प्राकृतिक सम्पदाको नमुना बन्दै भुटान



केशरमान श्रेष्ठ
प्रकृतिको काखमा बसेको भुटान विश्वको नमुना देशका रूपमा उदय भइरहेको छ। यसले देशको समृद्धिसँगै सुखी जीवन शैलीलाई जोड दिएको छ। विश्वका सबै देशको जोड कुल गार्हस्थ उत्पादनमा हुने गरेको छ। तर, भुटानले आफ्ना नागरिकको जीवनस्तर ग्रोस नेसनल ह्याप्पिनेस (कुल राष्ट्रिय खुसी) मा मापन गर्छ। भुटानको हावामा अक्सिजनको मात्रा धरै छ। यहाँ जसले पनि आफूलाई पूर्णरूपमा ताजा महसुस गर्न सक्छ। यहाँको शहरमा ठूल्ठूला भव्य सपिङ मल छैन, न त यहाँ ट्राफिक लाइटको आवश्यकता नै पर्छ। यो मुलुकमा सैनिकभन्दा धेरै भिक्षु छन्। भौतिकवादी जगत्बाट पर यो मुलुकले आत्मसन्तोष र भित्री खुसीलाई जोड दिँदै समृद्धि हासिल गरिरहेको छ।

भारत र चीनको बीचमा घेरिएको यो सानो मुलुकको आवादी करिब ७ लाख ५० हजारमात्र हो। जसमा धेरैजसो बौद्ध धर्म मान्ने छन्। भुटानको राजनीतिक व्यवस्था लोकतन्त्र र संवैधानिक राजतन्त्र हो।

पारो र थिम्पु भुटानका दुई प्रमुख शहर हुन् भने थिम्पु राजधानी पनि हो। तर, पारोलाई भुटानको सपनाको शहर मानिन्छ। यो शान्त र स्थिर छ, जसले सुख र आनन्दको महसुस गराउँछ। पारोमा भुटानको एकमात्र विमानस्थल रहेको छ। यहाँ पुग्ने पर्यटकले आफू एउटा कुनै प्राचीन काल्पनिक नगरमा पुगेको महसुस गर्ने गर्दछन्।


संस्कृति र पर्यावरण

भुटानीहरू आफ्नो संस्कृति एवं पर्यावरणलाई लिएर अत्यन्त संवेदनशील छन्। यो विश्वको एक्लो कार्बन नेगेटिभ देश हो। यहाँको ७० प्रतिशत जमिन वन जंगलले ढाकेको छ। यहाँको नीति र व्यवहार दुवैले पर्यावरण संरक्षणमा जोड दिएको पाइन्छ। भुटानको संविधानले ६० प्रतिशत भू–भाग जंगल र रुख विरुवाका लागि संरक्षित गर्न अनिवार्य गरेको छ। यहाँ प्राकृतिक सौन्दर्य र सम्पदाको बदलामा आर्थिक लाभलाई महत्त्व दिने गरेको छैन। सन् १९९९ बाट यहाँ प्लास्टिकका झोलामाथि प्रतिबन्ध लगाइएको छ। भुटानी पर्यावरणलाई लिएर अत्यन्तै संवेदनशील छन्। पर्यावरणसँग प्रेम गर्नुपर्ने कुरा बच्चैदेखि भुटानी शासकले सिकाएका हुन्छन्।

भुटानमा अत्यन्तै कम संख्यामा मात्र निजी वाहन रहेका छन्। धेरैले सार्वजनिक यातायातको उपयोग गर्छन्। भुटानको चारैतिर हरियाली नै हरियाली छोपेको भए पनि यहाँका नागरिक घरमा बगैंचा राख्छन् र रंगीविरंगी फूल फुलाएका हुन्छन्। उनीहरूले राजाको घरम सन्तान जन्मँदा पूरै देशभरमा २ करोड रुख रोपेका थिए।

भारत र चीनको बीचमा घेरिएको यो सानो मुलुकको आवादी करिब ७ लाख ५० हजारमात्र हो। जसमा धेरैजसो बौद्ध धर्म मान्ने छन्। भुटानको राजनीतिक व्यवस्था लोकतन्त्र र संवैधानिक राजतन्त्र हो।

