन्डन, (एजेन्सी)
यदि पुरुषलाई दिइने नै उपचार दिएको खण्डमा हृदयाघातबाट पीडित केही महिलाको ज्यानसमेत जान सक्ने हालै गरिएको नयाँ अध्ययनले जनाएको छ। अनुसन्धानकर्ताहरुले १० वर्षको अवधिभित्र हृदयाघात भएका स्विडेनका १ लाख ८० हजार ३ सय ६८ जना बिरामीमाथि अध्ययन गरेका थिए।

महिलाहरु पुरुषको तुलनामा हृदयाघातको कारण मर्ने सम्भावना दोब्बर हुने बताइएको छ। बेलायती हृदय प्रतिष्ठानले जनाएको छ– ‘प्रायशः हृदयाघातलाई पुरुषहरुको समस्याका रूपमा लिइने गरिन्छ। तर स्तन क्यान्सरको कारणले भन्दा हृदयाघातको कारण बढी संख्यामा महिलाको मृत्यु हुने गरेको छ।’

युनिभर्सिटी अफ लिडस र स्विडेनस्थित कारोलिन्स्का इन्स्टिच्युटका अनुसन्धानकर्ताहरुले स्विडेनको अनलाइन कार्डियाक रजिष्ट्रिको तथ्यांक विश्लेषण गरेका थिए। तिनीहरुले उक्त विश्लेषणबाट हृदयाघातपछि महिलाहरुले पुरुषहरुको तुलनामा दिइएको उपचार ग्रहण गर्ने सम्भावना कमै रहेको पत्ता लगाएका छन्।

यस अध्ययनका सहलेखक युनिभर्सिटी अफ लिड्सका प्रोफेसर क्रिस गेलले भनेका छन्– ‘हृदयाघातका बिरामीहरुको सम्बन्धमा आम मानिस र स्वास्थ स्याहार व्यवसायीहरुमा अझै भ्रम रहेको छ। हृदयाघातबाट पीडित बिरामीको प्रसंग आउनासाथ हामी अधवैंसे, मोटोघाटो, धुमपान गर्ने मधुमेह लागेका व्यक्तिको कल्पना गर्दछौं।’
तर सधैं त्यस्तो मात्र घटना हुँदैन। यस्ता विशेषता नभएका महिलालगायत अन्य व्यक्तिमा पनि ठूलो परिणाममा हृदयाघात भइरहेको हुन्छ। ३४ प्रतिशत महिलालाई हृदयाघातपछि धमनीमा रक्तसञ्चार सुचारु गर्न गरिने वाइपास सर्जरी र स्टेन्ट्रसजस्ता उपचार ग्रहण गर्ने सम्भावना नरहेको पाइन्छ।

त्यस्तै २४ प्रतिशत महिलालाई दोस्रो हृदयाघात रोक्नका लागि दिइने औषधिले काम नगर्ने र १६ प्रतिशतलाई रगत जम्न नदिन दिइने एस्पिरिनले पनि काम नगर्ने पाइएको छ। बेलायतमा प्रत्येक वर्ष करिब १ लाख २४ हजार पुरुष र ७० हजार महिलालाई हृदयाघातको कारण अस्पतालमा भर्ना गरिने गरिएको छ।

प्रतिक्रिया दिनुहोस्