सिंगापुरको आर्थिक समृद्धिका सूत्रधार ली क्वान यु



ओमशङ्कर श्रेष्ठ
पृथ्वीको भू–मध्य रेखादेखि एक डिग्री उत्तरमा परेको उष्ण तापक्रम रहेको सिंगापुर सत्तरीको दशकदेखि आर्थिक समृद्धिको पथमा द्रुत गतिले अघि बढ्न थालेको हो। आफ्नो भौतिक पूर्वाधारका लागि चर्चित दक्षिणपूर्वी एसियाली मुलुक सिंगापुर रुफटप बार, चिली क्रायव फमुर्ला–१ रेसिङ क्यालेन्डरमा नाइट रेसका लागि पनि विश्वमाझ लोकप्र्रिय रहेको छ। ‘पूर्वको मोनाको’ उपनामसमेत पाएको यस मुलुकको आर्थिक समृद्धिका पिताका रूपमा त्यहँँका पूर्व तथा प्रथम प्रधानमन्त्री ली कुवान यू चिनिन्छन्। सन् १९५९ देखि १९९० सम्म सिंगापुरको प्रधानमन्त्रीको कुर्सीमा रहेका लीको एकल परिकल्पनामा आधुनिक सिंगापुरको निर्माण भएको हो। साथै उनी विश्वको इतिहासमै सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने व्यक्तित्वको रूपमा पनि चिनिन्छन्।

छिमेकी मुलुक मलेसियाबाट छुटिएर सिंगापुरले सन् १९६५ मा स्वाधीनता हासिल गरेको हो। करिब आधा शताब्दिसम्म सिंगापुर आफ्नै कुनै प्राकृतिक स्रोत नभएको टापुको रूपमा रहेको थियो। त्यसपछि आफूलाई नाटकीयरूपमा रूपान्तरण गरेका सिंगापुरका दुई वटा क्यासिनो रिसोर्ट र अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै उत्कृष्ट ठहरिएका छन्। साथै गगनचुम्बी भवनहरूको भीडका कारण सिंगापुरलाई मानिस प्रतिस्पर्धी छिमेकी हङकङ र अमेरिकाको न्युयोर्कको म्यानह्याटनसँग तुलना गर्दछन्। लीले सिंगापुरले हासिल गरेको आर्थिक र भौतिक उपलब्धिलाई आफ्नो स्मरण पुस्तक ‘फ्रम थर्ड वल्र्ड टु फस्र्टः दि सिंगापुर स्टोरीः १९६५–२०००’ मा राम्ररी उल्लेख गरेका छन्। लीले सिंगापुरलाई विश्वकै आकर्षित लगानीको गन्तव्यको रूपमा विकास गर्न र देशको भौतिक पूर्वाधारहरूको बेजोड र उदाहरणीय ढंगले निर्माणका लागि कुशल र सिपालु जनशक्ति उत्पादनमा विशेष जोड दिएका थिए। जसले गर्दा उनी राष्ट्रको हवाई र जलीय सम्पर्कलाई पनि उत्कृष्ट ढंगले विस्तार गर्न सफल भए। उनले देशमा न्यून र पारदर्शी करयुक्त शासन प्रणली र कडा नियम कानुन तथा तटस्थ कूटनीतिको माध्यमबाट सफा र हरियो शहर विकास गरेका थिए। सशक्त कर्मचारीतन्त्रका कारणले पनि छोटो समयभित्रै उल्लेखनीय आर्थिक समृद्धि हासिल गरेको सिंगापुरले आफूलाई संयुक्त राज्य अमेरिका र चीनको गठबन्धन समूहमा राख्न सकेको हो। परिणमस्वरूप हेर्दाहेर्दै सिंगापुर विश्वकै शक्तिशाली र धनी वित्तीय केन्द्रको रूपमा देखापर्यो। धार्मिक र जातीय विविधता भएको सिंगापुरमा समय सापेक्ष, आधुनिक, व्यवहारिक र वैज्ञानिक शिक्षाको कार्यान्वयनमा पनि लीले महत्त्वपूर्ण भूमिका निभाएका थिए।


