थाइल्यान्डमा याकुजा बोस पक्राउ



बैंकक, (एजेन्सी)
पन्ध्र वर्षदेखि फरार रहँदै आएका एक जापानी याकुजा बोसलाई बिहीबार थाई प्रहरीले गिरफ्तार गरेको छ। उनको शरीरमा खोपिएको टाटुको तस्वीर फेसबुकमा भाइरल हुनपुगेपछि उनी प्रहरीको फन्दामा परेका हुन्। सिगेहारु सिराइ नामक ती बोसविरुद्ध सन् २००३ मा प्रतिद्वन्द्वी समूहको हत्या गरेको अभियोग लागेको छ।

उनको असली परिचयबाट अनविज्ञ थाइल्यान्डका एक व्यक्तिले ७४ वर्षीय उनको याकुजा टाटुको तस्वीर खिचेर फेसबुकमा पोस्ट गरिदिएका थिए। माफियाजस्तो डरालाग्दो सांगठनिक अपराधमा संलग्न याकुजा समूह शताब्दीयौंदेखि जापानीमाझ एक कलंकित अंगका रूपमा रहँदै आएको छ।

यसका सदस्य संख्या झन्डै ६० हजार रहेको अनुमान गरिएको छ। याकुजा समूह आफैमा अवैध नरहे पनि तिनीहरूको आयको प्रमुख स्रोत भने जुवा, वेश्यावृत्ति, लागूऔषध ओसार प्रसार र साइबर ह्याकिङ हुने गरेको छ। फेसबुकमा सिराइको तस्वीरहरू भाइरल भएपछि जापानी प्रहरीले उनको गिरफ्तारीका लागि थाई प्रहरीलाई अनुरोध गरेको थियो।

प्रहरीले उनलाई राजधानी बैंककदेखि उत्तरमा पर्ने लोपवुरी शहरमा भिसाको नियम उल्लंघन गरेको आरोपमा पक्राउ गरेको छ। हत्याका अभियोगहरू सामना गराउन उनलाई अब चाँडै थाई प्रहरी जापान सरकारसमक्ष सुपुर्दगी गर्ने भएको छ।

थाई प्रहरीका अनुसार उनले आफू याकुजाको सदस्य भएको स्वीकार गरे तापनि सन् २००३ को हत्याको अभियोग भने ठाडै अस्वीकार गरेका छन्। उनी सन् २००५ मा जापानबाट थाइल्यान्डमा भागेका हुन्। उनको सार्वजनिक भएको शरीरभरि टाटु भरिएको तस्वीरमा उनको कान्छी औंला पनि काटिएको स्पष्ट देखिन्छ। आफ्ना गल्ती गर्ने सदस्यहरूलाई औंला काटेर सजाय दिने याकुजाको पुरानो चलन हो।

प्रतिक्रिया दिनुहोस्