दंगावाज कुख्यात लागूऔषध तस्कर पक्राउ



रियो दि जेनेरो, (एजेन्सी)
ब्राजिलको प्रहरीले नयाँ वर्षको दिन एउटा करागारमा डरलाग्दो किसिमले दंगा मच्चाउन आदेश दिएको अभियोगमा एक जना कुख्यात लागूऔषध तस्करलाई आइतबार गिरफ्तार गरेको छ।

केन्द्रीय राज्य गोइयासस्थित एउटा कारगारमा शुरू भएको उक्त हिंसात्मक दंगामा ९ जना कैदीको ज्यान जानुका साथै अन्य १४ जना घाइते भएका थिए। यस घटनाका लागि जिम्मेवार ठहराइएका ३४ वर्षीय स्टेफन डि सुजा भिएरालाई रियो दि जेनेरो राज्यको एउटा आलिसान फ्ल्याटबाट गिरफ्तार गरिएको थियो। गत नोभेम्बरदेखि उनी कारगारबाट फरार कैदीको सूचीमा रहेका थिए। प्रहरीका अनुसार उनी ब्राजिलभरि लागूऔषधको कारोबार गर्ने रेड कमान्ड नामक आपराधिक समूहका नाइके हुन्। अवैध लागूऔषध ओसार पसार गरेको अभियोगमा २६ वर्ष लामो सजाय भोगिरहेका भिएरा उर्फ बीएच अपारेसिडा दि गोइयानिया कारागारबाट भाग्न सफल भएका थिए।

प्रहरीका अनुसार कारगार बाहिरबाटै आफ्नो समूहका कैदीहरूलाई नियन्त्रणमा राख्ने गरेका उनले कारगारमा सशस्त्र दंगाका लागि आदेश दिने गरेका थिए। ती कैदीहरूले थुप्रै पटक कारागारमा आफ्नो विरोधी समूहका सदस्यहरूमाथि सांघातिक आक्रमण गर्दै म्याट्रेसमा आगो लगाउँदै आएका थिए।

दंगाका क्रममा कारागारबाट भागेका सयभन्दा बढी कैदीमध्ये अझै दर्जनौं फरार रहेका छन्। भिएरालाई समुद्री तटको क्याबो फ्रियो रिसोर्टको एक फ्ल्याटबाट पक्राउ गरिएको हो। उनको साथबाट थुप्रो परिमाणमा नगद, महँगो गरगहना, मोबाइल फानेहरू र लागूऔषध कारोबारसम्बन्धी विवरण उल्लिखित नोटबुकहरू पनि बरामद भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्