काठमाडौंबाटै संघीय सरकार चलाउने कि !



मुलुकभर चिसोको प्रकोप बढेपछि धेरै ठाउँको जनजीवन प्रत्यक्ष प्रभावित बनेको छ। कयौं ठाउँमा सर्वसाधारणले अकालमा ज्यानै गुमाएका छन्। तर प्रदेश राजधानीको माग गर्दै विभिन्न किसिमका विरोध र आन्दोलनमा उत्रिएकाहरूलाई चिसोले एक छेउ पनि छोएको छैन।

धनकुटामा प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका जिल्लाबासीले सरकारी कार्यालयमा विभिन्न मन्त्रालयको साइनबोर्ड टाँगेका छन्। प्रदर्शनमा उत्रिएका जिल्लाबासीले क्षेत्रीय तथा जिल्लास्तरीय सरकारी कार्यालयमा विभिन्न मन्त्रालयको साइनबोर्ड राख्दै सांकेतिक रूपमा राजधानी कायम गरिएको घोषणा गरेका छन्।

यस्तो लहर विस्तारै अन्यत्र सर्ने संकेत पाएपछि सरकारले केही चलाखी अपनाउँदै प्रदेशका अस्थायी राजधानी नतोक्ने भएको छ। बरु सबै प्रदेशका सांसदलाई काठमाडौंमै बोलाएर सपथ गराउने भन्ने धरहराले सुन्या छ। आज सोमबार बस्ने मन्त्रीपरिषद्को बैठकले प्रदेश प्रमुख तोक्ने तर राजधानी नतोक्ने तयारी गरेको बुझिएको छ।

सरकारको यस्तो तयारीले प्रदेशमा खटिन आनाकानी गर्दै चिसो मुख लाएर बसेका कर्मचारीलाई यो मीनपचासमा केही तातो राहत मिलेको। धरहरालाई कसैले भन्नै पर्दैन, अब कर्मचारीले भन्नेछन्– ‘प्रदेश राजधानी तोक्या भए पो काममा खटिनु, तोक्नुपर्यो नि ?’ राजनीतिक विश्लेषकहरूको पनि छुट्टै तर्क बर्सिनेवाला छ–’ सरकार नालायक बन्यो, प्रादेशिक स्वरूपको खिल्ली उडाउने काम भयो।’ यस्ता अनेका तर्क र आन्दोलन सुन्दा–सुन्दा धरहरा भने अन्योलमा पर्न थालेको छ। निकासको सुझाव के हुनसक्छ होला ? सातै प्रदशेको कार्यालय पनि काठमाडौंमै राखेर संघीय सरकार चलाउने हो कि ’ पाठकवृन्दकै जो आज्ञा।

प्रतिक्रिया दिनुहोस्