हामी आभारी छौं



प्रिय पाठकहरू, तपाईंहरूको हातमा रहेको नेपाल समाचारपत्र आज २३ वर्ष पूरा गरी २४औं वर्षमा प्रवेश गरेको कुरा सुनाउन पाउँदा हर्षित मात्र नभई हामीले गौरवान्वित महसुस गरिरहेका छौं। आजभन्दा ३४ वर्षअघि मंसिर महिनाको जाडोमा जन्मेको कामना प्रकाशनले तपाईं लाखौं पाठकहरूको न्यानो माया नपाइदिएको भए झन्डै साढे तीन दशकसम्मको अविरल यात्रा गर्न कदापि सम्भव हुने थिएन। यसका लागि हामी हाम्रा शुभचिन्तक, पाठक, विज्ञापनदाता, पत्रिका विक्रेता सबैमा आभार प्रकट गर्दै कृतज्ञता व्यक्त गर्दछौं।

शुरूदेखि नै पत्रकारिताको मूल मर्म, सिद्धान्त, धर्म र व्यवसायलाई इमानदारितापूर्वक पालना गरेर पाठकको विश्वास जित्न सकियो भने पाठकको मायाले मात्र पनि प्रकाशन संस्थाले यति लामो यात्रा गर्न सक्दो रहेछ भन्ने मुलुकमा कामना प्रकाशन एउटा ज्वलन्त उदाहरण बनेको छ। यही कुरा पाठकहरूबाट बारम्बार सुनिरहन पाउँदा हामीलाई सधैं गौरवको अनुभूति हुने गरेको छ।

लामो समयदेखिको मुलुकले भोगिरहेको राजनीतिक अस्थिरता, हरेक क्षेत्रमा देखिएको राजनीतिक हस्तक्षेप, पत्रकारिताले भोगिरहेको अस्वस्थ प्रतिस्पर्धा, सञ्चार क्षेत्रमा विकसित भएको नयाँ प्रविधि अनि निष्पक्ष, स्वाभिमान र इमानदारिताले हार्नु परिरहेको अहिलेको सामाजिक परिवेशमा आज हाम्रो स्थान कहाँ छ, समाजका लागि हामीले के दिन सक्यौं र के दिन सकेनौं भन्ने कुराको मूल्यांकन स्वयम् पाठकले गरिरहनुभएकै होला भन्ने हाम्रो बुझाइ छ। शुरूदेखि नै पत्रकारितालाई नाफामूलकभन्दा सेवामूलक व्यवसाय ठानेर देश र जनताप्रति समर्पित भई गरिएको पत्रकारिताका कारण जनताबाट सम्पत्तिका रूपमा हामीले कमाएको विश्वसनीयता नै यति लामो समयसम्म पाठकको सेवामा दत्तचित्त भएर लाग्ने आधार बनेको हामीले महसुस गरेका छौं।

मुलुक अहिले संघीयतामा गइसकेकाले पत्रकारितामा चुनौतीसँगै जिम्मेवारी झनै बढेको छ। त्यागी नेता र कुशल नेतृत्वको अभाव खट्किरहेको मुलुक संघीयतामा गइसकेकाले अबका दिनमा सावधानीपूर्वक मुलुकलाई हाँक्न सकिएन भने संघीयतापछि देश नै टुक्रिन पुगेको अफ्रिकी मुलुक सुडानको जस्तै नियति हामीले पनि भोग्नुनपर्ला भन्न सकिँदैन। त्यसैल पनि मुलुकलाई ‘वाचडग’को रूपमा हेर्नुपर्ने पत्रकारिताको जिम्मेवारी अझ बढ्ने अपेक्षा गरिएको हो।

विडम्बना नै भन्नुपर्छ, मुलुक यो अवस्थामा पुगिसक्दा पनि न यहाँका राजनीतिक पार्टी, न नेता, न त पत्रकारिताक्षेत्र नै गम्भीर देखिएको छ। कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाभित्र हुने⁄देखिने कमी–कमजोरीलाई केलाउँदै मुलुकलाई सही मार्गमा डोहोर्याउनुपर्ने नेपाली पत्रकारितासमेत हिजोका दिनमा जस्तै कमिसन कि व्यापारीकरणमै रमाइरहेको देखिन्छ।

जसरी चुनावमा सही नेता र राजनीतिक पार्टीको पहिचान गर्न नसक्दाको असर देश र जनताले भोग्नुपरिरहेको छ, ठीक त्यसैगरी राजनीति कमिसन अनि पत्रकारिताको नाममा व्यापार गरिरहने सञ्चार माध्यमलाई नै वाहवाही गरिरहँदा आज नेपाली समाजले न राजनीतिबाट लाभ लिन सके, न त पत्रकारिताबाटै ?अब हामीले यस कुरालाई मनन गर्न जति ढिलो गर्छौं, उतिनै हाम्रो मुस्किल झन्झन् बढ्दै जानेछ।

प्रतिक्रिया दिनुहोस्