दिनेशले तोडे१९ वर्षको किर्तिमान



धन बस्नेत, पोखरा

नेपाली सेनाका दिनेश श्रेष्ठले राखेप च्याम्पियनसिपअन्तर्गत भारोत्तोलन प्रतियोगितामा १९ वर्षको पुरानो राष्ट्रिय कीर्तिमानलाई तोडेर नयाँ राष्ट्रिय कीर्तिमान रचेका छन्।

शुक्रबार प्रतियोगिताको अन्तिम दिन दिनेशले पुरुषको १ सय ५ केजी तौल समूहमा स्नाचतर्फ १ सय २१ केजी तौल उठाएर कीर्तिमान रचेका हुन्। यसअघि २०५५ सालमा आठौं दक्षिण एसियाली खेलकुद (साग) मा मदन शिवभक्तले स्नाचमा १ सय २० केजी भारको कीर्तिमान राखेका थिए। उनको कीर्तिमानलाई दिनेसले एक केजी बढी उठाएर भंग गरे।

सो तौल समूहको प्रतिस्पर्धामा श्रेष्ठले क्लिनमा पनि १ सय ४० केजी भार उठाएर स्वर्णमा नाम लेखाए। सन्देश गुरुङले रजत पदक जित्दा स्नाचमा १ सय र क्लिनमा १ सय ३२ केजी भार उठाए। उनले समग्रमा २ सय ३२ केजी भार बहन गरेका हुन्। महमद आसिक हुसेनले ८८ र १ सय ५ केजी उठाएर कास्य पदकमा चित्त बुझाए।

त्यसैगरी १ सय ५ केजी भन्दा माथिको तौल समूहमा सेनाकै पुकार गुरुङले आफ्नै कीर्तिमानमा सुधार गरेका छन्। उनले स्नाचमा राखेको १ सय २४ केजी को कीर्तिमानलाई १ सय २५ केजी भार उठाएर ओझेलमा पारे। उनले क्लिनमा १ सय ४० केजी भार उठाए। स्नाचमा तेस्रो स्थानमा रहेका सुभाष उपाध्यायले भने क्लिनमा १ सय २० केजी भार उठाउँदै रजत जिते। स्नाचमा ९५ केजी उठाएर रजत जितेका राजीव महर्जनले भने क्लिनमा केवल १ सय १८ केजी उठाएर कास्य पदकमा चिक्त बुझाए।

प्रतिक्रिया दिनुहोस्