अनिवार्य शिक्षा र हरेक तहका जनतामा शिक्षाको पहुँच पुर्याएर लीले आर्थिक समृद्धिका लागि आधारशिला तयार पारेका थिए। भ्रष्टाचारविरुद्ध न्यून सहिष्णुता नीतिका कारण पनि सिंगापुरको व्यापार व्यवसाय प्रवद्र्धनमा कुनै अवरोध आउने गरेको छैन। ली कुआनले साठ्ठीको दशकमा विश्वकै सबैभन्दा गरिब मुलुकमध्ये एकमा गनिने सिंगापुरलाई अहिलको अतिसमृद्ध राष्ट्रको दर्जामा पुर्याएका हुन्। उनले यसका लागि गतिशील आर्थिक नीतिको आवश्यक रहेको महसुस गरेका थिए। यसका साथै उनले कानुनी राज्य, सशक्त, सरकारी संरचना भ्रष्टाचारविरुद्धको निरन्तर संघर्ष र समष्टिगत स्थिरताले पनि लीलाई आफ्नो महत्त्वकांक्षा साकार पार्न सहयोग पुर्याएका थिए। ली कुआनले भावी पिँढीका लागि राष्ट्रमा बलियो आर्थिक पूर्वाधार खडा गर्ने लक्ष्य लिएका थिए। अहिले सिंगापुरमा प्रत्येक व्यक्तिको आर्थिक मूल्य अमेरिकीहरूकै जति उच्च रहेको छ। त्यति बेला करिब २० लाखमात्र जनसंख्या रहेकाले लीले आफ्नो आर्थिक समृद्धिको सपना पूरा गर्न आप्रपवासीलाई मुलुकमा भित्त्याउनुपर्ने आवश्यकतामा ध्यान दिएका थिए। त्यसमाथि पनि उनले प्रतिभावान् र सीपयुक्त मानिसलाई आप्रवासीको उच्च प्राथमिकताभित्र राखे। ली कुआनकै यस सकारात्मक परिकल्पनाका कारण ५० वर्षअघि जस्तै आज पनि सिंगापुरमा बसाइँ सर्ने आप्रवासीलाई खुला हृदयले स्वागत गरिने गरिएको छ। विदेशी र घरेलु जनशक्तिको एकताकै बलमा सिंगापुरले दशकौंसम्म आर्थिक वृद्धि गर्न सकेको हो। मलेसियाबाट छुट्टिएयता लीले सिंगापुरमा उच्च प्राविधिक सरकार विकास गरे। जसले प्रतिस्पर्धी, गुणमा आधारित र परिणाममुखी आर्थिक नीतिहरूको सफल नेतृत्व बहन गर्यो।

सिंगापुरको पुरानो पाया लेवार विमानस्थल साँघुरो महसुस गरिएपछि क्षेत्रीय पारवहन केन्द्रको रूपमा चांगी विमानस्थलको विकास गरिनु लीको महत्त्वपूर्ण निर्णयमध्ये एक हो। सिंगापुरको सुशासन प्रणाली र प्रविधिमा आधारित पारदर्शिता एवं जलीय यातायातको रातारात विकासका कारण यसलाई एसियामा बहुराष्ट्रिय व्यवसायका लागि पायक पर्ने स्थानका लागि विकास गरिएको छ। साथै केन्द्रीय सञ्चय कोषको व्यवस्था, आवास विकास बोर्डअन्तर्गतको फ्ल्याट स्वामित्व र एकीकृत शिक्षाजस्ता सकारात्मक महत्त्वपूर्ण आर्थिक नीतिका कारण पनि सिंगापुरलाई ग्रामीण परिवेशबाट आफूलाई छोटो समयमै शहरी स्थितिमा पुर्याउन सजिलो भएको थियो। तर, युरोपमा आर्थिक विचलन आइरहेको वर्तमान परिप्रेक्षमा सिंगापुरसामु दिगो विकासको चुनौतीको सामना गर्न सक्षम बनाउनुपर्ने परिस्थिति सिर्जना भएको छ। चुनौतीपूर्ण परिवर्तित आर्थिक नीतिहरूमा समयानुकूल आफूलाई ढाल्दै लैजान बढ्दो तलबलाई सन्तुलनमा राख्ने, जनताको जीवनशैलीलाई सुधार ल्याउने तथा निरन्तर आर्थिक वृद्धिदर कायम राख्दै आफूलाई उच्च र गुणस्तरीय उत्पादनशील मुलुकको दर्जामा राख्न सिंगापुर अझै प्रयत्नशील रहेको छ। आगामी दशकमा आफूलाई विश्वकै महत्त्वपूर्ण वित्तीय केन्द्रमध्ये एक बनाउनु जलीय र उड्डयन क्षेत्रमा उदाहरणीय र प्रतिस्पर्धी र विश्वव्यापी बहुराष्ट्रिय कम्पनीहरूको क्षेत्रीय मुख्यालयको रूपमा विकास गर्नुजस्ता लक्ष्य सिंगापुरको रहेको छ।

प्रतिक्रिया दिनुहोस्