माफ गर्नुहोला, म ९ सेमी बढेको होइनः जापानी अन्तरिक्ष यात्री



टोक्यो, (एजेन्सी)
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस)मा रहेका एक जापानी अन्तरिक्ष यात्रीले आफू त्यहाँ पुगेपछि ९ सेमी अग्लो भएको कुरा गलत भएको बताउँदै त्यसका लागि माफी मागेका छन्। तीन हप्ताअगाडि मात्र आईएसएसमा पुगेका ती अन्तरिक्ष यात्रीले आफू ९ सेमी अग्लो भएको ट्विट गरेका थिए।

नाप्नमा गल्ती भएको उल्लेख गर्दै नोरिसिगे कानाइले वास्तवमा उनी २ सेमीमात्र बढेको बताए। ‘उक्त गलत समाचारका लागि म अत्यन्तै क्षमाप्रार्थी छु।’ –उनले जापानी भाषामा ट्विट गरेका छन्।

उनले शुरूमा गरेको गलत दाबीले विश्वभरि सामाजिक सञ्जालमा युजर्सबीच चर्चाको विषय बनेको थियो। अन्तरिक्ष यात्रीहरू अन्तरिक्षमा औसतमा २ देखि ५ सेमी बढ्ने गर्छन्। यो गुरुत्वाकर्षण शून्य अवस्थाले ढाडको हड्डी फैलिनुले हुने गर्छ।

कानाइले शुरूमा जापानीमा ट्विट गरेका थिए– ‘सबैलाई, गुड मर्निङ। म आज एउटा महŒवपूर्ण कुरा भन्न गइरहेको छु। हामीले अन्तरिक्षमा पुगेपछि हाम्रो शरीर नापेका थियौं र वाउ, वाउ, वाउ, म वास्तवमै ९ सेमी अग्लो भएको छु।

म तीन हप्तामै कुनै बिरुवाजस्तै हुर्केको छु। हाई स्कुलदेखि यस्तो कहिल्यै भएन। म केही चिन्तित पनि भएको छु, कतै म फर्किने बेलामा सोयुजमै नअट्ने त होइन ?’ त्यसपछि उनले ट्विट गर्दै भने– ‘आईएसएसमा आफ्ना रुसी कमान्डर एन्टोन स्काप्लेरोव शंका गरेकाले तुरुन्तै आफैले आफ्नो उचाइ नापेको र करिब १ सय ८२ सेमी निस्केको बताए। यो पृथ्वीको भन्दा २ सेमी बढी हो।

त्यसैले त्यो मापनमा गल्ती थियो। तर धेरैले यस विषयमा कुरा गरेको देखियो।‘ ‘ मेरो ढाड दुखेको छैन। वास्तवमा मेरो घाँटी र कुमको दुखाइ पनि हटेको छ। त्यसले म ९ सेमी अग्लो भएको हो भन्नेमा शंका लाग्यो। उडान कमान्डर स्काप्लेरोवले यी कुराहरू बुझ्थे, उनी साँच्चिकै भेटरान हुन्।’

अन्तरिक्ष यात्रुहरूलाई पृथ्वीबाट अन्तरिक्षमा पुर्याउने र पृथ्वीमा फर्काउने रुसी सायुज अन्तरिक्ष यानमा बस्ने सिटको सीमित उचाइ हुन्छ। यदि यात्री धेरै नै अग्लो भए भने यो समस्या हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्