बालिका हत्याको कारण दंगा



इस्लामावाद, (एजेन्सी)
पाकिस्तानी शहर कासुरमा भएका बालबालिकाको शृंखलाबद्ध हत्यालाई लिएर भड्किएको दंगामा दुई प्रदर्शनकारीको ज्यान गएको छ। मंगलबार जाइनाव नामक ८ वर्षीया बालिकाको शव फोहोरको थुप्रोमा फेला परेको थियो।

उनी केही दिनदेखि हराइरहेकी थिइन्। उनलाई बलात्कारपछि घाँटी थिचेर मारिएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ। आक्रोशित जनसमूह सरकार यस्ता शृंखलाबद्ध अपहरण, यौन उत्पीडन र हत्याका घटना रोक्न असफल रहेको भन्दै प्रदर्शनमा उत्रेको थियो।

प्रहरीले विगत दुई वर्षभित्र मात्र कासुरमा यस्तै १२ वटा हत्या भइसकेको बताएका छन्। प्रहरीका अनुसार सम्भावित ९० जना आशंकितमाथि गरिएको डीएनए परीक्षणबाट पाँचवटा हत्याको जिम्मेवार एउटै आंकितमाथि केन्द्रित भएको र परिचय नखुलाइएका ती व्यक्तिको व्यापक खोजी भइरहेको छ।

लाहोरदेखि करिब २० किमि दक्षिणमा पर्ने कासुरको प्रहरी प्रधान कार्यालयमा जबरजस्ती प्रवेश गर्न खोज्ने भिड आक्रोशित रोक्न प्रहरीले गोली चलाउँदा दुई प्रदर्शनकारीको ज्यान गएको हो।

प्रतिक्रिया दिनुहोस्