इरानी संसद्मा गोप्य बैठक



तेहरान, (एजेन्सी)
इरानको संसद्मा गत साताको आइतबार सत्तारुढ सरकारविरुद्ध भएको हिंसात्मक जनप्रदर्शनबारे गम्भीर छलफल गर्न बन्द शिविर बैठकको आयोजना भएको सरकारी सूत्रले जनाएको छ। यसैबीच हिजो इरानका विभिन्न शहरमा सरकारको समर्थनमा विशाल र्यालीको पनि आयोजना गरिएका छन्।

संसदको आईसीएएनए वबसाइटका अनुसार उक्त बैठकमा विधायकहरूले गृहमन्त्री अब्दोल्राहमानी राहमानी फाज्ली, गुप्तचर मन्त्री माहमुद अलाभी तथा सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष अली साम्खानीलाई थुप्रै प्रश्न सोधेका थिए।

सो बैठकमा केही विधायकले भने इन्टरनेटमाथि लगाइएको सरकारी अंकुसप्रति चिन्ता व्यक्त गरेका थिए। राजनीतिक अस्थिरताको समय इरानको सबैभन्दा लोकप्रिय मेसेजिङ एप टेलिग्राम प्रतिबन्धित गरिएको थियो।

थुप्रै अधिकारीले सोही कारण जनआक्रोश हिंसामा परिणत भएको आरोप पनि लगाएका छन्। गत २८ डिसेम्बरमा जनताको जीवनस्तरसँग सम्बन्धित आर्थिक विषय र सरकारीस्तरमा हुने भ्रष्टाचारविरुद्ध जनप्रदर्शन शुरू भएको थियो।

सरकारी पक्षले त्यसलाई दमन गर्ने क्रममा २१ व्यक्तिको ज्यान जानुका साथै सयौं व्यक्ति गिरफ्तार भएका थिए। इरानले उक्त प्रदर्शन संयुक्त राज्य अमेरिका, साउदी अरेबिया र इजरायलले प्रायोजन गरेको आरोप लगाएको थियो।

प्रतिक्रिया दिनुहोस्