श्रीलंकाली महिलाले पनि ढुक्कसँग पिउन पाउने



कोलम्बो, (एजेन्सी)
श्रीलंकाको ६० वर्ष लामो इतिहासपछि पहिलो पटक त्यहाँको सरकारले १८ वर्ष उमेर नाघेका महिलाहरूले पनि कानुनीरूपमै रक्सी खरिद गर्न पाउने प्रावधान बनाउने भएको छ। सरकारले यस विषयमा महिलाहरूलाई विभेद गरी तयार पारिएको सन् १९५५ को कानुनलाई संशोधन गर्न लागेको हो।

अघिल्लो दिन सो कानुनको संशोधन गरिने घोषणा गरिएको थियो। यसको अर्थ अबदेखि महिलाहरूले रक्सी किनबेच हुने स्थानहरूमा पनि बिना कुनै रोकटोक काम गर्न पाउने भएका छन्।

हुनत पहिलाको कानुन पनि सख्त ढंगले कार्यान्वयन भएको थिएन। तैपनि श्रीलंकाली महिलाहरूले यस परिवर्तनलाई स्वागत गरेका छन्। श्रीलंकाका वित्तीय मन्त्री मन्गाला सामाराविराले यस सुखद समाचारको घोषणा गर्नासाथ महिलाहरूले धमाधम सामाजिक सञ्जालमार्फत सरकारलाई धन्यवाद दिएका थिए।

नयाँ कानुनअनुसार अबदेखि महिलाहरूले रेस्टुरेन्टलगायत अनुमति प्राप्त स्थानमा काम गर्न र रक्सी पिउन राज्यको सरकारी अधिकारीमार्फत अनुमति लिइरहनु नपर्ने भएको छ। तर केही व्यक्तिले भने नयाँ कानुनको कारण महिलाहरू रक्सीको कुलतमा फस्न सकने खतरा औंल्याएका छन्।

श्रीलंकका अधिकांश महिलाले परम्परागत रूपमै रक्सी पिउने गर्दैनन्। महिलाले रक्सी पिउनु श्रीलंकाको संस्कृति विपरीत हो। जेहोस् राष्ट्रमा मद्यपानविरुद्ध अभियान चलाउँदै आएका राष्ट्रपति मैथ्रिपाला सिरीसेनाले सन् २०१६ मा केही वर्षयता श्रींलंकामा रक्सी पिउने महिलाको संख्यामा वृद्धि हुँदै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए। उनले त्यतिबेला लागूऔषध दुव्र्यसनी पनि राष्ट्रको विकराल समस्याका रूपमा देखापरेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्