वाम गठबन्धनकै सिको



केशव अधिकारी

विगतदेखि नै करिब एउटै सिद्धान्त बोकेका दुई राजनीतिक दल एमाले र माओवादी केन्द्रका बीच एउटै गठबन्धन बनाएर चुनावमा जाने सहमति बन्यो। दुवै दलका शीर्ष नेतृत्वले समझदारी बनाएर चुनाव लड्दा विगतमा दोस्रो ठूलो राष्ट्रिय पार्टीको मान्यता पाएको एमालेले एक खुट्किलो माथि चढेर पहिलो ठूलो वा सर्वाधिक ठूलो राजनीतिक दलको रूपमा स्थापित हुनपुग्यो। गठबन्धनको साझेदार माओवादी केन्द्रले पनि तेस्रो ठूलो राजनीतिक दलको स्थानमा आफूलाई उभ्याउन सफल भयो। नेपाली कांगे्रसले बल्लतल्ल पहिलो ठूलो राजनीतिक दलको वर्चस्व गुमाएर दोस्रो ठूलो पार्टीका रूपमा स्थापित हुन पुग्यो। सायद गठबन्धन नगरेको भए एमाले र माओवादी केन्द्रको त्यतिको स्थान बन्ने थिएन होला भनेर सहजै अनुमान गर्न सकिन्छ।

राजनीतिक आस्थाअनुसारका राजनीतिक दलहरूमा आबद्ध भएका नागरिकले त आफ्नै राजनीतिक दलले जितोस् र सर्वाधिक ठूलो दल बनोस् भन्ने इच्छा राखेकै हुन्छन्। तर, आम नागरिकको इच्छा भने कुनै पनि राजनीतिक दल फुटेर कमजोर नबनोस् बरु अझै जुटेर बलियो बन्दै देश र जनताको उन्नतिको खातिर लागिपरोस् भन्ने चाहना बोकेको हुँदोरहेछ भन्ने कुरा यस पटकको वाम गठबन्धनको सफलताले प्रस्ट पारेको छ। वाम गठबन्धनको यो सफलतालाई देखेर राष्ट्रिय प्रजातन्त्र पार्टीका आम कार्यकर्तालाई पनि निकै प्रभावित बनाएको छ। उनीहरू कमल थापा, पशुपति शमशेर आदिका राप्रपा आदिलाई मिलाएर एउटै बलियो पार्टी बनाउन नेताहरूलाई दबाब दिन थाल्दै छन्। यो दबाब भनेको आफैंमा सकारात्मक सोचको उपज हो। सायद भावुकतावश पार्टी एकीकरण पनि होला र केही महिनाका लागि एउटै बलियो पार्टी बनाउन सकियो भने डिङ्गरी पनि त पिटिएलान् तर पार्टीको सर्वोच्चदेखि लिएर अन्य तहका मार्यादाका कुरामा आएर पहिलेको भन्दा पनि अझ खतरनाकरूपमा चिरा पर्न थाल्छ। यो अवगुणले गर्दा हाम्रो देशका कुनै पनि राजनीतिक दल एकीकरण भएर बलिया भयौं, अब देश र जनताका लागि मरिमेटेर काम गर्छौं भन्ने कुरा सामान्य जनताले नपत्याउनु वा विश्वास नगर्नु नै श्रेयश्कर हुनेछ।

