आर्थिक उन्नतिका लागि ठूला खेलकुद प्रतियोगिता



फिरोज राजोपाध्याय
कुनै पनि राष्ट्रको विकास र आर्थिक उन्नति गर्नका लागि आजभोलि खेलकुद क्षेत्र महत्त्वपूर्ण र अपरिहार्य बनिसकेको छ। खेलमा सहभागिताले सामुदायिक स्वास्थ्य र उर्वरतामा समेत उन्नति गदर्छ। साथै चरित्रमा अनुशासन बन्न सहयोग गर्छ। खेल नै यस्तो विषय हो जसले विभिन्न समुदाय, जात, वर्गलाई एकै स्थानमा राखेर एकताबद्धसमेत गराउँद छ। को ठूलो को सानो, को बलवान को कमजोर, को धनी को गरिब यस्तो केही पनि हेर्दैन खेलले। यही खेल देशको आर्थिक उन्नतिका लागि एउटा खम्बा बन्न सक्छ। मुलुकलाई साँचिच्कै सम्वृद्ध बनाउने हो भने नेपालमा ठूल्ठूला प्रतियोगिता आयोजना हुनुपर्दछ।

ठूल्ठूला प्रतियोगिताको आयोजनाले त राष्ट्रका लागि कुनै योजनाको पूर्वाधारमा विकास गर्न मद्दत गरिरहेको हुन्छ। त्यसबाट थप रोजगारी दिन सकिन्छ। विदेशमा यात्रा गराएर विभिन्न देशका व्यक्तिसँग सम्पर्क बढाउँछ खेलले। साथै देश–देशबीचमा पनि यसले घनिष्ठता बढाउँछ। अहिलेको उदाहरणका लागि दक्षिण कोरिया र उत्तर कोरियाबीच भएको वार्ताले पनि खेलको महत्त्व बढाएको छ। उत्तर कोरियाले दक्षिण कोरियामा आयोजना हुने हिउँदे ओलम्पिकमा सहभागिता जनाउने बताएको छ। जब कि यी दुई कोरिया राजनीति दृष्टिले परम शत्रु मुलुक हुन्।

तर, सबैभन्दा ठूलो विषय भनेको खेलले देशलाई आर्थिकरूपमा पनि समृद्ध बनाउँछ। यानिकि देशको आर्थिक विकास गर्न खेलको भूमिका महत्त्वपूर्ण हुन्छ। तर, यसका लागि खेलसँग प्रायोजकको सम्बन्ध जोडिनुपर्छ। अनि मात्रै खेलकुदमा आर्थिक उन्नति हुन्छ र जसको प्रत्यक्ष फाइदा राष्ट्रले लिन सक्नुपर्दछ। नेपालमा खेलकुद क्षेत्र व्यावसायिक हुने क्रम अहिले ह्वात्तै बढेको छ। देशको आर्थिक उन्नति लागि सकारात्मक विषय पनि बनेको छ। हालैमात्र पनि नेपाल टेलिकमले आगामी फागुनमा हुने महिला भलिबल प्रतियोगिताका लागि ४० लाख रुपियाँको प्रायोजन गरेको छ। यो स्वागतयोग्य कुरा हो। यसरी नै प्रायोजकको ओइरो लाग्ने हो भने नेपालको खेलकुद धनी हुन धेरै समय लाग्ने छैन।

नेपाललाई खेलकुदबाट आर्थिक समृद्धि गर्ने हो भने विदेशमा कस्तो योजना बनेको छ त्यसको सिको गर्नु आवश्यक छ। हामी धेरै टाढा पनि जानु छैन। छिमेकी राष्ट्र भारतमा क्रिकेट लोकप्रिय छ। यही लोकप्रियताका कारण क्रिकेटलाई त्यहाँको राज्यस्तरबाटै सहयोग गरिरहेको छ।

