खुशी होइन, खबरदारी जरुरी



सप्तरीका बाढीपीडित तथा भोजपुर र तेह्रथुमका अग्निपीडितले सहुलियतमा कर्जा पाउने भएका छन्। भोजपुर बजार र तेह्रथुमको संक्रान्तिमा भएको आगलागीबाट क्षति भएका ३४ परिवारले शहरी क्षेत्रमा अधिकतम् २५ लाख र अन्य स्थानमा अधिकतम १५ लाख रुपियाँका दरले ऋण पाउने भएका हुन्।

सप्तरीमा बाढी तथा डुवानबाट घर र व्यवसायमा क्षति पुगेकाहरूले अधिकतम १५ लाख रुपियाँ कर्जा पाउनेछन्। यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई पुनः कर्जा उपलब्ध गराउने बताएको छ। राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गर्दै यस्तो बताएको हो। सहुलियत कर्जाका लागि पीडितहरूले जिल्ला दैवीप्रकोप उद्धार समितिको सिफारिस जुटाउनुपर्नेछ।

घर पुनर्निर्माणका लागि उपलब्ध हुने यस्तो कर्जा सरकारी कारोबार गर्ने बैंकहरूले जारी गर्न पाउनेछन्। अधिकतम २ प्रतिशत व्याजसहितको कर्जा भुक्तानीको अवधि ५ देखि १० वर्ष तोकिएको छ। यस्तो खबरले पीडित परिवारलाई ढिलै भए पनि खुसीको खबर मिलेको छ। धरहरा पनि पीडित परिवारलाई बधाई तथा शुभकामना दिँदै खुसी बाढ्न चाहन्छ।
तर पीडित परिवारका लागि अघि सारिएको यस्तो योजना पहिलो र नयाँ भने होइन। पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितहरूका लागि २ प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराउन अघि सारेको योजनामा राष्ट्र बैंक सकारात्मक भए पनि बैंकहरूले ठाडो कान नलगाउँदा गर्भमै तुहिएको छ। त्यसैले योजना ल्याउँदैमा खुशी नबनौं, योजना कार्यान्वयनमा निरन्तर खबरदारी गरौं।

प्रतिक्रिया दिनुहोस्