किमसँगको सम्बन्ध राम्रो हुन सक्ने ट्रम्पको संकेत



वासिंगटन, (एजेन्सी)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग उनको सम्बन्ध राम्रो हुन सक्ने संकेत दिएका छन्। तर उनले उनीहरूबीच कुनै प्रकारको संवाद भएको विषयमा कुनै टिप्पणी गर्न अस्वीकार गरे। वाल स्ट्रिट जर्नललाई दिएको एक अन्तरवार्तामा ट्रम्पले भने– ‘मेरो र किम जोङ उनसँग सम्बन्ध राम्रो हुन सक्छ।’
उनले भने– ‘मेरो नागरिकहरूसँग सम्बन्ध छ। मलाई लाग्छ तपाईंहरू आश्चर्यचकित हुनुहुन्छ।’

ट्रम्पले २ देशबीच वार्ता शुरू भयो वा भएन भन्ने विषयमा कुनै जानकारी दिन चाहेनन्। उत्तर कोरियाको क्षेप्यास्त्र तथा परमाणु कार्यक्रमलाई लिएर वासिंगटन र प्योङयाङबीच गतिरोध कायम छ। उत्तर कोरियाली नेतासँग अमेरिकी राष्ट्रपतिले कुरा गरेको कसैले पुष्टी गरेको छैन। सन् १९५३ मा बिनाशान्ति सम्झौता कोरियाली युद्ध अन्त्य भएदेखि ती दुई देशबीच युद्ध र बिनाकूटनीतिक सम्बन्धको स्थिति कायम छ।

ट्रम्पले लगातार उत्तर कोरियाली नेतालाई पागल र रकेट म्यान संज्ञाबाट सम्बोधन गर्दै उनको अपमान गर्दै आइरहेका छन्। किमसँग वार्ता भएको विषयमा सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भने– ‘म यसमा कुनै टिप्पणी गर्न चाहन्न। मैले कुरा गरें वा गरिनँ भन्ने विषयमा भनेको छुइँन। यति हो कि म यसमा कुनै टिप्पणी गर्न चाहन्नँ।

उनले उपयुक्त परिस्थितिमा उत्तर कोरियासँग वार्ता गर्न अमेरिका खुला रहेको बताए। उत्तर कोरियाले उसको परमाणु हतियार तथा क्षेप्यास्त्र विकासलाई लिएर अमेरिकी नेतृत्वको अभियानमा दबाब महसुस गरिरहेको बताउँदै अन्तर कोरियाली वार्ताका लागि आफू जिम्मेवार भएको ट्रम्पले दाबी गरे। ट्रम्पले बिहीबार फ्रान्सेली राष्ट्रपति इम्यानुयल म्याक्रोसँगको टेलिफोन वार्तामा उत्तर कोरियाको विषयमा छलफल गरेका थिए। ती दुई नेताबीच म्याक्रोको पछिल्लो चीन भ्रमणका विषयमा छलफल भएको र उत्तर कोरियालाई दबाब कार्यान्वयन जारी राख्न प्रतिवद्धता व्यक्त गरेको ह्वाइट हाउसले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।

अफ्रिकी आप्रवासी विरुद्ध आपत्तिजनक टिप्पणी

राष्ट्रपति ट्रम्पले हाइटी र अफ्रिकी देशलाई अपशब्द प्रयोग गर्दै त्यहाँका आप्रवासीलाई अमेरिकाले किन स्वीकार्ने भन्ने प्रश्न उठाएका छन्। हाइटी र अफ्रिकी देशका आप्रवासीको रक्षा गर्ने केही सांसदको प्रयासलाई लिएर निरासा व्यक्त गर्दै अमेरिकाले ती कमजोर देशका नागरिकलाई स्वीकार्ने विषयमा ट्रम्पले उक्त प्रश्न अगाडि सारेका हुन्।

बिहीबार सिनेटर र कांग्रेसका सदस्यसँगको भेटघाटमा अमेरिकाको अर्थ व्यवस्थालाई मद्दत गर्ने केही एसियाली देशका आप्रवासीका पक्षमा वकालत गरेका थिए। राष्ट्रपतिले अफ्रिकी देश र हाइटीको उल्लेख गर्दै अमेरिकाले नर्वेजस्ता स्थानका प्रवासीलाई स्वागत गर्नुपर्ने सुझाव दिएको सञ्चार माध्यमहरूले जनाएका छन्। नर्वेका प्रधानमन्त्रीसँग बुधबार ट्रम्पसँग भेटवार्ता गरेका थिए।
ट्रम्पको उक्त बयानलाई लिएर डेमोक्र्याटिक सांसदहरूले उनको निन्दा गरेका छन्। ट्रम्पले एसियाली देशका आप्रवासीलाई खुला हृदयले स्वागत गर्ने बताएको ह्वाइट हाउसका एक
अधिकारीले जानकारी दिए। ट्रम्पलाई त्यस क्षेत्रका आप्रवासीले अमेरिकालाई आर्थिक रूपमा मद्दत गरिरहेका छन् भन्ने लागेको उनले बताए।

टिप्पणीको निन्दा

अफ्रिकी देशलाई लिएर ट्रम्पको पछिल्लो टिप्पणीलाई अफ्रिकी संघले निरासा व्यक्त गरेको छ। संघले आपत्तिजनक टिप्पणीको अपेक्षा नगरेको जनाएको छ। ट्रम्पको टिप्पणीबाट आश्चर्यमा परेको संघले जनाएको छ। अफ्रिकी संघका प्रवक्ता एबा कालोन्डोले विविधता र अवसरको मूल्यमा आधारित १ देश कसरी बन्छ, अमेरिका त्यसको उदाहरण भएको बताए।

यसैबीच प्रतिनिधिसभाका डेमोक्र्याटिक सांसद ह्विप स्टेनी एच होयरले ट्रम्पको बयानको निन्दा गर्दै त्यसलाई नस्लिय तथा अपमानजनक भएको बताए। डेमोक्र्याटिक पार्टीको सांसद लुइस गुटिरेज र कांग्रेसका सदस्य इलियाना रोस लेटिनेनले पनि ट्रम्पको उक्त बयानको कडा आलोचना गरे।

प्रतिक्रिया दिनुहोस्