उनीहरूले क्रिकेटबाट आम्दानी पनि गरिरहेको छ। खेलकुद मन्त्रालयले खेलकुदमा सुविधा बढाइरहनेमै ध्यान केन्द्रित गरेको छ। यस्तो नेपालको खेलकुद मन्त्रालयले गरेको देखिँदैन। यसैलाई हेरेर आगामी नयाँ सरकारले खेलकुदमा सुविधा दिएर आम्दानी गर्ने माध्यम बनाउनुपर्ने पहिलो प्राथमिकतामा राख्नुपर्छ।

भारतमा क्रिकेटबाहेक हकी, फुटबल, ब्याडमिन्टन, कबड्डीलाई व्यावसायिकता बनाएर प्रतियोगिता गराइरहेको छ। भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल) को सफलतापछि फुटबलमा पनि विदेशी खेलाडी भित्त्याएर इन्डियन सुपर लिग (आईएसएल) को प्रयोग गर्यो। यसले पनि सफलता हासिल गरेको छ। रंगशालामा भरिभराउ दर्शकले भारतलाई कति धनी बनाइरहेको छ भन्ने एक सानो उदाहरण हो। तर, नेपालमा यस्तो हुन सकिरहेको छैन।

फुटबलमा बर्सेनि हुने लिग त हुन सकेको छैन। अरू के कुरा गर्ने ? जिल्लामा भने प्रतियोगिता भइरहेको छ। तर, यसबाट कति नै आम्दानी हुन्छ र ? क्रिकेटमा एभरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग आयोजना भएजस्तै फुटबलमा पनि यस्तै प्रतियोगिता हुनु आवश्यक छ। राज्यले पनि आर्थिक सहयोग गर्ने व्यवस्थालाई सहज बनाउनुपर्दछ। मुलुकभर ठूला प्रतियोगिता आयोजना गरेर टिकट बिक्रीबाटै करोडौं कमाउने वातावरण बनाउन सक्नुपर्दछ। यसले देसलाई आर्थिकरूपमा सवल बनाउन ठूलो भूमिका खेल्न सक्छ। अहिलेसम्म कतैबाट पनि यस्तो योजना आइरहेको छैन।

नेपालको अर्को लोकप्रिय खेल भनेको ब्याडमिन्टन पनि हो। नेपालमा ब्याटमिन्टनको ठूला प्रतियोगिता कमैमात्र हुने गरेको। ब्याडमिन्टनमा पनि नेपालले छिमेकी मुलुक भारतकै प्रेरणा लिनुपर्ने देखिन्छ। भारतले ब्याडमिन्टनमा इन्डियन ब्याडमिन्टन लिग भनेर प्रतियोगिता गराइरहेको हुन्छ। यसका लागि भारत सरकारले समेत प्रवद्र्धन गर्न सहयोग गरेको छ। यसले भारतमा ब्याडमिन्टन फस्टाउनुका साथै बर्सेनि राम्रो आम्दानी गरिरहेको छ। खेलाडी र खेलका लागि नेपालमा पनि यस्तै योजना अघि सार्नुपर्दछ। यस्ता खेललाई काठमाडौं उपत्यकामा मात्रै सीमित नगरी जिल्ला तहसम्म पुर्याउनुपर्दछ। मुख्यतया खेल भइरहनुपर्यो अनि मात्रै राष्ट्रले यसबाट आर्थिकरूपमा पनि फाइदा लिन सक्छ।

अर्को सामाजिक सञ्जालले पनि देशको आर्थिक उन्नति गर्न ठूलो भूमिका खेल्न सक्छ। नेपालमा सामाजिक सञ्जालमा यस्तो भएको देखिँदैन। जब ठूला प्रतियोगिता हुन्छन् त्यतिबेला सामाजिक सञ्जाल नेपालमा प्रेरक बनेको देखिँदैन। जब कि यसबाट पनि धेरै फाइदा लिन सकिन्छ भन्ने कसैले पनि हेक्का गर्न सकेको छैन। देशमा ठूला प्रतियोगिता हुँदा सामाजिक सञ्जालबाट फाइदा यसरी लिन सकिन्छ।