चुनावमा वाम गठबन्धन गरेर सर्वाधिक ठूलो राजनीतिक दलको रूपमा स्थापित भएको एमालेलाई अबका दिनमा ‘गठबन्धन नै नगरी चुनाव लडेको भए पनि हामीले जित्ने रहेछौं, अब सत्ताको मुख्य केन्द्र वा हर्ताकर्ता हामी स्वयं नै बन्नुपर्छ, जाबो तेस्रो ठूलो राजनीतिक दलको रूपमा स्थापित भएको माओवादी केन्द्रलाई कसले पुछ्ने ?’ भन्ने अहम्ताले गाँजिसकेको छ भने माओवादीलाई गठबन्धन नभएको भए एमालेले यति धेरै सिट ल्याउने थिएन भन्ने भावनाले सताउन थालेको छ। माओवादी केन्द्रका तल्ला तहका नेता तथा कार्यकर्ताले एमालेसँग एकीकरण गरेर एउटै पार्टी बनाउँदा आफ्नो भाग खोसिएला कि भन्ने डरले दुवै पार्टी एकीकरण भए भने आफूहरूले अर्को छुट्टै राजनीतिक पार्टी खोल्ने धमास नेतृत्वलाई दिइसके। माओवादी केन्द्र र एमालेले वाम गठबन्धन गरेर चुनाव लड्ने र अबका दिनमा दुवै पार्टी एकीकरण गर्ने उद्घोष निकै दिनअगाडि गरिए पनि पार्टी एकीकरणको मुद्दाले गति लेलाजस्तो देखिँदैन। यदि दुवै राजनीतिक दलका तल्ला कार्यकर्ता तहदेखि नै देश र जनताको उन्नतिका लागि हाम्रा पार्टी एकीकरण भएका हुन्, केवल सत्ताका लागि मात्र होइन भन्ने भावनाले ओतप्रोत भएर पार्टी एकीकरण गरिएको भए त्यसलाई कसैले फुटाउने प्रयास गर्दा पनि फुट्ने सम्भावना हुने थिएन। त्यसै कारण जुनसुकै राजनीतिक दलले अर्को राजनीतिक दलसँग दुवै दलको एकीकरणको प्रयास गरुन् र सफल पनि होउन् तर स्वार्थको भावनाले पे्ररित भएर, पदलोलुप भएर एकीकरण भएको रहेछ भने त्यो एकीकरण काँचो माटाको भँँडोभन्दा बलियो किमार्थ हुनै सक्दैन। दुवै पार्टीको शीर्ष नेतृत्वको निर्णय लाद्न खोज्नुको साटो आफ्ना कार्यकर्ता र साना नेतालाई पनि समग्र देशको परिस्थिति र आवश्यकताका बारेमा प्रशिक्षित गरिन सकियो भनेमात्र पार्टी एकीकरणको औचित्य रहन्छ।

अबका कुनै दिन वा सक्दो चाँडो पार्टी एकीकरण हुने भनिएको माओवादी केन्द्र र एमालेका बीच पार्टी एकीकरण भए पनि केही महिनामा नै फुटेर जाने प्रवल सम्भावनाका झिल्काहरू आम नागरिकले देख्ने गरी राम्रैसँग पत्ताइरहेका छन् तर बलिहाल्न भने नसकेका मात्रै हुन्। यसरी पार्टी जुट्ने र बलियो भई जनअपेक्षा पूरा गर्ने काममा लाग्न सक्ने भएको देख्दा आम कार्यकर्ता पनि खुसी हुन्थे भने फुटेर कमजोर भएपछि निराशाले छोप्न थाल्छ। अनि पछिका दिनमा आज विश्वास गरेर अत्यधिक बहुमतले विजयी गराइएका नेताहरू अर्को चुनावमा हारेर पुल्टुङबाजी खान थाल्छन्।

