अदालत मानहानीको समर्थनमा बाबुराम भट्टराई, गगन थापा देखि रविन्द्र मिश्रसम्म



काठमाडौं । सम्मानीत अदालतको मानहानी गरेको अभियोगमा सोमबार पक्राउ परेका डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र रविन्द्र मिश्रले समेत साथ दिएका छन् ।

डा. केसीका समर्थकहरुले मंगलबार बिहानैदेखि केसीको रिहाइ र सर्वोच्चले गरेको फैसला खारेजीको माग गर्दै प्रदर्शन गरेका हुन् ।

माइतीघरमा भएको प्रदर्शनमा डा. भट्टराई र मिश्र लगायतले अग्रपंक्तिमा बसेर केसीको पक्षमा समर्थन जनाएका थिए । प्रदर्शनमा विभिन्न राजनीतिक दलका नेता पेसाकर्मीको सहभाता थियो । पूर्वप्रधानमन्त्री डा भट्टराई र पूर्वस्वास्थ्यमन्त्री गगन थापाले समेत प्रदर्शनकारीहरुलाई आफ्नो साथ रहेको घोषणा गरेका छन् ।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा शशि शर्मालाई पुनर्वहाली गर्न सर्वोच्चले आदेश गरेपछि डा. केसी प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै सोमबार अनसनमा बसेका थिए ।

अनसन बसेलगत्तै सर्वोच्चले उनलाई सोमबार राति पक्राउ गरेर सिंहदरबारस्थित प्रहरी कार्यालयमा राखेको र मंगलबार अदालतमा उपस्थित हुन आदेश दिएको छ । केसीलाई मंगलबार बिहान नौ बजे सर्वोच्च अदालतमा उपस्थित गराइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्