जस्तैः मान्छेले टिकट किन्ने, खेलकुद ब्रान्डका उत्पादन किन्न, रेस्टुरेन्ट जाने, टिभी हेर्ने आदि पर्छ। ट्राभल कम्पनीहरू तथा अन्यले प्रतियोगिताको समयमा ज्यादाभन्दा ज्यादा लाभ लिन सकिन्छ। यो भनेको राष्ट्रलाई नै आर्थिक टेवा दिनु हो।

प्रतियोगिता नहुँदा कस्तो समस्या हुन्छ भन्ने समस्याबाट पनि नेपाल गुज्रिएको थियो। जस्तै माओवादीको द्वन्द्वकालमा नेपालमा कुनै पनि प्रतियोगिता सञ्चालन हुन सकेको थिएन। त्यतिबेला नेपालको खेल र खेलाडी मारमा परेका थिए। देशलाई आर्थिकरूपमा पछाडि परेको थियो। नेपालकै छिमेकी राष्ट्र पाकिस्तानमा समेत खेल हुन नसक्दा आर्थिकरूपमा पछि परेको छ। सन् २००८ मा आतंककारी आक्रमणपछि पाकिस्तानमा त्यहाँको लोकप्रिय खेल क्रिकेटका कुनै पनि ठूला प्रतियोगिता पनि भएका छैनन्।

ठूल्ठूला प्रतियोगिताले आर्थिक स्थिति कमजोर भएका राष्ट्रलाई कति फाइदा गरेको हुन्छ। यसले देशको आर्थिक वृद्धि दर ह्वात्तै बढाइदिन्छ। सन् २०१४ मा ब्राजिलमा भएको फिफा विश्वकपलाई उदाहरणका रूपमा लिन सकिन्छ। सो विश्वकपले त्यहाँको व्यावसाय आर्थिकरूपले धेरै अगाडि बढेको थियो। यहाँसम्म कि स्थानीय खेलाडीका लागि समेत आम्दानी गराएको थियो। यसैले नेपालमा ठूल्ठूला प्रतियोगिता हुन आवश्यक छ।

अर्को नेपालमा रोजगारीको समस्या छ। त्यस्तै खेल सामग्री उत्पादन गर्ने कम्पनी कम छन्। यदि राज्यस्तरले सहयोग गरेमा खेल सामग्री बनाउने कम्पनी स्थापना गर्न सकिन्छ। यस्ता कम्पनी स्थापना गराउने हो भने कयौं बेरोजगारले रोजगारी प्राप्त गर्नेछन्। बेरोजगार कम हुने भनेको पनि राज्यलाई नै आर्थिक समृद्धि बनाउने हो। यतातिर ध्यान जाने नीति अहिलेसम्म बनेको छैन। अबचाहिँ बन्नुपर्छ यसमा ढिलो गर्नुहुँदैन।

अन्तमा खेलकुद जोगाउन पनि कोस खडा गर्नैपर्छ। यो रकम खेल र खेलाडीका लागि प्रयोगमा आउनुपर्दछ। खेलाडी आर्थिकरूपमा बलियो बनाएमात्रै खेलकुद जोगिन्छ। खेलकुद जोगिने भनेको राष्ट्रलाई आर्थिक तवरले सशक्त बनाउने र राष्ट्रको सम्मान अन्तर्राष्ट्रियमा समेत पुग्ने हो। अर्को खेलकुदलाई पनि शिक्षा प्रणालीकै एक अंगको रूपमा विकास गरिनुपर्दछ। सबैभन्दा ठूलो काम भनेको नेपालका कुना काप्चामा खेलकुद प्रतियोगिता सञ्चालन गरिनुपर्दछ।

 

प्रतिक्रिया दिनुहोस्