बाम गठबन्धनको चामत्कारिक जितपछि ३–४ टुक्रामा विभाजित हुन पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टीका सबै नेतालाई पार्टी एकीकरण गरेर बलियो भई अगाडि बढ्न दबाब दिनु सकारात्मक पक्ष हो। तर, अहिले टुक्रे पार्टीमा रहँदा कमल थापा, पशुपति शमशेर, डा. प्रकाशचन्द्र लोहनी आदि नेताहरू आ–आफ्नै टुक्रे पार्टीका भए पनि अध्यक्ष रहेका छन्। पार्टी एकीकरणपश्चात् सिङ्गो पार्टीको अध्यक्ष एउटै व्यक्तिमात्र हुनुपर्ने हुन्छ होला। कमल थापालाई पनि अध्यक्षको पद, पशुपतिलाई पनि अध्यक्षको पद, लोहनीलाई पनि सोही पद चाहिने सम्भावना देखा पर्यो भने कसरी भयो त पार्टी एकीकरण ? समग्र देशको उन्नतिको गहिरो इच्छाशक्ति बोकेर गरिएको पार्टी एकीकरण थियो भने पार्टीको अध्यक्ष जो बने पनि, सदस्य जो बने पनि आशातितरूपमा देशको उन्नतिको आधारमा मापन हुने थियो।

एमाले र माओवादी केन्द्रका बीच पार्टी एकीकरणको हल्ला सघनरूपमा बाक्लिँदै गए पनि कुराकानीतिर मसिना छिद्र देखा पर्न थालिसकेका छन्। तिनै मसिना छिद्रले ठूला प्वाल पारेर जति नै मै हुँ भनी ठान्ने राजनीतिक दललाई पनि प्वालमा छिराएर छाडिदिन्छ। आम जनता र कार्यकर्तालाई ठूलो आशा र भरोसा पस्केर हिस्स बूढी हरिया दाँत बनाउन हाम्रा राजनीतिक दलहरू निकै सिपालु भइसकेका छन्। यो ढाँट्ने सीपलाई परै थन्क्याएर इमान्दारिताका साथ आम नेपाली जनताले दिएको जनादेशलाई सम्मानका साथ पूरा गर्ने प्रतिबद्धताका साथै कार्यगतरूपमा खरो उत्रिन सकेनन् भने जुनसुकै राजनीतिक दल अर्को जुनसुकैसँग एकीकरण गरोस् वा फुटेर चिरा–चिरा होस् आम जनतालाई कुनै सरोकारको विषय नबन्न सक्छ। यदि साँच्चै दुवै राजनीतिक दल एमाले र माओवादी केन्दबीच सकारात्मक एकीकरण हुने र दिगोरूपमा देशको शासन चलाई उन्नतिका नयँँ शिरा, धमनी उत्पादन गर्ने हो भने आम जनताले मुक्तकण्ठले स्वागत र समर्थन गर्नेछन्।

एमाले र माओवादी केन्द्रमात्र किन, राप्रपा पनि एकीकरण भई यो देशको भाग्य र भविष्यको निर्माता बन्न सक्छ। तर, कुनै पनि राजनीतिक दलहरूको एकीकरण प्रक्रिया र एकीकरण अभियान काँचो माटोको भाँडोजस्तो अलिकति ठक्कर खाँदै टुटफुट भइहाल्ने नभई निकै बलियो र दीर्घायुको हुन जरुरी छ। जुनसुकै राजनीतिक दल किन नहोस्, टुटेर–फुटेर बलियो बन्ने होइन। जुटेरै बलियो बन्ने र जुटेरै जनादेशका कार्यक्रमलाई पूरा गर्न सक्ने हुन्छ। तर, यसका लागि साहस र हिम्मत पनि चाहिन्छ भन्ने कुरा एकीकरण हुन लागेका एमाले र माओवादी केन्द्र अनि राष्ट्रिय प्रजातन्त्र पार्टीका सबै चिराहरूले मनमा राम्ररी सोचेर मात्र एकीकरण अभियानमा जुट्नुपर्छ। राप्रपाका आम कार्यकर्ताले पनि वाम गठबन्धनकै सिको गरेर पार्टीलाई एकढिक्को बनाउन गरेको पहल निकै प्रशंसनीय छ। तर, केवल रहरले मात्रै कुनै कुरा पनि पूरा हुन्छ भन्ने सोचाइ आफैंमा गलत सावित हुनेछ।

प्रतिक्रिया दिनुहोस्