स्वास्थ्य र शिक्षाको स्थिति

भुटानको ग्रामीणस्तरमा स्वास्थ्य सेवाको पहुँच व्यवस्थित छ। सरकारले शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सुविधामा विशेष ध्यान दिएको छ। अपराध र भ्रष्टाचारको दर पनि तुलनात्मकरूपमा अत्यन्तै कम छ।

प्राथमिक स्वास्थ्य उपचारलाई गाउँसम्म पुर्याउन स्वयंसेवकबाटै स्वास्थ्य उपचारकर्मी भर्ती गर्ने गरिएको छ। सरकारले नागरिकका लागि समान स्वास्थ्य उपचार प्रणालीको व्यवस्था गरेको छ। भुटानमा अस्पतालको संख्या सीमित छ। क्यान्सरजस्ता केही रोगहरू भुटानमा उपचार हँुदैन। तर, बिरामीलाई भारतमा त्यसको उपचारका लागि लाग्ने र पारवहन खर्च सरकारले व्यहोर्ने गरेको छ। सन् २०१७ को रेकर्डमा १७ जनालाई क्यान्सर रोग लागेको पहिचान गरिएको थियो।

अझै पनि गरिबी र अशिक्षा व्यापक रहे पनि भुटान एसियाको सबैभन्दा सुखी मुलुक हो र यो सूचकांकमा विश्वको आठौंमा पर्छ। भुटानमा महिला साक्षारता ४८ दशमलव ७ प्रतिशत छ भने समग्र साक्षारताको दर ५९ दसमलव ५ प्रतिशत रहेको छ। ६ वर्षभन्दा माथिका करिब साढे ७ प्रतिशतले कुनै पनि स्कुल वा शिक्षण संस्थामा छिरेका छैनन्।


ग्रोस नेसनल ह्याप्पिनेस

ग्रोस नेसलन ह्याप्पिनेस (जीएनएच) भुटानका पूर्वराजा जिग्मे सिङ्गे वाङचुकले १९७२ मा प्रतिपादन गरेको पदावली हो। जीएनएचमा दिगो तथा समान सामाजिक आर्थिक विकास, वातावरणीय संरक्षण, संस्कृतिको संरक्षण तथा प्रवद्र्धन र सुशासनको सूचकांक मापन गरिन्छ। सन् १९७२ मा जीएनएच लागू भए पनि भुटानीको औसत आयु दुई गुणा बढेको देखिन्छ। हाल भुटानमा पुरुषको ६६ र महिलाको ७० वर्ष औसत आयु रहेको छ। शिक्षा तथा स्वास्थ्यजस्ता आधारभूत सुविधाको पहुँच करिब सबै जनतासम्म पुग्यो।

भविष्यका लागि भुटानका योजना कम प्रभावशाली छैनन्। जसमा सन् २०३० सम्ममा नेट ग्रिन हाउस ग्यासलाई शून्यमा झार्ने लक्ष्य राखेको छ। यसका लागि ऊर्जामा बायो ग्यास, हावा र सोलार ऊर्जामा जोड दिइनेछ र सबै गाडीलाई इलेक्ट्रिक गाडीमा रूपान्तरण गरिनेछ।

भुटानले दिएको यो अवधारणमा सही विकास र खुसीलाई लिएर विश्वको दृष्टिकोणमा पनि परिवर्तन भइरहेको छ। अहिले विश्वले भुटानका विचारमा पनि ध्यान दिइरहेका छन्। विकासका मापन तथा वास्तविक खुसीको महत्त्वलाई बुझ्ने प्रयास भइरहेको छ। सन् २०१० मा बेलायतले पनि ‘वेल विइङ एन्ड ह्याप्पिनेस इन्डेक्स’ को शुरूआत गरेको थियो। सन् २०११ मा संयुक्त राष्ट्रसंघको महासभाले ह्याप्पिनेस इन्डेक्सको विचारलाई आफ्नो एजेन्डामा राख्ने प्रस्तावलाई पारित गर्यो। हरेक वर्ष मार्च २० मा विश्वमा ह्याप्पिनेस डे मनाउने निर्णय गर्यो। त्यसै गरी सन् २०१३ मा भेनेजुयलामा ‘मिनिस्ट्री अफ ह्याप्पिनेस’ गठन गर्यो। यूएईले पनि ह्याप्पिनेस र टलरेन्स मिनिस्ट्री बनायो।

प्रतिक्रिया दिनुहोस्