शिखर कि गुम्बज शैली, विज्ञ समूहको निर्णय नै अन्तिम



ईश्वरराज ढकाल, काठमाडौं
रानीपोखरीको बीच भागमा निर्माणाधीन अवस्थामा रहेको बालगोपालेश्वर मन्दिरलाई कस्तो शैलीमा निर्माण गर्ने भन्ने विषयमा विज्ञ समूहले छलफल गर्ने भएको छ। प्रतिवेदन बुझाउने अन्तिम तयारीमा रहेको समूहले तीन शैलीमध्ये एउटा शैलीमा निर्माण गर्न सुझाव दिने भएको छ।

प्रताप मल्लकालीन, जंगबहादुरले पुनर्निर्माण गरेको अवस्थाको र जुद्धशमशेरले पुनर्निर्माण गरेको अवस्थामध्ये एउटा छनोट गर्न विज्ञ समितिलाई नै जिम्मा दिने भएको छ। समितिका संयोजक एवम् पुरातत्व विभागका महानिर्देशक विष्णुराज कार्कीले तीनमध्ये एउटा शैलीमा निर्माण गर्ने गरी बहुमत जुटाउने तयारी भइरहेको जानकारी दिनुभयो।

आफूले निर्णय गर्नुभन्दा १३ सदस्यीय विज्ञ समूहले निर्णय गरेको विषयलाई मान्यता दिनुपर्ने बताउँदै संयोजक कार्कीले भन्नुभयो– ‘समूहले जे निर्णय गर्छ त्यही शैलीमा पुनर्निर्माण गर्न सुझाव दिनेछांै।’
पुरातत्व विभागले टेन्डरमार्फत पुनर्निर्माण गरेको मन्दिर शिखर शैलीमा छ। तर समितिका अधिकांश सदस्यले पुनर्निर्माण भइरहेको सो मन्दिर राखेपछि त्यसलाई भत्काएर मल्लकालीन नै बनाउनुपर्ने जनाइरहेका छन्। काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको रानीपोखरी बीचको मन्दिर कामपाले मापदण्ड विपरीत निर्माण गरेको भन्दै पुरातत्व आफैले बनाउन थालेको थियो। आगामी असार महिनाभित्र सकिने गरी द्रुत गतिमा निर्माण जारी रहेको मन्दिर पुनः भत्काउनुपर्ने सुझाव आएको छ। मन्दिरको संरचना गुम्बज शैलीमा बनेको देखिएको जानकारी गराउँदै संयोजक कार्कीले अब कुन शैलीमा बनाउने हो भन्ने विषयमा बहुमत विज्ञ समूहले निर्णय गर्ने बताउनुभयो।

समितिका संयोजकसहितको टोलीले मन्दिरको अध्ययन गरिसकेको छ। उहाँले भन्नुभयो– ‘१९९० सालको महाभूकम्पपछि सो मन्दिर शिखर शैलीमा पुनर्निर्माण गरिएको हुन सक्छ, अब मल्लकालीन शैलीमा मन्दिर पुनर्निर्माण गर्ने भए सो मन्दिरलाई भत्काएर गुम्बज शैलीमै बनाउनुपर्छ।’

टोलीले मन्दिरको चारैतिरको फोटो खिचेको छ। प्रताप मल्लकालीन सो मन्दिरको ढोकामा लगाएको काठको ठेलीसमेत संकलन गरेको छ। शिखर शैलीमै निर्माण गरिएको सो मन्दिरको चारैतिरको ढुंगा काटिएको फेला परेको छ। विभागका महानिर्देशक भेषनारायण दाहालले करिब १ करोड ६० लाख रुपियाँमा ठेक्का दिएको सो मन्दिर भत्काउने वा अर्को शैलीमा निर्माण गर्ने भन्ने विषयमा पुनः छलफल गर्नुपर्ने बताउनुभयो।

समितिले दिएको निर्णयअनुसार थप कामअघि बढाउने विभागले जनाएको छ। विभागका महानिर्देशक दाहालले समितिले कस्तो सुझाव दिन्छ, सोही आधारमा विभागले छलफल गरी पुनर्निर्माण शुरु गर्ने बताउनुभयो। समितिले आगामी बुधबारसम्ममा कामपा र पुरातत्व विभागलाई प्रतिवेदन बुझाउने भएको छ। ‘पत्रकार सम्मेलन गरी प्रतिवेदन हस्तान्तरण गर्ने तयारीमा छौं’ –संयोजक कार्कीले भन्नुभयो।
२ दिनसम्म उत्खनन् गर्दा भेटिएको मल्लकालीन सामग्रीसमेत हस्तान्तरण गर्ने भएको छ। समितिले १९ फिट गहिरो रानीपोखरीलाई मल्लकालीन स्वरूपमै निर्माण गर्न सुझाव दिने भएको छ।
विभागले अहिले रानीपोखरीलाई कसरी पुनर्निर्माण गर्ने भन्ने प्रश्न उठेको बेला विज्ञ समूहले मन्दिर नै भत्काउनुपर्ने आशय व्यक्त गरेपछि रानीपोखरी पुनर्निर्माणको विषय झन् विवादको घेरामा पर्न सक्ने अवस्था देखिएको छ। सरकारले पुरातत्व विभागको ड्रइङ र डिजाइनअनुसार रानीपोखरी मन्दिर पुनर्निर्माण गर्ने निर्णय गरेको थियो।

विभागले सरकारकै निर्णयअनुसार बालगोपालेश्वर मन्दिरको ड्रइङ र डिजाइन तयार गरी पुनर्निर्माण थालेको थियो। काठमाडौं महानगरपालिकाले रानीपोखरी वरपर लगाएको सबै पर्खाल भत्काउनुपर्ने भएको छ। पर्खाल भत्काएर मल्लकालीन शैलीमै निर्माण गर्नुपर्ने भएको छ। समितिले रानीपोखरीमा इनार निर्माण गर्नुपर्ने प्रतिवेदन तयार गरिरहेको छ। इनार निर्माण गर्नुअघि पोखरीमा पानीको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा पानीविज्ञको सल्लाह लिनुपर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्